‘तिमी मेरी हुन सकिनौ’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । गीतकार नरेश प्रधानको शब्द रचना, गायक रामकृष्ण ढकालको स्वर तथा संगीतकार दिपक शर्माको संगीत सिर्जना रहेको ‘तिमी मेरी हुन सकिनौ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । काठमाडौंको बालाजुस्थित एनएफडीसीमा गत मंगलबार आयोजित कार्यक्रममा उक्त म्युजिक भिडियोसँग सम्बन्धित कलाकार एवं संगीतकर्मीहरुको उपस्थितिमा भिडियो सार्वजनिक गरिएको हो ।

कार्यक्रममा गायिका बुनु श्रेष्ठको स्वरको पनि उक्त म्युजिक भिडियो सार्वनिक गरेको थियो । आयोजकका अनुसार यो म्युजिक भिडियो गायक ढकाल र गायिका श्रेष्ठको स्वरबद्ध द्वैध पनि रहेको छ । रिदम कँडेलको संगीत संयोजन रहेको उक्त गीतलाई साउण्ड इन्जिनियर महेश्वरमान राजभण्डारीले ध्वनी मुद्रण तथा मिश्रण गरेका हुन् भने गीतलाई फुर्बा पाख्र्रिन तामाङले रेकर्डिङ गरेका हुन् ।

केही समयदेखि सामाजिक जनचेतनाका गीतहरु रचना गर्दै आएका गीतकार नरेश प्रधानले यस गीतमार्फत् माया प्रेमका गीत रचनामा समेत आफू अब्बल रहेको प्रमाणित गर्ने प्रयास गरेका छन् ।

मनोज राजभण्डारीको निर्देशन रहेको उक्त वियोगान्त प्रेम कथामा आधारित म्युजिक भिडियोमा मोडल निराजन प्रधान र करुणा श्रेष्ठको अभिनय हेर्न सकिन्छ । भिडियोमा दिपेन बस्नेत र सास्वत श्रेष्ठको छायाँकन तथा मेरोन राजभण्डारीको कथा एवं सम्पादन रहेको छ । एनएफडीसीको पोष्ट प्रोडक्सन रहेको म्युजिक भिडियोमा किमत गौतमले प्राविधिक निर्देशन, श्रीकृष्ण श्रेष्ठले भीएफएक्स र मित्र डी. गुरुङले कलर करेक्सन गरेका हुन् भने भिडियोमा रहेको ड्रोन शटलाई टार्जन लिम्बुले खिचेका हुन् ।

मेल, फिमेल र डुएट गरी ३ संस्करणमा सार्वजनिक हुने भनिएको उक्त गीतको मेल भर्सनको म्युजिक भिडियोलाई सोही दिन स्टुडियो साउण्ड मिलले आफ्नो अफिसियल युट्यूब च्यानलमा समेत सार्वजनिक गरेको थियो भने युट्यूबमा गायिका बुनु श्रेष्ठको स्वरमा रहेको फिमेल भर्सनलाई करिब १ महिनापश्चात् र डुएट भर्सनलाई केही समयको अन्तरालमा सार्वजनिक गर्ने स्टुडियो साउण्ड मिलले जनाएको छ ।

कार्यक्रममा गायक रामकृष्ण ढकालले गीत-संगीत क्षेत्रको व्यावसायिकतालाई विकास गर्न राज्य तथा यससँग सबद्ध पक्षको अझ मेहनत आवश्यक रहेको बताउँदै यो म्युजिक भिडियो दर्शक-स्रोताहरुले मन पराउने विश्वास व्यक्त गरेका थिए ।

गायिका बुनु श्रेष्ठले यो म्युजिक भिडियोमा आफूलगायत सम्पूर्ण टिमको कडा परिश्रम परेको जानकारी गराउँदै यो अवसरमा यसका रचनाकार नरेश प्रधानलाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठान थिमि भक्तपुरका उपाध्यक्ष ज्ञानराम श्रेष्ठले नेपाली गीत-संगीत क्षेत्रको ब्यावसायिकतामा जोड दिँदै एरेन्जरहरुले नेपालका विभिन्न जातजातिको बाजाहरुको पनि संयोजन गर्दा गीत अझ उत्कृष्ट र आत्मीय हुने बताए । गायक ढकाल र गायिका श्रेष्ठलाई शुभकामनाको चिनो प्रदान गरी सम्पूर्ण सफलताको शुभकामना उनले व्यक्त गरे ।

भिडियोका लागि:

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -