आफ्नो आनीबानी नियालौं

नानीदेखि लागेको बानी नमरुञ्जेल रहन्छ, भनिन्छ । कोहि ब्यक्तिले निश्चित परिस्थितिमा के कसरी बुझ्छ, सोच्छ, लिन्छ, प्रतिक्रिया दिन्छ, महसुस गर्छ, त्यो लगभग निश्चित हुन्छ । हर व्यक्तिका यस्ता खास रुझान, पहुँच वा स्वभाव उसको व्यक्तित्वका अंश हुन् । तीमध्ये कतिपय जन्मजात रुपमा वंशजबाट आएका गुणहरु हुन्छन् । व्यक्तिको ऊर्जाशिलता, मिलनसारिता, सामाजिकता, मूड वा भावना र यी सबै कुराहरुको परिवर्तनशिलता वंशानुप्रदत्त हुने देखिएको छ । अरु गुण, स्वभाव भने चेतन अवचेतन रुपमा सिकेर विकास हुने गर्छन् । जन्मसिद्ध र पछि बन्ने गुण स्वभावहरुको समग्र प्रणालीले नै एक व्यक्तिको व्यक्तित्व निर्माण हुन्छ । यस्ता स्वभाव, बानी, गुण वा प्रवृत्तिले नै तनाव वा परिस्थितिसँग सामना गर्ने, जुध्ने व्यक्तिको क्षमता, ऊर्जा वा पहुँच पनि निक्र्यौल गर्दछ ।
अचेतन रुपमा पनि धेरै खालका मानसिक संयन्त्र र प्रक्रियाहरु क्रियाशिल हुन्छन् । व्यक्तिले जानीबुझी सचेत रुपमा पनि परिस्थितिको सामना गर्ने प्रयत्न गर्दछ । यी दुवै खालका संयन्त्रहरुमा व्यक्तिको स्वभाव नै निर्णायक रहने गर्दछ । यस्ता कतिपय पहुँच स्वस्थ हुन्छन् र व्यक्तिलाई सन्तुलन, परिपक्वता र स्वस्थतातिर दोहर्‍याउँछन् भने कतिपय अस्वस्थ खालका र प्रत्यूत्पादक हुने गर्दछन् । व्यक्तिको मानसिक, शारिरीक, सामाजिक र अन्य क्षमता, साधनश्रोत र वस्तुगत परिस्थिति आदिबाट प्रभावित रहेर व्यक्तिको प्रवृत्ति पाइला पाइलामा प्रकट भैरहेको हुन्छ । व्यक्तिका गुण, स्वभाव वा प्रवृत्तिका आधारमा आफू र अरुलाई हेर्ने, बुझ्ने, सोच्ने र व्यवहार गर्ने; विभिन्न परिस्थितिमा सहज वा बेचैन हुने, समायोजन हुने वा जटिलतामा फँस्ने भन्ने कुरा तय हुन्छ । व्यक्तिमा निहित व्यक्तित्वको गाढापन अनुसार निश्चित प्रवृत्ति विभिन्न समयमा फरक अंश र अनुपातमा प्रकट हुन्छ । समस्याजनक व्यक्तित्व भएमा निश्चित प्रवृत्ति जुनसुकै परिस्थितिमा पनि परिमार्जन हुन नसक्ने पाराले हाबी हुन्छ ।
व्यक्तिमा मूलरुपमा हाबी भएको प्रवृत्तिले खास मनोरोगहरुको सम्भावना पनि बढाउँछ । शंकालु, एकलकाँटे, अनौठा प्रवृत्ति हाबी हुनेहरुमा साइकोसिसका लक्षण र मनोरोगहरु बढी देखिने गर्छन् । नक्कले, गैरसामाजिक, अहम्वादी, अस्थिर व्यक्तिहरुमा उदासिनर डिप्रेसन, नशालुपदार्थ वा कुनै कुराको लत जस्ता समस्याहरु अधिक देखिन्छ । छट्पटे, चञ्चले, पर्फेक्सनिष्ट मानिसहरुमा छट्पटीर एन्जाइटी बढ्ता देखिन्छ । मानिसहरुमा उदासिन, परनिर्भर, उमंगहिन, लोभी, नाइँ भन्न नसक्ने, अस्पष्ट, रहस्यवादी, अतिवादी, अति कामकाजी, भौतिकवादी, अरुको लहलहैमा लाग्ने, मनमौजी, मनोविनोदी, अल्छी, दानी, उद्धेश्यबिहिन, मिचाहा, इष्र्यालु वा डाहादे प्रवृत्तिहरु पनि समस्याजनक हिसाबले हाबी हुनसक्छन् ।
हामी सबैमा यस्ता गुण, अवगुण केहि न केहि हुन्छन् नै । एक हिसाबले ती हरेक व्यक्तिको पहिचानको आधार पनि हुन् । हरेक परिस्थिति, समय, स्थान, व्यक्ति र प्रसंगका लागि वाञ्छित् र अवाञ्छित् वा चाहेता र नापसन्द रंग त हुन्छन् नै । हर प्रवृत्ति, स्वभाव र रंग आआफ्ना मतलब र उद्धेश्य बोक्छन् । रामको कुरामा रावण र कैकेयीको पनि प्रवृत्ति पनि जोडिन्छन् । बुद्धको प्रसंगसँगै देवदत्त वा अंगुलिमाल प्रवृत्ति पनि आउँछन् निश्चित् सन्देस र शिक्षा बोकेर । समाज, सँस्कृति, समय, आशय अनुसार आफू पनि समायोजन भएर, अरुसँग मिलेर परिस्थिति अनुकूल हुन रहन सकूञ्जेल फरक परेन । व्यक्तिमा हाबी कुनै प्रवृत्तिको कारण समस्या पैदा भएको, आफूलाई समय परिस्थिति अनुकूल ढाल्न परिमार्जन गर्न नसक्ने र आफू, अरुलाई अप्ठेरो हुने अवस्था भने व्यक्तित्वको गड्बडी भनेर बुझ्नुपर्छ ।
कतिपय मानिसहरुले प्रवृत्तिगत रुपमा विषले जस्तै अरु मानिसहरुलाई हानीनोक्सानी वा नकारात्मक ऊर्जा फैलाइरहेको हुन्छ । विषाक्त व्यक्तित्वका मान्छेहरु आफूमा अरु मानिसको ध्यान यतिसम्म खिँच्न चाहन्छन् कि अरुको जीवनमा बिघ्न सिर्जना गर्नसम्म पछि पर्दैनन्; अरुलाई जरुरी नभएपनि, अरुले नचाहे र नखोजेपनि सल्लाहसुझाव र निर्णय दिँदैहिँड्छन्; कसैले गल्ती औंल्याइदिएमा सकारात्मक रुपले ग्रहण गर्न सक्तैनन्; आफूले गरेको उत्तम, अरुले गरेको चाहिँ जेपनि खत्तम भनी सोच्छन् र अझ दुःखको कुरा, यस्ता मान्छेहरु आफ्ना दूर्गुणहरुप्रति अनभिज्ञ रहन्छन् । व्यक्तित्वका यस्ता रंगरुपहरु मानिसका हर पाइला र सासहरुमा प्रकट हुन्छन् । सुखहाल र शान्तिको बेलामा सुषुप्त रहेका कतिपय गुण अवगुणहरु पनि दुःख, पिरचिन्ता, तनावको बेलामा अझ तड्कारो रुपमा अभिव्यक्त हुने गर्दछन् । जीवन जगतमा दुःख, तनावको सिलसिला नै चलिरहन्छ । यस्तोमा हामीभित्र सुषुप्त रहेका कति प्रवृत्तिहरु शिर उठाइरहन्छन् । अक्सर तिनले दुःखमाथि दुःख थपिदिन्छन् । दुःख, तनावलाई बुझ्ने, हेर्ने र ब्यहोर्ने हाम्रो पहुँचै बसिभूत पारिदिन्छन् । कतै आफू पनि यस्ता समस्याजनक, अझ विषाक्त प्रवृत्ति वा व्यक्तित्व हुनेमा त परिएनरु होस गरौं है । तनावको यूग छ; कोभिडको महामारी छ । परिवारजनसँग क्षणक्षण साथ रहन, गुजार्न पर्ने अवस्था छ । भित्र असिम माया हुँदाहुँदै आफू, आफ्नो प्रवृत्ति र स्वभावका कारण अरुलाई विष त लागिरहेको छैन भनी आफैंलाई नियाल्न जरुरी भएको छ । तनावको यस्तो बेला कसैको विषाक्त प्रवृत्ति पनि ब्यहोर्न परेमा त झन् गाहारो स्थिति आइपर्छ । यस्तोमा कलह, बेचैनी र घरेलु हिंसा बढ्नु अस्वाभाविक छैन ।
व्यक्तित्व बदल्ने कामकुरा चानचुने चाहिँ होइन । यद्यपि व्यक्तिले चाह्यो र कोसिस गर्‍यो भने समय लाग्ला; असम्भव नै चाहिँ नहोला । आफ्नो समस्याको हेक्का नै नभएपछि निवारणको प्रक्रिया हुँदैहुँदैन । आफूलाई यत्नपूर्वक बदलेर आफ्नो परिचय नै बदलेका उदाहरणहरु पनि हामी सामु नभएका होइनन् । शिकारी बाल्मिकी, हत्यारा अंगुलिमाल भिक्षु, काथर नेपोलियन बिजेता बनेको मिथक र इतिहास हामी माझ छन् । यस्तो सकारात्मक परिवर्तन सजिलै चाहिँ सम्भव छैन । अहोरात्र सजग भएर मेहनत नगरी व्यक्तित्वको बिकृति बदलिने होइन ।
व्यक्तित्वका गड्बडी भएका धेरै मानिसहरुलाई आफ्नो स्वभाव र व्यक्तित्वबारे चेतना हुँदैन । आफू र अरु मानिसहरुलाई अप्ठेरो परेको, समस्या भएको र त्यसले बेचैन बनाएको वा काममा व्यवधान भएको भएपनि उसलाई केहि मेसो नहुनसक्छ । अक्सर अरुले औंल्याइदिएको पनि मन पर्दैन र त्यसले अरु बेचैनी वा समस्या बढ्नसक्छ । यस्तो अवस्था वास्तवमा बडो दुःखकर र गाहारो हुन्छ । यद्यपि सुधारको आशा राखेर उपायहरु खोजि राख्नुपर्दछ । हाम्रो समग्र जीवन परिस्थिति र परिचयको मेरुदण्ड जस्तै रहने आफ्नो व्यक्तित्व आफ्नो लागि हितकर होस् र अरुका लागि कम्तिमा दुःखकर नहोस् भनी बेलाबेलामा आफू, आफ्नो बोली, ब्यवहार, पहुँच आदिको ख्याल राख्नु उचित हुन्छ । आफूलाई नियाल्ने र त्यसैअनुसार आफूलाई परिमार्जन गर्ने कोसिस वास्तवमा आफैंबाट शुरु हुन्छ । सहि संगत, दर्शन र अद्यात्मले मान्छेको कायापलत पनि हुनसक्छ । मनोपरामर्श र थेरापिले पनि यसमा फाइदा पुग्नसक्छ । सुपाच्य र ग्रहण गर्ने स्वरुपमा आºना हितैषी र थेरापिष्टबाट मिलेको फिडव्याक उपयोगी हुने गर्दछ ।

– लेखक वरिष्ठ स्नायु, दुर्व्यसन तथा मनोरोग विशेषज्ञ हुनुहुन्छ ।

प्रा.डा. धनरत्न शाक्य
+ posts

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -