राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, चुनाव आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटनको घोषणा गरेकी छिन् । आगामी कात्तिक २६ र मंसिर ३ मा मध्यावधि चुनाव घोषणासमेत उनले गरेकी छिन् ।
मन्त्रिपरिषद्को शुक्रबार मध्यरातमा बसेको बैठकले प्रतिनिधिसभा विघटन गरी चुनाव गर्ने मिति तोकेको थियो । राष्ट्रपति भण्डारीले सरकार गठनका लागि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेको दाबी नपुगेको भनी खारेज गरेपछि बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा विघटन गरी निर्वाचनको घोषणा गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री ओलीले दोस्रोपटक प्रतिनिधिसभा भंग गरेको हो । यसअघि २०७७ पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए ।

विज्ञप्तिमा भनिएकाे छ- ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ७६ को उपधारा (७) बमोजिम वर्तमान प्रतिनिधि सभा विघटन गर्न र अर्को प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन संवत् २०७८ साल कार्तिक २६ गते शुक्रबार र दोस्रो चरणको निर्वाचन संवत् २०७८ साल मङ्सीर ३ गते शुक्रबार सम्पन्न गर्नेगरी निर्वाचनको मिति तोक्न नेपाल सरकार, मन्त्रिपरिषद्बाट मिति २०७८/२/८ मा निर्णय भै सोही बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूबाट सिफारिस भएकोले उक्त सिफारिस बमोजिम वर्तमान् प्रतिनिधि सभा विघटन गरी अर्को प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन संवत् २०७८ साल कार्तिक २६ गते शुक्रबार र दोस्रो चरणको निर्वाचन संवत् २०७८ साल मङ्सीर ३ गते शुक्रबार सम्पन्न गर्नेगरी निर्वाचनको मिति तोक्नु भएको छ ।’

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -