पीडा व्याप्त

नविन प्रकाश श्रेष्ठ

आगाले जति पोल्दो छ माटाले पनि पोल्दछ ।
तातो पानी अझै पोल्छ पीडाले अझ पोल्दछ ।।१।।

पीडा जङ्गलको कैले, कैले भिर पहाडको ।
बेँसीको र तराईको, खाँद खोला कछाडको ।।२।।

हावाको बेग, झञ्झा औ बिजुली मेघ गर्जन ।
भेल, बाढी, हुरीवर्षा, वज्रको मार बज्रन ।।३।।

असिना, हिमको वर्षा चिसो ठिही तुषारको ।
पीडाले अति सन्तप्त गर्मी ग्रीष्म असारको ।।४।।

पीडा सहरमा बस्ता, गाउँ बस्ती र टोलमा ।
मोलमा छ पीडा बग्दो, पीडा बग्दो अमोलमा ।।५।।

पाइँदैन भने—कष्ट, पाइयो अझ कष्ट छ ।
पायो—पाएन दोटैमा जिन्दगी अलमस्त छ ।।६।।

भोकले पेटका भित्ता छुत्ती खेलेर कष्ट छ ।
अपच कतिका निम्ति बाँँच्न झन अझ कष्ट छ ।।७।।

खान छैन—पीडा धेरै, पीडा—खाएर झन अति ।
खायो—खाएन दोटैमा जिन्दगीको भयो खती ।।८।।

उठ्यो कष्ट, बस्यो कष्ट कुँजाको शयनैसरी ।
हेर्यो–लोभ, नहेरेमा अँध्यारो नयनैभरि ।।९।।

गर्यो दुःख, नगर्दैमा अझ दुःख बढोत्तरी ।
हुँदा र नहुँदा दुःख, सुख छैन कसै गरी ।।१०।।

छैन सम्पत्ति चिन्ता छ— आर्जनु कसरी भनी ।
सम्पत्ति छ— अहो चिन्ता ! खर्चनु कसरी भनी ।।११।।

थोरैले नपुगे चिन्ता धेरले त्रास थप्तछ ।
हुनु वा नहुनुभित्र पीडा–दुःख समान छ ।।१२।।

नहुँदा तनमा चिन्ता, हुँदा मष्तिष्क चिन्तित ।
मान्छेको मन हो— चिन्ता, चिन्तैले अझ चिन्तित ।।१३।।

बिते हजार–हज्जारौँ वर्ष चिन्तित मान्छेका ।
अझै भावी पिँढी बित्छन् चिन्ताले ग्रस्त मान्छेका ।।१४।।

तैपनि नगरी काम ढुक्कै भैकन मानिस ।
यता काम उता काम घिस्री पिल्सिन्छ मानिस ।।१५।।

कुनै दिन सबै छाडी तन, निस्किन्छ बाहिर ।
भित्रको जुन हो मान्छे, खाली पारेर जर्जर ।।१६।।

त्यो गयो अन्तरिक्षैमा वा वायुमा विलीन भो ।
बाँच्नेको मन भो खिन्न, अनुहार मलीन भो ।।१७।।

भो छोड्द्यौ अब यो चिन्ता, पीडा ह्वाह्र्वार खुल्दछ ।
जे छ जस्तो छ जत्रो छ त्यत्तिमै सुख फुल्दछ ।।१८।।

(अविदित यात्रामा प्रकाशित)

जीवनाथ अधिकारी
+ posts

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -