नवदुर्गा नाचको महिला पूजारी (नकीं) विवादमा

भक्तपुर । भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचको महिला पूजारी (नकीं) छनोटमा अलमल भएको छ । सबैको सहमतिमा हरेक वर्ष एक जना मात्रै महिला पूजारी छनोट हुनुपर्नेमा यस वर्ष दुई जनाको दाबी आएपछि अन्योल भएको हो ।

महिला पूजारीले नवदुर्गाको नित्य पूजा र आरती गर्ने गर्छिन् । एक वर्ष नवदुर्गा द्योछेँमै पूजाअर्चना गर्ने नियम रहेको छ ।

नवदुर्गा नाचमा भलभल अष्टमीको भोलिपल्टदेखि नै नयाँ देवगणहरु छनोट गर्नुपर्ने हुन्छ । वर्षभरि नाच्ने नयाँ देवगणमा को-को कुन देवता बन्ने भन्ने छुट्याइन्छ । यस वर्ष देवता बनेकाले अर्को वर्ष देवता बन्नेलाई सबै सरसामान जिम्मा लगाउनु पर्दछ ।

नवदुर्गा गण जात्रा तथा मन्दिर व्यवस्थापन समितिका सदस्य तथा नाइकेका छोरा बालकृष्ण बनमालाले बनमाला जातिले मात्र थाहा दिई देवता छनोट हुने प्रक्रिया हुने गरेकोमा यस वर्ष यस्तो हुन नपाएको बताए । ‘मन्दिरभित्र विभिन्न समितिहरु छन्, यस्तो विवादित विषयमा ती समितिले समस्या सुल्झाउन पहल गर्नुपर्नेमा कुनै पहल नगरेको यस किसिमको विवाद आइरहेको छ,’ उनले भने ।

महिला पूजारीका लागि दाबी गर्ने दुबै पक्ष र नवदुर्गाका सदस्यहरु बसेर मिलाउनुपर्ने विषयलाई पुरातत्व विभागमा मुद्दा हालेर नवदुर्गा नाचको नै अपमान गरेको उनले बताए ।

‘महिला पूजारी बनेपछि धेरै पैसा कमाउने होला, त्यही भएर यस्तो विवाद भएको होला भन्ने नकारात्मक सूचना प्रवाह हुन्छ, यो विवादले देवता भनेको पैसाका लागि लड्ने रहेछ,’ उनले भने- ‘महिला पूजारीले पाउने भनेको नवदुर्गामा चढाएको दक्षिणा मात्र हो, यसमा मुद्दा गरिराख्नु पर्ने आवश्यकता नै रहँदैन ।’

यस्तो विवादले पूरै बनमाला तथा भक्तपुरवासीलाई अप्ठ्यारोमा पारेको र समितिका विशेष पद पाएकाले आफ्नो जिम्मेवारी नलिएको र आफ्ना स्वार्थका लागि मात्र प्रयोग भएको उनले बताए । सहमतिमा कुरा नमिले अदालतको फैसलाअनुसार नै महिला पूजारी बनाउने निष्कर्षमा पुगेको पनि उनले बताए ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -