प्याब्सन केन्द्रीय सल्लाहकार एवं भक्तपुर शैक्षिक पर्यटनका सूत्रधार राजकुमार महर्जनको निधन

भक्तपुर । ‘अस्पतालमै छु आज मूड राम्रो छ पहिल्यै अपलोड गरिएको भिडियो प्रिमियर मात्र गरेको’ भनी बुधबार साँझ ६:२५ मा फेसबुकमा स्टाटस पोष्ट गरी कोभिड–१९ सँग जुधिरहनु भएका प्याब्सन केन्द्रीय सल्लाहकार एवं भक्तपुर शैक्षिक पर्यटनका सूत्रधार राजकुमार महर्जनको निधन भएको छ ।
पाँच दिनअघि मात्र चकचके बालकको उत्प्रेरणात्मक भिडियो कथा पोष्ट गर्नुभएका महर्जन मंगलबार दिउँसो ३ बजे बिएण्डबी अस्पतालमा निधन भएको हो ।
कोरोनापीडित महर्जनलाई प्लाज्मा थेरापीलगायतको उपचार आवश्यक थानी उपचारमा सहयोग गर्दै आउनुभएका भक्तपुर प्याब्सन वरिष्ठ उपाध्यक्ष तथा नवरत्न ईङ्गलिस स्कुलका प्रिन्सिपल सुरेन्द्र श्रेष्ठले उपचारको सबै विकल्प प्रयास गर्दा पनि बचाउन नसकेकोमा दु:ख व्यक्त गर्नुभयो ।
शिक्षाकर्मी महर्जनले ‘कोरोनाको छालमा डुबेर मर्ने कि पौडिने हिम्मत गर्ने ?’ कोरोनाको महामारीका कारण भएको पहिलो लकडाउनमा यही शिर्षकमा एउटा लेख लेखेर देशभरका शिक्षाकर्मीलाई कोरोना भाइरसलाई परास्त गर्दै शैक्षिक गतिविधिलाई अगाडि बढाउन हौसला प्रदान गरेका थिए ।
५२ वर्षीय महर्जन निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का वर्तमान केन्द्रीय प्राज्ञिक सल्लाहकार, क्वेष्ट नेपालका अध्यक्ष, प्याब्सनका पूर्वकेन्द्रीय उपाध्यक्ष, प्याब्सन भक्तपुरका पूर्वअध्यक्ष एवं सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित माउण्ट भ्यू इङ्लिस बोडिङ्ग स्कुलका संस्थापक प्रिन्सिपल हुन् ।
कोभिड–१९ को दोश्रो भेरियन्टको सङ्क्रमणका कारण गत बैशाख १२ गते उपचारका लागि बिएण्डबी अस्पतालमा भर्ना हुनु भएको थियो । कोरोना सङ्क्रमण भए पनि उपचारको क्रममा कोरोना निको भएको उहाँका दाजु श्याम महर्जनले जानकारी दिनुभयो । ‘कोरोना निको भइसकेको थियो, कोरोनाको रिपोर्ट नेगेटिभ आए पनि कोरोनाले फोक्सोमा पुर्याएको क्षति र मधुमेहका कारण भाइलाई बचाउने हरप्रयास असफल भयो,’ उहाँले भन्नुभयो । स्वर्गीय महर्जनको पत्नी र एक छोरा रहेका छन् । उहाँको आज नै परिवारले अन्तिम संस्कार गरेका छन् ।
२०२६ साल कात्तिक २ गते ललितपुरको चाँगाथलीमा जन्मनु भएका महर्जनले शिक्षाको विकासका लागि दुई दशक योगदान दिनु भएको छ । पत्रकारितामा समेत चासो राख्ने उहाँले लेखेका शिक्षासंग सम्बन्धित धेरै प्रेरणादायक लेखहरु बिभिन्न सञ्चार माध्यममा प्रकाशित छन् । बिभिन्न ठाउँमा शिक्षाको विकास र शिक्षासंग सम्बन्धित बिभिन्न विषयमा प्रशिक्षण दिदै आउनु भएका महर्जनले यूट्युव च्यानलमार्फत विद्यार्थी, अभिभावक र शिक्षाकर्मीका लागि दिने प्रेरणादायी अभिव्यक्तिहरुबाट उहाँ चर्चामा आउनु भएको थियो ।
भक्तपुरलाई उत्कृष्ठ शैक्षिक पर्यटनका सुत्रधार, शैक्षिक तथा सामाजिक अभियन्ता राजकुमार महर्जनको निधनले समग्र शिक्षाकर्मीलाई निकै मर्माहित बनाएको छ । विद्यालयबारेमा कुनै पनि निर्णय लिनु अगाडि अभिभावकसँग सधै सल्लाह र सुझाब लिएर अगाडि बढ्ने, शैक्षिक विकास र नयाँ संकल्पबारेमा चर्चा गरेर कहिल्य नथाक्ने, शैक्षिक क्षेत्रमा नयाँ योजनाको चर्चा गर्ने र हरेक क्षेत्रमा शिक्षाका बहसमा अब्बल रहँदै आएका महर्जन गुमाउँदाको पीडा उहाँसँग नजिक रहेर संगत गर्ने धेरैलाई अब खट्किने छ ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -