भानुप्रति

हरिया डाँडा वन र पाखा हिमाल हाँसेको

झरनासित मितेरी लाई पिरती गाँसेको ।

नेपाली छाया समाई तिमी भाषामा रमायौ

सिर्जना नौलो रचेर भानु प्रख्याति कमायौ ।।

हाँसो र ठट्टा साथमा लिई व्यङ्ग्यले हानेर

रसिलो पाना काव्यको छाना सर्लक्क छानेर ।

नेपाली भाषा सुकिलो पारी जगमा फिँजायौ

नेपाली माटो पसिनासिता पोखेर भिजायौ ।।

भक्तिको भाव नेपाली मुटु राम र सीताको

दर्साई श्रद्धा महिमा गायौ त्यो रामगीताको ।

तिमीले मन छोएर हेर्‍यौ नेपाली सपना

फुलाई दाना पारेर पुष्ट भाषाको कपना ।।

इनार तिम्रो प्रेरणास्रोत  रामायण गन्तव्य

जोडेको ज्ञान  विज्ञानसित छ तिम्रो मन्तव्य ।

सगरमाथा अग्लिएजस्तो नेपाली भाषामा

उचाइ तला थपेर छाड्यौ बनाई खासामा ।।

मस्तिष्कभित्र बसेको बुद्धि, मुटुमा बस्ने मन

ललितकला सिर्जनाभित्र फलेको मृदु धन ।

गोभूलि भाका तिमीले भर्‍यौ घामका  किरण

बादलभित्र आकार लेख्यौ खुलाई चरण ।।

बालाजु रङ्ग भरेर  नौलो कविता गानमा

चपला  सबै खुलेको कथा सविता शानमा ।

चप्लेटीमाथि बसेर पनि शब्दका बनिका

उनेर माला लगाइदियौ भाषाकी वनिका ।।

श्रद्धाले नत मस्तक हुन्छ गुणको भरिलो

फिलिङ्गो पारी नेपाली भाषा–भावको झरिलो ।

म पनि तिम्रो समातूँ पद भाषाको भक्तिको

रमाऊँ सधैँ  गरेर सेवा सिर्जना शक्तिको ।।

(२०८ औँ भानुजयन्तीका अवसरमा आदर्श माध्यमिक विद्यालय, लाय्कु, ठिमी, भक्तपुरबाट आयोजना गरिएको कविताप्रतियोगितामा कक्षा ११ १२ समूहको तर्फबाट प्रथम स्थान हासिल गरी पुरस्कृत भएको कविता)

सुषमा तिमल्सिना, कक्षा १२
+ posts

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -