विद्यालयले एसईई मूल्यांकन नतिजा असार २० भित्र पठाउनुपर्ने

भक्तपुर । विद्यालय शिक्षा परीक्षा (एसईई) को मूल्यांकन नतिजा असार २० गतेसम्म विद्यालयहरुले सम्बन्धित जिल्लाको शिक्षा विकास समन्वय इकाइमा पठाउनुपर्नेछ ।

राष्ट्रिय परीक्षा बोर्डले ‘कक्षा १० को विद्यार्थी मूल्यांकन कार्यविधि, २०७८’ तयार गरी विद्यालयले विद्यार्थीको मूल्यांकन जिल्लाको शिक्षा विकास समन्वय इकाइमा पठाउनुपर्ने र उसले असारभित्र राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्ने नियम बनाएको हो ।

यस वर्ष पनि भौतिक रुपमा एसईई परीक्षा सञ्चालन हुन नसक्ने भएपछि बोर्डले विद्यालयहरुको मूल्यांकनकै आधारमा नतिजा सार्वजनिक गर्ने निणर्य गरेको थियो ।

विद्यार्थीको मूल्यांकनको मुख्य अधिकार विषय शिक्षकलाई दिइको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बताए । ‘विषय शिक्षकलाई विद्यार्थीको क्षमता बढी थाहा हुने भएकोले विषय शिक्षकलाई मुख्य अधिकार दिएका हौं,’ उनले भने । नयाँ कार्यविधि सोमबार सार्वजनिक गर्ने उनले बताए ।

विद्यालयले अंग्रेजी, गणित, विज्ञान विषयका शिक्षक, प्रधानाध्यापक र एक जना वरिष्ठ शिक्षक समावेश गरी ५ सदस्यीय मूल्यांकन समिति बनाउनुपर्नेछ । मूल्यांकन समितिले उक्त मूल्यांकन कार्यविधिले तोकेअनुसार भएको/नभएको रुजु गरी प्रमाणित गर्नेछ । त्यसपछि मूल्यांकन नतिजाको हार्डकपी, सफ्टकपी असार २० गतेभित्र शिक्षा विकास समन्वय इकाइलाई बुझाउनेछ ।

विषय शिक्षकले विद्यार्थीलाई निर्माणात्मक २० प्रतिशत (विद्यार्थीको हाजिरी, प्रस्तुतिलगायत), निणर्यात्मक ५५ प्रतिशत (विद्यालयले लिएको त्रैमासिक परीक्षाको मूल्यांकन) र प्रयोगात्मक २५ प्रतिशत अंक दिन सक्ने कार्यविधिमा व्यवस्था गरिएको छ । प्रयोगात्मक नभएका विषयहरुमा निर्माणात्मक २५ प्रतिशत र निणर्यात्मक ७५ प्रतिशत मूल्यांकन आधार तोकिएको छ । विषय शिक्षकले नयाँ कार्यविधिले तोकेअनुसार मूल्यांकन गरी विद्यालयको मूल्यांकन समितिमा पेश गर्नुपर्नेछ ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -