आमनिर्वाचनमा होमिन नेता/कार्यकर्ताहरुलाई निर्देशन

भक्तपुर– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी ओली पक्षका केन्द्रिय सदस्यहरुले आगामी २०७८ वैशाख १७ र २७ गते हुने आमनिर्वाचनका लागि आवश्यक तयारी गरी जनताको घरदैलोमा जान नेता/कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । नेकपा भक्तपुर जिल्ला, मध्यपुर थिमि नगर स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँहरुले जनताको अभिमत लिएर ५ वर्ष सरकार सञ्चालनको जिम्मा दिए पनि सरकारलाई असफल बनाउन षड्यन्त्र गरेको कारण प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशको लागि मध्यावधि निर्वाचनको घोषणा गर्न बाध्य भएको बताउनुभयो ।

भेलामा केन्द्रीय सदस्य एवं भक्तपुर जिल्ला कमिटीका अध्यक्ष बचन देउजाले नेकपाको स्पष्ट बहुमत प्राप्त सरकारलाई असफल बनाउन पार्टीभित्रैबाट षड्यन्त्र गरेको आरोप लगाउँदै नेपाली जनताको समृद्धि र सुखीको यात्रामा अवरोध भएपछि ताजा जनादेशको विकल्प नभएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा केन्द्रीय सदस्य एवं भक्तपुर जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले राणाकालदेखि पञ्चायती निरंकुशताविरुद्ध संघर्ष गरेका नेताहरु हाम्रै गणतन्त्रलाई संस्थागत बनाउन लागेका नेताहरुविरुद्ध उत्रनु दुर्भाग्य भएको बताउनुभयो ।

सो अवसरमा केन्द्रीय सदस्य रामबहादुर श्रेष्ठले राष्ट्रियता, स्वाधिनताको रक्षा गर्न सक्रिय प्रधानमन्त्रीलाई अपदस्त गर्न पार्टीभित्रकै नेताहरु सक्रिय भएको कारण प्रतिनिधिसभा विघटनको अवस्था सिर्जना भएको दाबी गर्नुभयो ।
सभापतिको आसनबाट नेकपा जिल्ला कमिटीका सदस्य एवं मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले नेपाल एकीकरणअघिको स्थानीय निर्वाचनमा वाम एकता हुँदादेखि हरेक पाइलामा पूर्वमाओवादीबाट षड्यन्त्र हुँदै आएको दाबी गर्दै असल पूर्वमाओवादी नेता कार्यकर्ताहरुले अहिले पनि नेकपा संस्थापन पक्षमा सहयोग गर्ने ठोकुवा गर्नुभयो ।
भेलामा केन्द्रीय सदस्य एवं वाग्मती प्रदेश सभा सदस्य सरस्वती बाटी, केन्द्रीय सदस्य तारानिधि पन्त, नेकपा प्रदेश कमिटी सदस्य एवं गरिबी निवारण कोषका उपाध्यक्ष निर्मलकुमार भट्टराई, जिल्ला कमिटी सदस्य चन्दनकृष्ण श्रेष्ठ र नगर सदस्यद्वय बालकृष्ण श्रेष्ठ र दिपक श्रेष्ठले मन्तब्य राख्नुभएको थियो ।

Desk Editor at eChhapa.com | + posts

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -