सकभर बैंक नआउन सुझाव, बैंकहरूले अत्यावश्यक ५ सेवा मात्रै दिने

काठमाडौं । निषेधाज्ञाको अवधिमा पनि उपत्यकाका बैंकहरुमा सर्वसाधारणको भीड बढ्न थालेपछि बैंकहरुले अत्यावश्यक ५ सेवा मात्रै दिने भएका छन्।

नेपाल बैंकर्स एसोसिएसनको बैठकले अत्यावश्यक ५ सेवा मात्रै दिने निर्णय गरेको बिहीबार प्रेस विज्ञप्ति प्रकाशित गरि जनाएको छ ।

निषेधाज्ञा अवधिभर खाताबाट नगद झिक्ने, ५० हजारभन्दा बढी नगद जम्मा गर्ने, चेक/आइपिएस/आरटिजिएसमार्फत रकम स्थानान्तरण गर्ने, रेमिट्यान्स भुक्तानी र अन्तर्राष्ट्रिय व्यापारसम्वन्धी सेवाहरु मात्रै प्रदान हुने विज्ञप्तिमार्फत भनेको छ। 

संघले अत्यावश्यकबाहेक साधारण कार्यका लागि अहिले बैंकमा नआउन पनि सर्वसाधारणलाई आग्रह गरेको छ।  

संघले विज्ञप्तिमार्फत भनेको छ ‘नेपाल सरकारले अत्यावश्क अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन गरेको आह्वानलाई मध्यनजर गर्दै सम्पूर्ण ग्राहकमा डिजिटल बैंकिङ्गको प्रयोग गर्नुहुन अनुरोध गर्दछौं।’

डिजिटल बैंकिङ्ग प्रयोग गर्दा कुनै समस्या आएमा वा सहयोग आवश्यक परेको खण्डमा सम्बन्धित बैंकमा फोन वा इमेल मार्फत सम्पर्क गर्न संघले आग्रह गरेको छ।

सबै एटिएम खुला रहनुका साथै बैंकका कल सेन्टरहरु समेत कार्यालय समयभर उपलब्ध हुन्छ।  

उपरोक्त बाहेक अन्य केही जरुरी भएमा बैंक शाखाका सम्पर्क व्यक्तिहरुको  विवरण शाखा कार्यालय तथा बैंकको वेबसाइटमा समेत उपलब्ध हुने संघले जनाएको छ। पछिल्लो समय बैंकका कर्मचारीमा कोरोना संक्रमण बढ्दै गएको छ। हाल २ हजार ४ सय कर्मचारी संक्रमित छन्। 

बुधबार मात्रै पूर्व बैंकर निरज श्रेष्ठको कोरोनाबाट मृत्यु भएको थियो। त्यसअघि २ कर्मचारीले ज्यान गुमाइसकेका छन्। 

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -