महासंघको २०औं अध्यक्ष चन्द्र ढकाल निश्चित

काठमाण्डौं । निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघको २०औं अध्यक्ष चन्द्र ढकाल बन्ने निश्चित भएको छ । हिजो शनिबार भएको महासंघको चुनावमा वरिष्ठ उपाध्यक्षमा ढकाल विजयी भएपछि उनी स्वतः अध्यक्षका दावेदार भएका हुन् । आफ्ना निकटतम प्रतिद्वन्द्वी किशोर प्रधानलाई ठूलो मतान्तरले पराजित गर्दै ढकाल महासंघको वरिष्ठ उपाध्यक्ष भइसकेका छन् ।

नवनिर्वाचित ढकालले शेखर गोल्छाको कार्यकालपछि महासंघको नेतृत्व सम्हाल्ने छन् । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष हुने भएकाले अहिलेको कार्यकालमा गोल्छा र त्यसपछि ढकाल अध्यक्ष बन्ने छन् । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था रहेकाले उपाध्यक्ष र सोभन्दा मुनिका विभिन्न पदमा शनिबार मतदान भएको थियो । शनिबार राति नै आएको मत परिणामअनुसार महासंघको एसोसिएट्सतर्फ ढकाल पक्षका रामचन्द्र संघइ विजयी भए भने वस्तुगततर्फको उपाध्यक्षमा प्रधान पक्षका अञ्जन श्रेष्ठ र जिल्ला नगरतर्फ पनि प्रधानपक्षकै दिनेश श्रेष्ठ विजयी भएका छन् ।

३० प्रतिशत मत भार रहेको एशोसिएटमा चन्द्र ढकालले ५ सय २२ र किशोर प्रधानले ३ सय ७५ मत, २० प्रतिशत मतभार रहेको वस्तुगतमा चन्द्र ढकालले ५९ र किशोर प्रधानले ३९ तथा ५० प्रतिशत मत भार रहेको जिल्ला नगरतर्फ चन्द्र ढकालले ५२ र किशोर प्रधानले ५३ मत ल्याएका छन् ।

नेपाल चेम्बर अफ कमर्स वि।सं। २००९ सालमा स्थापना भएपछि २०२२ सालमा तत्कालीन तदर्थ समितिका संयोजक लोकनाथ जोशीको नेतृत्वमा महासंघको स्थापना भएको थियो । जोशीले २ वर्षसम्म महासंघको नेतृत्व गरेपछि अध्यक्षको जिम्मेवारी जुद्धबहादुर श्रेष्ठलाई दिइएको थियो । त्यसपछि निवर्तमान अध्यक्ष भवानी राणाको समयसम्म आइपुग्दा १८ जना अध्यक्षहरुले महासंघको नेतृत्व गरिसकेका छन् । १९औं नेतृत्वको रुपमा अबको एक कार्यकाल शेखर गोल्छाले गर्नेछन् भने अहिले वरिष्ठ उपाध्यक्ष जितेका ढकालले महासंघको २०औं अध्यक्षको रुपमा आफ्नो जिम्मेवारी सम्हाल्नेछन् ।

ढकालले वस्तुगततर्फ १२.०४ प्रतिशत, उद्योग वाणिज्यतर्फ २४.७६ प्रतिशत, एसोसियटतर्फ १७.४६ प्रतिशत मत ल्याएर कूल ५४.२६ प्रतिशत मत प्राप्त गरे भने प्रधानले ४५.७४ प्रतिशत मात्रै आफ्नो हातमा पार्न सफल भए ।

को हुन् चन्द्र ढकाल ?
बाग्लुङको विकट गाउँ बलेवा, अमलाचौरमा जन्मिएका चन्द्र ढकालको विगत निकै दुःखदायी छ । १६ वर्षको उमेरमै आफ्ना बुवा गुमाउन पुगेका उनी आफ्नी आमा तथा साना भाइबहिनीलाई खुसी दिलाउन संघर्ष गर्दै यो अवस्थामा आइपुगेका हुन् ।

ढकालको त्यही संघर्षले उनलाई नेपालका अग्रणी व्यावसायीको सूचीमा पार्न सफल पार्‍याे। आफ्नै मेहनत र आँटको बलमा यो अवस्थामा आइपुगेका उनी भन्छन्– ‘जिन्दगीमा सोचेजस्तो केही हुँदैन, तर योजनावद्व सोच, मेहनत र आँट भयो भने चाहिँ सफलता पाइदोरहेछ ।’

नेपालका गाउँगाउँमा रेमिट्यान्स भित्र्याउन सरल वातावरण बनाउन सफल रहेका ढकाल आईएमई ग्रुपका संस्थापक पनि हुन् । उनको रेमिट्यान्स कम्पनी आईएमई थाहा नपाउने सायदै कोही होलान् । चन्द्रगीरि हिल्स लिमिटेडलगायतका कम्पनीहरु चलाउँदै आएका उनी आफ्नो यो सफलतामा पनि गाउँको धरातल भने कहिल्यै बिर्सँदैनन् । भन्छन्, ‘मेरा हर सफलताको आधारशीला त्यही अमलाचौर, त्यही मेरो जन्म गाउँ हो ।’

Desk Editor at eChhapa.com | + posts

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -