बाँची मरेझैँ कति शोक किन्छौ

पैसा भएमा सब थोक किन्छौ
माया र निन्द्रा कति भोक किन्छौ ।
ईष्र्या र तृष्णाबिच छट्पटाई
बाँची मरेझैँ कति शोक किन्छौ ।।१।।

आफन्तमै श्वान भएर लड्छौ
एकै नलीहाड लुछेर बढ्छौ ।
आस्था चुँडाली वन–सभ्यतामा
लडेर आफ्नै शिरमाथि चढ्छौ ।।२।।

घमण्डका कान दुई समाई
लुटेर खान्छौ परको कमाइ ।
निर्लज्ज भै जीवन बित्छ व्यर्थ
के सक्तछौ बस्न यसै रमाई ।।३।।

पानी–पँधेरा अनि कन्दरामा
हाँसो र ठट्टा नभ या धरामा ।
छाया जुनेली मनको बिहानी
ओर्लन्छ कान्ला र गरा गरामा ।।४।।

रहन्न हाम्रो तन नित्य नित्य
रित्तिन्छ हाम्रो धन झन् अनित्य ।
अनित्यमा नित्य म खोज्न जाऊँ
छ देवसायुज्य सदैव नित्य ।।५।।

संज्ञा भए चिन्दछ शुद्धबुद्ध
संज्ञाविना बन्दछ त्यो अशुद्ध ।
आत्मा चिनेको जब आत्म हुन्छ
कहिन्छ त्यो आत्म सधैँ प्रबुद्ध ।।६।।

जो दिन्छमात्रै कहिल्यै लिँदैन
र लिन्छमात्रै कहिल्यै दिँदैन ।
दिने महामानवमा गनिन्छ
स्वार्थन्धले अमृत पाइँदैन ।।७।।

सानो छ टुक्रा मुटु ढुक्ढुकीमा
सानो छ रे लेचन छुक्छुकीमा ।
छ सूक्ष्मताभित्र विशाल शक्ति
अडिन्छ रे जीवन धुक्धुकीमा ।।८।।

सन्देहले देह पलाउँदैन
पानी तताएर जलाउँदैन ।
अयोग्यताभित्र कहाँ छ शक्ति
मुर्दा कसै हात चलाउँदैन ।।९।।

प्यारी भनी गर्दछ अङ्कमाल
संसारको सार त्यही कमाल ।
परन्तु त्याग्छे जब प्राण प्यारी
दृश्यान्तमा बन्दछ त्यो कराल ।।१०।।

सिर्जनाकुञ्ज, बालकोट, भक्तपुर

जीवनाथ अधिकारी
+ posts

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -