प्रधानमन्त्रीमा केपी ओली नियुक्त, भोलि शपथ

काठमाडौं । प्रधानमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली नियुक्त भएका छन् । संविधानको धारा ७६ (३) बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्यहरु भएको दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलका नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालयका अनुसार शपथ भोलि शुक्रबार अपराह्न हुनेछ ।
यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते संविधानको धारा ७६ (२) अनुसार तीन दिनभित्र दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आह्वान गरेकोमा बिहीबार बेलुकी ९ बजेसम्म कुनै पनि दलको दाबी परेको थिएन ।
नेपाली कांग्रेस र माओवादी केन्द्र वैकल्पिक सरकार गठनको प्रयासमा जुटे पनि बहुमत जुटाउन सकेन । बहुमत नपुगेपछि कांग्रेस–माओवादी गठबन्धनले सरकारका लागि दाबी नै गरेन ।
अब ३० दिनभित्र प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्छ । विश्वासको मत लिन नसके संविधानको धारा ७६(५) अनुसार सरकार गठनको प्रयास हुनेछ । त्यो पनि असफल भए मध्यावधि चुनावतिर जानुपर्ने छ ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -