अब खाना पकाउने ग्यास ११२० रुपैयाँ

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा उल्लेखित छुट तथा सुविधाको कार्यान्वयन सुरु भएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले खाद्यान्न र खाना पकाउने ग्यास सस्तो मूल्यमा बिक्री गर्ने भन्दै मूल्यसूची सार्वजनिक गरेको छ ।
सरकारले बजेट वक्तव्यमा सर्वसाधारणलाई निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङबाट बिक्री हुने चामल, पिठो, दाल, नुन, खानेतेल, चिनी तथा खाना पकाउने ग्यासको बिक्री मूल्यमा २० प्रतिशत छुट दिने उल्लेख गरिएको थियो ।
जस अनुसार बजारमा प्रतिकिलो ९५ रुपैयाँ पर्ने चिनीको मूल्य ६३ रुपैयाँ २० पैसा, खाना पकाउने ग्यासको भाउ ११ सय २० रुपैयाँ, पिठो प्रतिकिलो ४४ रुपैयाँ, नून प्रतिकिलो १६ र भटमासको तेल प्रतिलिटर १८८ रुपैयाँमा बिक्री गरिने कर्पोरेसनका सहायक कार्यकारी अधिकृत पंकज जोशीले जानकारी दिए ।
बैठकमा छुट सुविधा प्रदान गरिने ग्राहकलाई उपलब्ध गराउने उपभोग्य सामग्रीको मासिक कोटा निर्धारण गर्ने, कोटा निर्धारण गर्दा ५ जनाको परिवारले १ महिनामा ३० केजी चामल, २ किलो पिठो, २ किलो चिनी, २ किलो नून, १ लिटर भटमासको तेल र १ सिलिण्डर खाना पकाउने ग्यास मात्र किन्न पाउने जोशीले जानकारी दिए । साल्ट ट्रेडिङबाट छुट मूल्यमा सामान किन्न नागरिकताको प्रतिलिपि र परिवारको सदस्यको नामसमेत पेश गर्नुपर्नेछ ।
काठमाडौं उपत्यकामा सर्वसाधारणले साल्ट ट्रेडिङको सतुंगल, कालीमाटी, कोटेश्वर, भक्तपुरबाट छुट मूल्यमा सामान पाउनेछन् । त्यस्तै काठमाडौंबाहिर बनेपा र धनगढीबाट खाद्य सामग्री छुट मूल्यमा बिक्री गर्ने साल्ट ट्रेडिङले जनाएको छ । खाना पकाउने ग्यास भने काठमाडौं उपत्यकामा मात्र बिक्री हुनेछ ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -