काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा भोला थापा नियुक्त

काठमाडौ । काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा भोला थापा नियुक्त हुनुभएको छ । विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार उहाँलाई उपकुलपति नियुक्त गर्नुभएको हो ।
शिक्षामन्त्री एवं विश्वविद्यालयका सहकुलपति कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा गठित तीन सदस्यीय सर्च कमिटीले गरेको सिफारिसको आधारमा उहाँलाई उपकुलपति नियुक्त गरेको हो ।
उपकुलपति छनोट गर्न गठित समितिले डा. रामकण्ठ मकाजू, प्राडा भोला थापा र प्राडा बालचन्द्र लुइँटेलको नाम सिफारिस गरेको थियो ।
सर्च कमिटीमा मन्त्री श्रेष्ठ, पूर्वसभामुख दमननाथ ढुंगाना र पूर्वउपकुलपति सुरेशराज शर्मा रहनुभएको थियो । काठमाडौं विश्वविद्यालय स्थापना भएदेखि सो विश्वविद्यालयमा प्राध्यापन गर्दै आउनुभएका प्राडा थापाले सो विश्वविद्यालयमा २७ वर्ष काम गर्नुभएको छ । नवनियुक्त थापा ९ वर्ष डीन र ५ वर्ष रजिष्ट्रार हुनुभएको थियो ।मेकानिकल इन्जिनियर उपकुलपति प्राडा थापाले नर्वेमा नेपालको हाइड्रोपावर डेभलपमेन्टमा विद्यावारिधी गर्नुभएको थियो ।
कुलपति नियुक्ति भएपछि विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री श्रेष्ठलाई भेट गर्न मन्त्रालयले पुग्नुभएको थियो ।
सो क्रममा उहाँले विश्वविद्यालयको शैक्षिक उन्नयनमा आफू लागिपर्ने बताउनुभयो । उहाँले हाल देखिएका समस्या समाधान गर्न आफू हरसम्भव लागिपर्ने बताउँदै त्यसको लागि पूर्वउपकुलपति, प्राध्यापक संघलगायतसँग सहकार्य गरी अघिबढ्ने बताउनुभयो ।
सहकुलपति एवं मन्त्री श्रेष्ठले सबैको सम्मान हुनेगरी काम गर्न आग्रह गर्नुभएको थियो । मन्त्री श्रेष्ठको अध्यक्षतामा गठित समितिमा ४४ जनाले उपकुलपति हुन आवेदन दिएका थिए ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -