भाषा सभ्यता र पहिचान

भाषा हो सभ्यता हाम्रो सारा उदय उन्नति ।
जित वैभव भाषामै रहन्छन् पछिसम्म यी ।।

बालकृष्ण समको यो कवितांशले सबै खाले उदय, उन्नति, हाम्रा जितका कथाहरु र सम्पदाहरु भाषामै रहन्छन् यो इतिहास हो भनेर बताइरहेको छ । वास्तवमा नै भाषा गाउँ,सहर र राष्ट्रको परिचाययक हो । भाषाले हरेक राष्ट्रको इतिहास एवं गौरवको गाथा बोल्ने गर्दछ । मानव सभ्यताका हरेक कालखण्डलाई चलचित्रमय बनाएर छर्लङ्ग पारिदिने काम भाषाले नै गर्ने गर्दछ । यसले मनोभावना मात्र व्यक्त गर्दैन अपितु सिङ्गो राष्ट्रलाई एकसूत्रमा बाँध्ने काम समेत गर्दछ । हुन त आज विश्व ग्लोबलाइजेसनतर्फ अगाडि बढिरहेको छ । विश्वभरि जुनसुकै कुनामा गएर मानवजाति आफ्नो जीवनपद्धति आफ्नो इच्छाअनुसार जिउन चाहन्छ र ऊ भाषा र राष्ट्रको नाममा आफूलाई बाँधेर राखेको मन पराउँदैन । लामो समय बितेपछि ग्लोबलाइजेसन पनि हटेर जाला र मानवजातिले आफ्नो अस्तित्व र परिचय खोज्ला त्यो बेला ऊ आफ्नो पूर्खाका इतिहास भेट्न असमर्थ हुनेछ ।

विभिन्न राष्ट्रमा गएर व्यापार गरी बसेका यहुदी जातिलाई अघिल्ला शताब्दीमा आफ्नो भाषा संस्कृति एवं राष्ट्र खोज्न हम्मेहम्मे परेको थियो । राष्ट्र पाएपछि पनि त्यो जोगाउन ठूलो बलिदान दिनुपरेको इतिहास छँदैछ । आज इजरायलले त्यो पाएको छ र आफ्नो संस्कृति सभ्यता जोगाउन उद्यत छ । यसबाट मानवजातिलाई आफ्नो भाषा संस्कृति सभ्यताको महत्व कति धेरै रहन्छ भनेर अड्कल लगाउन सजिलो हुन्छ ।

हामी नेपाली जातिलाई हाम्रो भाषा, संस्कृति सभ्यता ठूलो परिश्रम नगरी प्राप्त भएको छ । त्यसैले विभिन्न बाहानामा हामी आफ्नो भाषा संस्कृति र सभ्यताको कटु आलोचना गर्दछौं । यसलाई खासै महत्व दिँदैनौं । हामीलाई हाम्रो सभ्यता भाषा एउटा हिन्दी गित ‘दुनिँया जिसे कहेते हैं जादूका खिलाना हैं, मिल जाय तो मिट्टी हैं खो जाए तो सोना हैं’ जस्तो भएको छ । जब यसलाई अनेक षड्यन्त्रको चक्रव्यूहमा पारेर ध्वस्त पारिन्छ त्यसबेला हामीलाई यो सुन हुनेछ ।

विभिन्न राजनैतिक एवं गैर सरकारी संस्थाहरुले आफ्नो अभिष्ट सिद्धि गर्न नेपाली भाषालाई खस आर्यको भाषा, केहि नलागे टपरेको भाषा पाहाडे भाषा भनेर नेपाली जातिलाई उत्तेजित पार्ने काम गणतन्त्रपछिका दिनहरुमा एउटा अभियान जस्तै गरी सञ्चालन गरिएको छ । यसरी भाषा संस्कृतिमाथि हुने दमनले कालान्तरमा राष्ट्रको विभाजन हुन जानेछ । कालान्तरमा हामीले आफ्नो भाषा संस्कृति सभ्यता र राष्ट्र खोज्न यहुदीहरुले जस्तै ठूलो बलिदानी दिनुपर्ने अवस्था आउन सक्ने खतरा हुन सक्छ । नेपालमा हाम्रो मौलिक संस्कृति सभ्यता र भाषालाई नष्ट गर्न स्लो पोइजनको रुपमा धेरै कामहरु गरिएका छन् । नेपालका विभिन्न राष्ट्रिय भाषाहरुलाई उछालेर नेपाली भाषालाई अति न्यून स्तरको तौलिने कार्यले हाम्रा उन्नति र भाषाको वैभवलाई नष्ट गरिदिने छ ।

आज हिन्दी भाषाको प्रभाव हाम्रा सानासाना नानीहरुको बाल मस्तिष्कमा समेत परिसकेको छ । राणाहरुको समयमा वनारसमा अध्ययन गरेर फर्कने विद्यार्थीहरुले हिन्दी र संस्कृत शब्द धेरै प्रयोग गरेर नेपाली भाषालाई जसरी होच्याउने काम गर्दथे । अनि राणाशाहीहरु चाँहि अंग्रेजी शब्दको धेरै प्रयोग गरेर होच्याउँथे । आज हामी त्यही प्रयोग भारतीय मिडिया मार्फत हिन्दी र शिक्षित भएको नाममा अंग्रेजी शब्दहरुलाई धेरै प्रयोग गरेर नेपाली भाषालाई गिज्याउने काम गरिरहेका छौं । गाउँगाउँका महिलाहरु समेत सिरियलको प्रभावले हिन्दी शब्दको प्रयोग गर्दा सुखको अनुभूति गर्दछन् । अंग्रेजी भाषा ब्रिटिस तथा अमेरिकन उपनिवेशको नयाँ स्वरुप भए जस्तै हिन्दी भाषा हाम्रो देशमा भारतीय उपनिवेशको लागि खडा गरिएको अस्त्र हो । अंग्रेजी सिक्नुपर्दछ , हिन्दी पनि सिक्नूपर्दछ तर नेपाली भाषाको बीच बीचमा प्रयोग गरी आफ्नो मौलिकता मर्न दिनुहुँदैन । अन्य भाषा सिक्नू भनेको तत्तत् भाषाबाट ज्ञानको श्रोत खोज्नको लागि हो ।

नेपालभित्र बोलिने अन्य भाषाहरुको समेत संरक्षणमा हामीले जोड दिनुछ । यसले मुलुकभित्र रहेको विविध सभ्यता र संस्कृतिको संरक्षणमा मद्दत पुग्दछ । विदेशी मिसनहरुको प्रभाबमा परेर नेपाली भाषालाई दुत्कारेर बस्यौं भने हामीले आआफ्नो जातिको मौलिक संस्कृति र भाषालाई पनि नाश गर्न सक्छौं । त्यसले हाम्रा पूर्वजले हामीलाई दिएर गएको धरोहर नष्ट हुन पुग्दछ र हामीसँग विश्वलाई दिने र देखाउने कुनै चिज रहने छैन । सिमेन्टको थुप्रो मात्र विकास कदापि होइन । सिमेन्टको थुप्रोको विकासलाई मात्र हामीले आफ्नो उन्नति एवं प्रगति मान्यौं भने त्यो कालान्तरमा हानिकारक सिद्ध हुन पुग्छ । मानवजाति जति भौतिक उन्नति गर्दछ उसलाई परिस्कारवाद र शास्त्रीयतावादले तान्न थाल्दछ । उसको खोज एवं अनुसन्धान मौलिकता जसले आत्मीयताको अनुभव दिलाउँछ त्यही हुनेछ । समृद्धिले शास्त्रीयता खोज्नु नौलो कुरा होइन ।

उदाहरणको लागि आजकै अवस्था रहिरह्यो भने एक शताब्दीपछि कुनै एक किराँतले आफ्नो मौलिकता खोज्ला त्यतिबेला त्यो रिस राग र घमण्डका कारण ध्वस्त भइसकेको हुनेछ । त्यो बेला हामी अंग्रेजी भाषामा जे लेखिएको छ त्यसलाई नै प्रामाणिक मान्न पुग्दछौं र आफ्नो जाति एवं सभ्यतालाई हीन भावनाले तिरस्कार गर्नेछौं । असलमा त्यो इतिहास हाम्रो मौलिकताको नभई बनावटी हुनेछ । त्यस समय ‘स्वगृहे पायसं त्यक्त्वा भिक्षाम् अटति दुर्मतिः’ (आफ्नो घरमा पाकेको खीर छोडेर बुद्धि नभएकाहरु भिक्षा माग्न हिँड्दछन्) भनेजस्तो हुन सक्छ । स्वयंको मौलिकतालाई मर्न नदिने हो भने हरेक समुदायले आफ्नो सभ्यता र भाषालाई सकिनबाट जोगाउनुपर्दछ ।

टोकियोको उदाहरणबाट अर्को कुरा प्रष्ट पारौं । टोकियो विश्वकै सभैभन्दा बढी आवादी भएको सहर हो । टोकियोमा सबैभन्दा बढी बोलिने भाषा अंग्रेजी होला भनेर हामीले अनुमान ग¥यौं भने त्यो गलत हुनेछ । लाखौं विदेशीको आवादी रहेको एउटा सहरले जापानी भाषा मार्फत हरेक काम गर्दछ । विदेशी मानिसहरु कुनै पसलमा जान्छन् भने अंग्रेजीले काम चल्दैन किनकी बहुसंख्यक जापानी अंग्रेजी बुझ्दैनन् । कि इसारा गरेर भन कि जापानी भाषा सिकको अवस्था हुन्छ । सँगै रहेको दक्षिण कोरियामा सत्तरी प्रतिशत कोरियाली अंग्रेजी बुझ्दैनन् । उनको सबै काम कोरियाली भाषामा हुन्छ । कुनै चिकित्सककोमा हामी गयौं भने हामी उनकै भाषामा उपचार पाउँछौं । औषधीको पर्ची पनि बुझिने गरी उनकै भाषामा लेखिएको हुन्छ । त्यस्तो प्रचलनको सुरुवात हामीकहाँ पनि बिस्तारै सुरु होला आशा गरौं । उनीहरुले धेरै संस्कृति नष्ट भएर गए पनि भाषा मार्फत आफ्नो पहिचान मर्न दिएका छैनन् ।

तसर्थ पहिचानको साँचो अर्थमा माया छ भने स्वयंको भाषा ,संकृति र सभ्यताको माया गर्नुपर्दछ , संरक्षण गर्नुपर्दछ । एक अर्कालाई दुत्कारेर हिंसा प्रतिहिंसाले कुनै पनि मौलिकताको रक्षा हुँदैन । जसमा हाम्रो जीवन र आदर्श समाहित छ त्यसैलाई समाप्त गरेर हामी कुन खाले पहिचान खोज्दैछौं ?

+ posts

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -