पूर्वाधार विकास साझेदारीमा मध्यपुर थिमिमा १० योजना सम्पन्न

भक्तपुर । आर्थिक वर्ष २०७७/०७८ मा बागमति प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत मध्यपुर थिमि नगरपालिकाभित्र १० वटा आयोजना सम्पन्न भएका छन् । सार्वजनिक शौचालय, अस्पताल भवन, पाटी, अति विपन्न आवास निर्माण, बाटो सुधार र खानेपानी तथा ढल विस्तारलगायतका आयोजना सम्पन्न भएका छन् ।
भक्तपुर क्षेत्र नं. २ का प्रदेश सभा सदस्य डा. राजेन्द्रमान श्रेष्ठको पहलमा सम्पन्न भएका ती आयोजनामा मगरगाउँ शिक्षा विभागतिर खानेपानी लाईन पाइप विस्तार, नमूना फुलबारी मार्ग सुधार, नारायण विलास जोशी स्मृति प्रतिष्ठान भवन, नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल प्रशासकीय भवन रहेका छन ।
त्यसैगरी भुलाङखेल कलात्मक कुटु फल्चा पुनःनिर्माण, अति विपन्न आवास निर्माणअन्तर्गत ४ वटा घर, नीलबाराही सार्वजनिक शौचालय पुनःनिर्माण, बोडे थिमिलाँ कलात्मक फल्चा पुनःनिर्माण, हाडोल–कुण्डोलबाट गाखु जोड्ने बाटो सुधार र गट्ठाघर अरनिको बस्तीमा ढलान, ढल निकास, टेवा पर्खाल निर्माण योजना प्रदेश पूर्वाधार विकास साझेदारीमा सम्पन्न भएको प्रदेश सभा सदस्य डा. श्रेष्ठले बताए ।
नगरको वडा नं. २ को मगरगाउँमा गरिएको खानेपानी पाइप लाइन विस्तारले ५० घर लाभान्वित भएको उपभोक्ता समितिका अध्यक्ष राजेन्द्रबहादुर खड्काले बताए । करिब ५ सय मिटर लामो उक्त पाइप लाइन विस्तारका लागि १२ लाख ५१ हजार ८३ रुपैयाँ खर्च भएकोमा स्थानीय उपभोक्ताबाट २ लाख ५० हजार २ सय १७ रुपैयाँ राखेको अध्यक्ष खड्काले जानकारी दिए ।
१७ लाख ९८ हजार ५ सय ५० रुपैयाँ खर्चमा भुलाँखेल कलात्मक कुटु फल्चा पुनःनिर्माण भएको उपभोक्ता समितिका अध्यक्ष श्यामचन्द्र श्रेष्ठले बताए । पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत नै मध्यपुर थिमिमा अति विपन्न ४ परिवारलाई आवास निर्माण गरिदिएको छ । प्रदेश सरकारको करिब २० लाख सहयोगमा मध्यपुर थिमि वडा नं. ४ मा २ वटा, ७ र ८ मा १/१ वटा एकतल्ले आवास निर्माण गरिदिएको उपभोक्ता समितिका अध्यक्ष नविनप्रकाश श्रेष्ठले बताए ।
करिब ४ सय वर्ष पुरानो बोडे थिमिलाँ कलात्मक फल्चा निर्माणमा १७ लाख ९७ हजार ३ सय ९३ रुपैयाँ खर्च भएको उपभोक्ता समितिका अध्यक्ष द्रव्यलाल जयना श्रेष्ठले बताए ।
गट्ठाघर अरनिको बस्तीमा ढलान, ढल निकास, टेवा पर्खालका लागि २० लाख, हाडोल–कुण्डोलबाट गाखु जोड्ने बाटो सुधारका लागि २० लाख, नारायण विलास जोशी स्मृति प्रतिष्ठान भवनका लागि ९१ लाख, नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल प्रशासकीय भवनका लागि ५० लाख, नीलबाराही सार्वजनिक शौचालयका लागि ३० लाख विनियोजन गरेको प्रदेश सभा सदस्य डा. श्रेष्ठले जानकारी दिए ।
प्रदेश सभा सदस्य डा. श्रेष्ठको नेतृत्व र जिल्ला समन्वय समितिका सदस्य उमेश श्रेष्ठको अगुवाईमा शनिबार कार्य प्रगतिको अनुगमन गरिएको थियो । अनुगमनमा जिससका सदस्यहरु, सञ्चारकर्मी र स्थानीय उपभोक्ताहरुको सहभागिता रहेको थियो ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -