मोरक्कोमा एक महिलाले नौ वटा शिशुलाई जन्म दिइन्

एजेन्सी । अफ्रिकी मुलुक मालीकी एक आमाले मोरक्कोको एक क्लिनिकमा एकै पटक नौ जना शिशुलाई जन्म दिएकी छिन् । मालीका स्वास्थ्यमन्त्री र मोरक्कोको क्लिनिकले नौ जना शिशु जन्मिएको बताएका छन् ।

कुनै महिलाले एकै पटक नौ जना शिशुलाई जन्म दिएको सम्भवत यो विश्वकै पहिलो घटना हो । मोरक्कोको क्लिनिकका अनुसार सबै नौ शिशुको स्वास्थ्य अवस्था सामान्य छ ।

जन्मिएका शिशुहरुमा पाँच बालिका र चार बालक छन् । मालीका स्वास्थ्यमन्त्रीले आमाको स्वास्थ्य पनि सामान्य रहेको जानकारी दिएका छन् ।

पच्चीस वर्षीया आमा हालिमा सिस्सेले मङ्गलबार मोरक्कोको क्लिनिकमा सिजेरियन विधिबाट ती शिशुलाई जन्म दिएकी थिइन् । एपीका अनुसार मालीका स्वास्थ्य अधिकारीहरुले ती आमाको स्वास्थ्यस्थितिलाई विचार गरी माली पठाइएको जनाएका छन् ।

जन्मिएका शिशुहरुको तौल ५०० ग्रामदेखि एक किलोग्राम सम्मका रहेको बताइएको छ । तीस हप्ताको गर्भपछि यी शिशुहरु अपरिपक्व अवस्थामा जन्मिएका हुन् । धेरै रगत बगेर आमाको स्वास्थ्यमा जोखिम देखिन थालेपछि चिकित्सकहरुले सिजेरियन विधिबाट बच्चा निकालेका थिए ।

गिनिस बुक अफ वर्ल्ड रेकर्ड्समा कुनै पनि आमाले ८ जनासम्म जीवित सन्तान जन्माएको पाइएको छ । सन् २००९ मा अमेरिकी आमा नादया सुलेमानले आठ बच्चालाई जन्म दिएकी थिइन् ।

एजेन्सी
+ posts

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -