नेपाली संस्कृतिमा साउने सङ्क्रान्ति र साउन महिना

नेपाली समाज सांस्कृतिक दृष्टिले अत्यन्त धनी र उर्वर मानिन्छ । संस्कृतिका विभिन्न पक्षहरूले नछोएको कुनै ऋतु र महिना हुँदैन नेपाली समाजमा । यसरी विश्वमै अत्यन्त सांस्कृतिक विविधता भएको मुलुकमा नेपाल अग्रस्थानमा रहेको छ । भौगोलिक तथा प्राकृतिक रूपमा त हामी अत्यन्त सम्पन्न छँदै छौँ, संस्कृतिले पनि भरिपूर्ण छौँ नै । धेरै चाडपर्व हाम्रा संस्कृतिसँग जोडिएर आउने गर्दछन् । समय विकासका क्रममा उत्पत्ति भएका यस्ता सांस्कृति चाडपर्वले आफूलाई समयानुकूल परिमार्जन र परिष्कार गर्दै लगेको देखिन्छ । यस अर्थमा हाम्रा यी चाडपर्वमा लचकता रहेको देखिन्छ । परम्परागत रूपमा चलिआएका यस्ता चाडपर्वले हाम्रा पूर्वजको सोच, खोज, अनुसन्धान र प्रवृत्तिको पनि सङ्केत गर्दछ ।
हाम्रा प्रत्येक महिनाको सुरुवातको पहिलो दिनलाई सङ्क्रान्ति भनिन्छ । सूर्य एक राशिबाट अर्को राशिमा प्रवेश हुने समयलाई सङ्क्रान्ति भनिन्छ । बाह्रवटा सङ्क्रान्तिमध्ये नेपाली समाजमा साउने सङ्क्रान्ति र माघे सङ्क्रान्ति विशेष महत्त्वका रहेका छन् । साउने सङ्क्रान्तिका दिन सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने हुँदा यस सङ्क्रान्तिलाई कर्कट सङ्क्रान्ति पनि भनिन्छ । यही दिनदेखि सूर्य कर्कट रेखाबाट ओरालो (दक्षिणतिर) लाग्ने भएकाले दक्षिणायनको आरम्भ हुन्छ । नेपाली संस्कृति, विशेषत: हिन्दु संस्कृतिमा साउने सङ्क्रानित र साउन महिनाको खास महत्त्व रहेको छ । साउन महिना शिवजीसँग सम्बन्धित महिना मानिएकाले यो महिनाभरि नै शिवसँग सम्बन्धित विभिन्न धार्मिक गतिविधिहरू सञ्चालन भइ नै रहन्छन् । खासगरी साउने सोमबार त शिवमन्दिरहरूमा पूजा गर्ने भक्तहरूको थामिनसक्नु घुइँचो नै लाग्दछ । हरियो पहिरन र चुरामा सजिएर महिनाभरि नै पूजाआजामा सरिक हुनु नेपाली नारी र साउनसँग जोडिएको विशेष अवस्था हो । गृष्मको प्रचण्ड गर्मीको शमन आरम्भ भई वर्षा ऋतुको सुरुआत पनि साउने सङ्क्रान्तिदेखि नै हुने भएकाले गृष्मको ताप, धुलोमैलो र रोगव्याधिको प्रकोपमा न्यूनता आउने भएकाले पनि साउनको आरम्भको अर्को महत्ता देखिन्छ । साउनको आरम्भ सँगसँगै अधिकांश नेपाली चाडपर्व पनि सुरु हुन्छन् । यो दक्षिणायनको अवधिभित्र नागपञ्चमी, ऋषितर्पणी, कुसेऔँसी, तिज, गौरापर्व, सोह्रश्राद्ध, दशैँ, तिहार, छठजस्ता चाडपर्वको आगमन पनि साउनबाटै सुरु हुन्छ । जाडो मौसमको सुरु पनि यसै महिनादेखि हुने मानिने भएकाले जाडो याममा रोगव्याधको आक्रमणमा शिथिलता समेत आउने हुँदा साउने सङ्क्रान्ति मनाउँदा अब बाँचिन्छ भन्ने नेपाली परम्परा नै छ । खेतिपातीमा चटारोलाई समाप्त गरेपछि साउनदेखि काममा पनि हलुका हुने हुँदा अनेकौँ चाडपर्व मनाउँदै थकाइ मार्ने, मनोरञ्जन लिने तयार हुँदै गरेको बालीलाई अझ पुष्ट पारी भित्र्याने प्रक्रिया पनि सुरु हुनै लागेको अवस्था क्रमश: आउने हुनाले साउनको अर्को महत्त्व देखिन्छ । अत: धार्मिक, सामाजिक तथा कृषिकार्यका कारणले पनि साउनलाई हामी नेपाली समाजको अत्यन्त उपयोगी महिनाका रूपमा लिन सक्छौँ ।
यति महत्त्वपूर्ण साउन महिनाको आरम्भ हुने दिन साउने सङ्क्रान्ति । यो साउने सङ्क्रान्ति पनि नेपाली समाजमा विशेष पर्वका रूपमा परापूर्वदेखि स्थापित भएको देखिन्छ । यो दिन नेपाली समाजले विशेष दिनका रूपमा मनाउने गर्दछन् । अझ यस दिनलाई लुतो फाल्ने दिन भनेर नेपाली समाजले चिन्ने गरेको छ । चाडबाडमा मिठोमसिनो खाने नेपाली चलनै हो । यस दिन पनि गच्छेअनुसारको चाडबाडी खान्की खाने गरिन्छ नै । मांसाहारीहरूले मासुका परिकारसहितको भोजनको तयारी गरेका हुन्छन् । तर पछिल्लो समयामा आएर साउनलाई सात्विक महिनाका रूपमा लिने प्रचलन बढ्दै गएकाले साउनभरि मांसाहार वर्जित जस्तै हुँदै गएको देखिन्छ । मांसाहारबाहेक अन्य सात्विक परिकारको व्यवस्था घरघरमा तयार गरिन्छ भने अब बाँचिन्छ भन्ने आसयका साथ हँसीखुसी भएर पारिवारिक मिलनसहित भेटघाट, खानपान र रमाइलो गर्ने चलन रहेको छ यस दिन ।
साउने सङ्क्रान्तिलाई लुतो फाल्ने दिनका रूपमा पनि लिइन्छ । बिस्तारै गर्मी यामको अन्त हुँदै जाने भएकाले अहिलेसम्मका सम्पूर्ण रोगव्याधिलाई यस दिन विसर्जन गर्ने नेपाली परम्परा देखिन्छ । यस दिन साँझमा लुतो फ्याँकेर रोगव्याधिमुक्त हुने कार्य गरिन्छ । कण्डारक नामको राक्षसको पूजा गर्दा लुतो, दाद, खटिराजस्ता छालाजन्य रोगको निर्मूलन हुने मान्यताअनुसार नासपाती, कागती, अम्बा, निबुवा, अनारजस्ता फलफूल चढाई कण्डारकको पूजा गरिन्छ । साँझमा औषधीजन्य वनस्पतिका रूपमा चिनिने कुकुरडाइनो, कागभलायो, कुरिलो, गलेनी, सिस्नो, पानीसरो, देवीसरो, सुरेनीजस्ता बोटविरुवालाई आँगनमा बालेर सबैले आगो ताप्ने चलन छ । यसबाट निस्कने धुवाँले रोगव्याधका सङ्क्रमण हट्न सक्ने दृष्टिकोणले यो चलन चलेको देखिन्छ । त्यसपछि त्यहाँ बालिएका अगुल्टा चारैतिर फाल्दै “लुतो लैजा है !” भन्ने गरिन्छ । यस प्रक्रियालाई नै लुतो फाल्ने भनिन्छ । यसरी अगुल्टा फ्याँक्तै लुतो फाल्दा नाङ्लो ठटाउने,शङ्खघण्ट बजाउने, ढिकी कुट्ने तथा केही बेर ढोका थुनेर बस्ने चलन छ ।
यसरी यो पर्व चाडका रूपमा मनाउँदा पनि यसको सामाजिक मूल्यलाई समेटिएको देखिन्छ । कतिपय कुरा धार्मिक परम्परासँग जोडिएको देखिए पनि त्यसले सामाजिक–व्यवहारिक विषयलाई नै अधिकांशत: अङ्गीकार गरेको छ । अस्तु !
सिर्जनाकुञ्ज, बालकोट, भक्तपुर

जीवनाथ अधिकारी
+ posts

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -