पत्रकारिताको संस्थागत विकासमा श्रेष्ठको उच्च योगदान : सञ्चारमन्त्री गुरुङ

काठमाडौं– नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षको पहिचानको मागसहित सोमबार सत्यनारायण बहादुर श्रेष्ठको १०५औँ जन्मजयन्ती मनाएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आदर्श विद्या मन्दिर (एभिएम) मा अवस्थित श्रेष्ठको प्रतिमामा माल्यार्पण गरी उहाँलाई स्मरण गर्नुभयो । सञ्चार मन्त्री गुरुङसँगै नेवाः पत्रकार राष्ट्रिय दबुका पदाधिकारी तथा अन्य अतिथिले पनि श्रेष्ठको प्रतिमामा माल्यार्पण गर्नुभएको थियो ।

नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष सुरजवीर बज्राचार्यले श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षको पहिचान दिलाउन लेखिएको ध्यानाकर्षण पत्र सञ्चारमन्त्री गुरुङलाई हस्तान्तरण पनि गर्नुभयो ।
ध्यानाकर्षण पत्रमा– ‘नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षका रुपमा पत्रकार संगठित गर्ने अभियानको सुरुवात २००८ सालमा नेपाल टुडेको सम्पादक श्रेष्ठले आफ्नो अध्यक्षतामा पहिलो पटक नेपाल पत्रकार संघको गठन गरेको हो । २००९ सालमा संघको दोस्रो सभाबाट पुनः श्रेष्ठलाई अध्यक्षमा चयन गरिएको हो । २०१२ सालमा पत्रकारहरुको अर्को बैठकबाट पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति कृष्णप्रसाद भट्टराईको सभापतित्वमा नेपाल पत्रकार संघको पुनर्गठन गरिएको थियो । त्यसपछि यही तथ्यलाई पहिलो घटनाको रुपमा व्याख्या गरी भट्टराईलाई नेपाल पत्रकार महासंघको संस्थापक मानिँदै आएको छ । यसले इतिहास मेट्ने कार्य भइरहेको छ ।’
सञ्चारमन्त्री गुरुङले पत्रकार महासंघको अध्यक्ष विवादबारेमा आफ्नो ध्यानाकर्षण भएको बताउनु हुँदै सबै सरोकारवालासँग छलफल गरी यो विवादको टुङ्गो लगाउने प्रयास गर्नेछु भन्नुभयो । ‘२००७ सालमा देशमा प्रजातन्त्र आयो । २००८ सालमा नै श्रेष्ठले पत्रकारहरुका संगठन गठन गर्नुभयो । यो उहाँको दूरदर्शीताको प्रमाण हो । यसका साथै २००७ सालमा प्रजातन्त्र आउनुमा पत्रकारहरुको भूमिका र योगदानबारे पनि थाहा पाउन सकिन्छ,’ सञ्चारमन्त्री गुरुङले थप्नुभयो ।

नेवार पत्रकारहरुको संस्था नेवाः पत्रकार राष्ट्रिय दबूद्वारा आयोजित कार्यक्रममा अध्यक्ष सुरजवीर बज्राचार्यले यो न्यायको लडाइँ हो भन्दै यसका लागि आफ्नो संस्थाले आवाज उठाइरहने जानकारी गराउनुभयो । ‘अब यो विषयलाई कार्यान्वयनको पाटोमा लानेबारे आवश्यक छलफल गरी अगाडि बढ्न आवश्यक भइसकेको छ,’ उहाँले भन्नुभयो ।
नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलीप थापामगरले दस्तावेज, प्रमाणहरु जुट्न सकेको खण्डमा नेपाल पत्रकार महासंघले पनि श्रेष्ठको योगदानको कदर गर्ने विश्वास व्यक्त गर्नुभयो ।
मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिहंले यो विषयबारे सत्यतथ्य सबैलाई थाहा भए पनि कसैले सम्बोधन गरिरहेको छैन भन्नुभयो । उहाँका अनुसार देशकै गौरवशाली व्यक्तित्व अगाडि भएको हुनाले सत्यनारायण बहादुर श्रेष्ठको कार्य ओझेलमा पारिएको छ ।
यसैगरी, नेवाः पत्रकार राष्ट्रिय दबू, यलका कोषाध्यक्ष सुनील बज्राचार्यले धन्यवाद मन्तव्य दिनुभएको थियो ।

Desk Editor at eChhapa.com | + posts

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -