मेलम्चीमा बाढीको वितण्डा

काठमाडौं । लगातारको वर्षापछि सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीपहिरोले ठूलो क्षति भएको छ । पहिरो झरेर मेलम्ची नदी थुनिएर खुलेपछि लेदोसहित आएको बाढीका कारण मेलम्चीका अधिकांश घर डुबानमा छन् । पानी अहिले पनि निरन्तर परिरहेकोले नदीको बहाब घटेको छैन । नदीमा रहेका पुल, सुरक्षाफौजको पोष्ट पनि बगाएको छ । बाढीका कारण घरमा फसेकाहरुको हेलिकप्टरमार्फत् उद्धार पनि गरिएको छ ।

मंगलबार राती आएको बाढीमा ७ जना बेपत्ता भएका छन् भने एक जनाको शव फेला परेको छ । बाढीले मेलम्ची खानेपानी ड्याम, चनौटे बजार, तिम्बु बजार, मेलम्ची बजार र तालामाराङ बजारमा ठूलो क्षति पुर्‍याएको स्थानीयले बताए ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी प्रकाश सापकोटाले मंगलबारदेखि बेपत्ता भएकाहरु फेला नपरेको बताएका छन् । उनका अनुसार एउटा शव फेला परे पनि त्यसको सनाखत हुन सकेको छैन ।

बाढीमा हराउनेमा हेलम्बु-२ का माधव भण्डारी, गणेश ज्योति, हेलम्बु-३ का टीकामाया खड्का, हेलम्बु-७ का ज्ञानेन्द्र कक्षपति, चौतारा साँचोकगढी नगरपालिकाका समुन्द्र नेपाल र हेलम्बु-६ का च्याङ्बा तामाङ छन् । बुधबार बिहान भने सिन्धुपाल्चोक प्रहरीले ७ जनाको शव भेटिएको र छजनाको सनाखत भएको बताएको थियो । जिल्ला प्रहरीका अनुसार अहिलेसम्म दुई पक्की मोटरबेलसहित आधा दर्जन झोलुंगे पुल र घर बगेको विवरण छ । इन्द्रावती र मेलम्ची जोड्ने मोटरेबल पुल बगेको डीएसपी सापकोटाले बताए ।

हेलम्बुबाटै उर्लिंदै आएको मेलम्चीले आठवटा ट्राउट माछा फर्म, नाकोते पुल, तिम्बु, चनौटे बजार, खेतीयोग्य जमिन, आमाह्योल्मो बसपार्क, सिटी पार्क बगाएको उनले जानकारी दिए । बाढीपहिरोले मेलम्चीको आयोजनाको सुरुङमा क्षति पुगे-नपुगेको भने एकिन भएको छैन ।


जल तथा मौसम विज्ञान विभागले सिन्धुपाल्चोकको जलबिरेस्थित बलेफी खोला जलमापन केन्द्रमा अकस्मात जलसतह बढेर खतराको तह पार गरेकाले तटीय क्षेत्रहरूमा अर्को सूचना जारी नभएसम्मका लागि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले बाढीपहिरोमा हराएकाको खोजी तथा उद्धारको काम जारी रहेको जनाएको छ ।

यसैबीच बाढीले मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स नजिकैको क्याम्प साइट बगाउँदा ६ विदेशीसहित आठ जना कामदार सम्पर्कविहीन भएका छन् । जसमा तीन जना चिनियाँ, तीन जना भारतीय र दुई जना नेपाली कामदार रहेका छन् । सम्पर्कविहीन कामदारको नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र स्थानीय बासिन्दा खोजीमा लागेका छन् ।

तस्बिरहरू : सामाजिक सञ्जालबाट
ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -