बालकुमारी साकोसको २०औं वार्षिक साधारणसभा सम्पन्न

भक्तपुर– सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले विभागले सन्दर्भ व्याजदर तोक्दा मिटर ब्याज लिन पल्केका सहकारी संस्थाहरुले कालोमोसो दल्ने भन्नेहरुलाई भक्तपुर जिल्लाले सन्दर्भ व्याज लागु गरेर पाठ सिकाएको बताउनु भएको छ ।

बालकुमारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आइतबार २०औं वार्षिक साधारणसभाको उद्घाटन गर्नु हुँदै उहाँले सदस्यहरुको जीवनस्तर उकास्न सहकारीको मूल्य मान्यता र सिद्धान्तभन्दा बाहिर गएर सदस्यहरुको सम्पत्ति लिलाम हुने अवस्था आउन नहुने बताउनुभयो ।
उहाँले सामुदायिकमा आधारित सहकारी संस्थाले बोलाउँदा आफूखुशी भएर सहभागिता हुन मन लाग्ने बताउँदै सहकारी भनेको सदस्य र समुदायको लागि हो, सदस्य र समुदायको लागि सञ्चालित संस्था नै सहकारी अभियानमा सफल हुनेमा जोड दिनुभयोे ।
सभाका विशिष्ट अतिथि राष्ट्रिय सहकारी महासंघका सञ्चालक एवं नेफ्स्कुनका निवर्तमान अध्यक्ष डीबी बस्नेतले एक व्यक्ति एक सहकारी लागू तत्काल गर्न नहुने र महासंघ सरकारले तत्काल लागू गर्न नसक्ने सरकार समक्ष राखेको बताउनुभयो । उहाँले एउटा व्यक्ति १० वटा बैंकको खाता खोल्न हुने र सहकारीमा सदस्य बन्न नहुने नीति नहुने बताउनुभयो ।
सभामा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोखरेलले नेफ्स्कून नियमित भएकोले बालकुमारी साकोस जोखिममुक्त रहेको बताउनुभयो । उहाँले बालकुमारी साकोस सुशासनमा चलेको पाएकोमा खुशी व्यक्त गर्नुभएको थियो । उहाँले सहकारी पूँजीलाई गतिशील बनाउन नीति, विधि र प्रविधिमा विशेष जोड दिनुपर्ने बताउनुभयो ।
बालकुमारी साकोसका अध्यक्ष तुईलाल श्रेष्ठको सभापतिमा भएको सभामा जिल्ला सहकारी संघ भक्तपुरका अध्यक्ष केदार खड्का, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष कान्छाभक्त घजु, शुभश्री साकोसका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

२०५७ असोज २ गते २८ जना सदस्यहरूबाट रु. ७ लाख पूँजी संकलन गरी सुरु गरेको यो संस्थालाई भक्तपुर जिल्लाकै विशिष्ट सहकारीको रुपमा स्थापित गर्न प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नु हुने शेयर सदस्य एवं शुभचिन्तक महानुभावहरुप्रति सभामा प्रतिवेदन प्रस्तुत गर्नुहुँदै संस्थाका अध्यक्ष तुईलाल श्रेष्ठले आभार व्यक्त गर्नुभएको थियो । सदस्यहरुको विश्वास, नियामक निकाय तथा छाता संगठनको मार्गदर्शनका कारण संस्थाले सफलतापूर्वक दुई दशक पार गरेको अध्यक्ष श्रेष्ठले सभामा बताउनुभएको थियो ।
सभामा संस्थाका अध्यक्ष श्रेष्ठले हाल शेयर पूँजी १२ करोड ३९ लाख ७० हजार ६ सय, सदस्य संख्या ४ हजार ९ सय ४७ जना पुगिसकेको बताउनुभयो । उहाँले संस्थामा निक्षेप १ अर्ब २९ करोड ९३ लाख ८ हजार ९ सय ७८ रुपैयाँ, लगानी १ अर्ब ५ करोड ८२ लाख १६ हजार ३ सय १७ रुपैयाँ, जगेडा तथा अन्य कोष ४ करोड ५५ लाख ३८ हजार ७ सय २२ रुपैयाँ, कर्जा नोक्सानी व्यवस्था कोष १ करोड ६१ लाख ३६ हजार १ सय ४५ रुपैयाँ, तरलता ३६ करोड १६ लाख १ हजार ५ सय ७५ रुपैयाँ, खुद नाफा १ करोड ६४ लाख २० हजार ८ सय ३० रुपैयाँ गरी आ.व. २०७६/०७७ को असार मसान्तसम्ममा संस्थाको कुल कारोबार १ अर्ब ५२ करोड ४६ लाख २७ हजार ३ सय १३ रुपैयाँ रहेको बताउनुभयो ।
संस्थाका उपाध्यक्ष पञ्चकृष्ण श्रेष्ठले स्वागत र सचिव पृथ्वीराम श्रेष्ठले सञ्चालन गरेको साधारणसभामा संस्थाका कोषाध्यक्ष सुदीप श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

सभामा प्रमुख अतिथि पाण्डेले संस्थाका जेष्ठ सदस्यहरु ज्ञानकुमार श्रेष्ठ, हेमरत्न बज्राचार्य, तुल्सीमाया किलनं श्रेष्ठ र नानीमाया टपी श्रेष्ठलाई दोसल्ला ओढाई नगदसहित सम्मान गर्नुभएको थियो । यसैगरी सभामा शेयर सदस्यका छोरा–छोरी मध्येबाट सबैभन्दा बढी अंक ल्याई एसईई परीक्षामा उत्तीर्ण हुन सफल शेयर सदस्य देवकृण श्रेष्ठका छोरा दीक्षान्त श्रेष्ठ (४ जीपीए) र शेयर सदस्य टेककुमारी भण्डारीका छोरा अनितमणि भण्डारी (४ जीपीए) र शेयर सदस्य सुजन श्रेष्ठकी छोरी कृपा श्रेष्ठ (३.९४ जीपीए) लाई पनि नगदसहित प्रशंसा–पत्र प्रदान गरिएको थियो ।

Desk Editor at eChhapa.com | + posts

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -