विकासको मेरुदण्ड : स्तरीय सडक

हामी विकाशको स्वाद चाख्न आतुर देशबासी हौं । देश विकासको लागि पुर्वाधार विकासमा विशेष जोड दिनु पर्दछ । पुर्वाधारको मेरुदण्ड भनेको सडक सञ्जाल नै हो । नयाँ सडकको निर्माण कछुवा गतीमा भइरहेको छ भने एकचोटी ड्रोजर लगाएर ट्रयाक खोलेर छाडेको सडकमा सार्वजनिक यातायात गुडाउनेको होडबाजी चल्छ । यातायात व्यवसायी र अनुमती दिने निकायका बिचमा आ–आफ्नो स्वार्थ मिलिसकेपछि मापदण्डनै नपुगेको भएपनि उक्त सडकमा यातायात चलाउन छुट दिइन्छ । त्यो सडकले अनगिन्ती धन, जन र मनको क्षती हुन थाल्छ । कतै बेहुलाबेहुली सहित विहेका सबै जन्तीको ज्यान लिन्छ, कतै सिंगै घर, गाउँनै उजाड बनाई दिन्छ । यस्ता अनेकौं मुटु हल्लाउने घटनाहरु भइसकेपछि बल्ल माटोको कटिङ भएको सडकमा गिटि, ढुंगा हाल्न सुरु हुन्छ । त्यसपछि फेरिपनि अघि भनेका घटनाहरु दोहोरिन थाल्छन् । दुर्घटनामा ठूलै मानिस पर्यो भने वा धेरै मानिसहरु परे भने चालकको लापर्वाही वा अत्यधिक यात्री वा सवारीसाधन पुरानो भन्ने रिपोर्ट तयार हुन्छ । उक्त सडक कालोपत्रे हुने नै भयो भनेपनि त्यो समय सम्ममा देशले कतीवटा प्रधानमन्त्री फेरि सकेको हुन्छ यो दृश्य हामीले इतिहास देखि अहिले सम्म टुलुटुलु हेरिरहेका छौं । हाम्रो मानसिकता सडक कालोपत्रे हुनुनै ठूलै बिजय प्राप्त भएको सम्झन्छौं तर स्तरियतालाई वास्ता गर्दैनौं । ठेकेदार र त्यसका इजाजत दिने निकायले मिलोमतोमा निर्माणको प्रमाणपत्र दिइसकेको हुन्छ । अनि सकेसम्म प्रधानमन्त्री नसके उपप्रधानमन्त्री त्यो पनि नसके सम्बन्धीत मन्त्रीले चिटिक्क परेर दलबल सहित गएर सक्दो भाषण ठोकेर उद्घाटन गरेर फर्कनु हुन्छ, मानौं उक्त सडक जनताको पैसाले होइन आफ्नै खल्तीबाट बनाइएको हो र उहाँले हामीलाई उक्त सडक दिएर ठूलै गुण लगाउनु भएकोछ । केहि समय पछि बल्लबल्ल बनेको सडक स्तर खस्किन थाल्छ र सडक बिग्रन थाल्छ । सडकले ठाऊँ ठाऊँमा भैंसिको लागि आहाल बस्ने ठाऊँको निर्माण गर्न थाल्दछ, कालो सडकको हालत तालु खुइलाएर सेताम्मे हुँदासम्म पनि सम्बन्धित निकायको आँखा पुग्न ठूलै कसरत गर्नुपर्दछ ।
देशैभरी जुनसुकै निर्वाचनमा सडकको मुद्दाले प्रथम स्थान हासिल गर्दछ । स्थानिय निर्वाचनमा मेयरले भोट माग्दा भएको बाटोलाई स्तरीय र नभएको ठाऊँमा नयाँ बाटो बनाउंछु भनेर भोट मागे, उपमेयरलेपनि त्यहि बाटो, वडा अध्यक्षले पनि त्यहि बाटो, वडाकी महिला वडा सदस्यलेपनि त्यहि बाटो, दलित महिला वडा सदस्यलेपनि त्यहि बाटो, दुबै पुरुष वडा सदस्यहरुलेपनि त्यहि बाटो देखाए अब हुँदा हुँदा प्रतिनिधी सभाका सदस्यलेपनि त्यहि बाटो, प्रतिनिधी सभाका समानुपातिक सदस्यलेपनि त्यहि बाटो, प्रदेश सभाका सदस्यले पनि त्यहि बाटो अनि प्रदेश सभाका समानुपनतिक सदस्यलेपनि त्यहि बाटो देखाएर भोट मागिरहेछन् । हामी जनताहरु अब त साँच्चै होलानी भन्दै त्यसकै आशमा पर्खिरहेका छौं ।
कसैलेपनि सुधार्न नसक्ने नेपालको प्राय सबै सडकको हालत पहिले जस्तो थियो अहले त्यो भन्दा खाल्डाखुल्डी अलि बढेको छ, घाम लाग्दा धुलो अलि बढिनै उडाउँछ, वर्षा हुँदा पानी अलि बढीनै जम्मा पारेर राख्छ, हिलोको मात्रा अलि बढीनै थुपारेर राख्छ । सडकत आवारा हो, सधैं लम्पसार परेर बस्छ, यस्तो सडकलाई स्तर उन्नती गर्नेहो भने नेताहरुले के देखाएर भोट माग्ने ? सडकको जन्म हुनत अत्यन्त कडा प्रसव पिडा भोग्नु पर्दछ भने सडक सँगै जोडिएर आउने पुलको हालत झन अतिनै दयनिय छ । दुर दराजको कुरै छाडौं, राजधानीकै खोलामा भएका पुलहरुको अवस्था हेरौं न । माइतीघर कोटेश्वर सडकखण्ड आठ लेनको बनेको यत्रो वर्ष भइसक्यो पुल भने ट्रली बस गुड्ने बेलाकै छ । शहरमा ट्राफिक जामले टाउको खाइसक्यो । एक सेकेण्ड एउटा सवारी साधन रोकिनु पर्यो भने त्यसले कती मिटर लामो लाइन बनाइसक्छ । तर यो सडकको धोबीखोला, बागमतीखोला माथीको पुलमा जब सवारीसाधनहरु आइपुग्छन् अघि सम्म रफ्तारले हुँइकिएर आउनेहरुको ब्रेक लाग्न थाल्छ । अनि यहाँ बाट पार पाउन घडी हेर्दै उफ र आफ भन्यो मनमनै सराप्यो पञ्चमीको पाइला सारे सरह सवारी साधनलाई सारेर अगाडी बढ्नु पर्ने हुन्छ । आफ्नो अगाडी मात्र होइन पछाडीपनि अरु सयौं सवारीसाधनहरु लामबद्ध भइसकेको हुन्छ । अझ बनेका सडक र पुलमा पैदलयात्रीको लागि सडक पेटी हुनु पर्छ भनेर त सोचेकै देखिदैन । उदाहरणको लागि सिनामंगलको पुल बनेको भर्खरै हो, पुरानो भासिएर नयाँ बनाएको तर त्यसमो पेटीको नाममा मुश्कीलले एकजना मान्छे हिंड्न पुग्छ, सबैजना सडकबाटै हिंड्न बाध्य हुनु पर्दछ । जसले गर्दा पैदलयात्रीलाई खतरा त छँदैछ साथसाथै सवारीसाधन चालकलाई पनि उत्तीकै अप्ठेरो छ ।
भनिन्छ, मानिस आशावादी हुनुपर्छ भनेर । हामीपनि आशावादी भएर आफ्ना जनप्रतिनिधीहरुका साथ साथै सम्बन्धीत निकाय, जस्तैः सडक विभाग, निर्माण कम्पनी, स्थानीय निकाय जस्ता संस्थाहरुकै सकारात्मक सोचको विकास होस भन्ने कामना गरौं । सडकमा मानिसको जिन्दगी अडेको हुन्छ । सडकले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा गरेर कयौंको पेट पालेको छ, साथसाथै यसको केहि गल्तीले कसैको ज्यान पनि गइरहेकोछ । सडकको अभावमा राष्ट्रलाई विकसित बनाउन सकिंदैन । दिगो विकासलाई आत्मसात गरौं, आफू र आफ्ना सन्तानको भविष्यमाथी खेलवाड नगरौं । राज्यले यसलाई पहिलो प्राथमिकतामा राखौं, गल्ती गर्नेलाई क्षमा नगरौं । कानून सबैको लागि हो भन्ने मनन गरौं ।

therajivbhandari@yahoo.com

राजीव भण्डारी
+ posts

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -