मध्यपुर-थिमिका प्रमुख श्रेष्ठलाई मातृभाषाप्रेमीहरूको ध्यानाकर्षण पत्र

भक्तपुर । नेपालभाषा संरक्षण अभियान, मध्यपुरले मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलाई स्थानीय पाठ्यक्रममा नेपालभाषा विषय अनिवार्य गराउने सम्बन्धमा सोमबार ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।

विद्यालयस्तरमा स्थानीय मातृभाषा (नेपालभाषा) को विषय अनिवार्य अध्यापन गराउनुपर्ने मागसहित नगरक्षेत्रका भाषाप्रेमी तथा शिक्षासेवीहरुले ध्यानाकर्षण पत्र बुझाएको हो ।

पत्रमा मध्यपुर थिमि नगरपालिकाले स्थानीय संस्थागत र सामुदायिक विद्यालयस्तरीय पाठ्यक्रम बनाएर विगत दुई वर्ष अघिदेखि लागू गरेको प्रशंसनीय छ । यसलाई मध्यपुर थिमि नगरपालिकाले शिक्षा क्षेत्रमा हासिल गरेको उपलब्धिको रुपमा लिएका छौं । त्यसको लागि तपाईंलगायत पाठ्यक्रम निर्माण समितिका संयोजक रामकृष्ण दुवाल, सदस्यहरु सूर्य भण्डारी तथा चरणकेशरी श्रेष्ठ धन्यवादका पात्र हुनुहुन्छ उल्लेख छ । पाठ्यक्रम बनाउन गरिएको सुझाव संकलनदेखि आवश्यक तयारीको लागि भूमिका निर्वाह गर्ने सम्पूर्ण महानुभावहरुलाई पत्रमा धन्यवाद दिएका छन् ।

मध्यपुर थिमि नगरपालिकाको नारा ‘हाम्रो कला हाम्रो संस्कृति, मध्यपुर थिमि हाम्रो सम्पत्ति’ हो । त्यसैले कला, संस्कृतिरुपी मध्यपुरको सम्पत्तिको आधार अर्थात् स्थानीय मातृभाषा (नेपालभाषा) संरक्षण गर्नका लागि नगरपालिकास्तरले ध्यान दिनुका साथै त्यसको लागि संस्थागत र सामुदायिक विद्यालयस्तरमा नेपालभाषा अनिवार्य गरिदिन अनुरोध गरेको पत्रमा उल्लेख छ ।

विगत दुई वर्षदेखि विभिन्न निकायमा पुगेर ध्यानाकर्षण गराए पनि माग सुनुवाइ नभएपछि शिक्षा समितिका पदेन अध्यक्ष तथा नगरप्रमुख श्रेष्ठलाई लिखित ध्यानाकर्षण पत्र बुझाएको अभियानका संयोजक कृष्णकाजी मानन्धरले बताए ।

कार्यक्रममा नगरप्रमुख श्रेष्ठले आगामी असार ७ गतेदेखि सुरु हुने नगर परिषद्को बैठकमा प्रस्तावको रुपमा पेश गर्ने, अहिलेको लागि नीति तथा कार्यक्रममा उल्लेख गरेर बजेट विनियोजन गराउने र निकट भविष्यमा आवश्यक कार्यदल बनाएर स्थानीय मातृभाषा (राष्ट्र भाषा) लाई कार्यान्वयन गराउनेतर्फ आफू अग्रसर रहेको बताए ।
पाठ्यक्रम घोषणा मात्र गरेर नपुग्ने बरु त्यसको लागि आवश्यक तयारी गरेर अगाडि बढ्ने, नगरभित्रका संस्थागत र सामुदायिक विद्यालयको लागि दुई वर्षअघि नै आधारभूत तहको स्थानीय पाठ्यक्रम बनाएको भए पनि पूर्ण रुपमा कार्यान्वयन गराउनमा कठिन भइरहेको पनि नगरप्रमुख श्रेष्ठले बताए ।

कार्यक्रममा विद्यार्थी कम भएका विद्यालयहरुलाई गाभ्ने, शिक्षक नियुक्तिलगायतका योजनासमेत कार्यान्वयनमा समस्या भए तापनि शैक्षिक योजना बनाएर अनिवार्य नेपालभाषा अध्यापन गराउनको लागि पहल गर्ने पनि नगरप्रमुख श्रेष्ठले बताए । उक्त अवसरमा नेपालभाषा संरक्षण अभियानका संयोजक मानन्धर, सदस्यहरु नविन प्रकाश श्रेष्ठ, ईश्वरलाल श्रेष्ठ, सुरेन्द्र किलंनः श्रेष्ठ, ओमकृष्ण श्रेष्ठ र जीवन पति श्रेष्ठको सहभागिता रहेको थियो ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -