‘नेपाललाई साथ दिनेको संख्या दल दर्ताकै दिनदेखि घट्न थाले’

भक्तपुर । प्रमुख प्रतिपक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपालको दललाई साथ दिने एमालेका अन्य नेताहरु पुनः एमालेमै फर्कने विश्वास ब्यक्त गरेका छन् ।

चालु संसद्को अन्त्य गरेको राति नै हतार-हतार दल विभाजन अध्यादेश ल्याएर एमाले विभाजन गर्न सरकारले असंवैधानिक कदम चालेको आरोप लगाउँदै अध्यक्ष ओलीले भने- ‘नेपाललाई साथ दिनेको संख्या दल दर्ताकै दिनदेखि घट्न थालेका छन् ।’

सरकारले संसद् अन्त्य गरी राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेको विरोध तथा समसामयिक राजनीतिक विषयमा बिहीबार नेकपाल (एमाले) भक्तपुरले आयोजना गरेको विशेष सम्बोधन कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले दल विभाजन गर्न ४० प्रतिशत केन्द्रीय समिति आवश्यक रहेको व्यवस्थालाई उक्त संख्या नपुग्ने भएपछि २० प्रतिशतको व्यवस्था गरी सरकारले देशको ठूलो दल टुक्र्याउन सहयोग गरेकोमा आपत्ति जनाएका थिए ।

शक्तिशाली तथा लोकप्रिय पार्टी एमालेको १५ वर्ष नेतृत्व गर्दा नेता नेपालले विगतमा २४० संसदीय सिटको निर्वाचनमा ३३ सिटमा सीमित गरी असफल भएपछि नेतृत्व छोडेको र नेता नेपाल प्रधानमन्त्री हुँदा सरकार चलाउन नसकेर एमालेलाई निकम्मा बनाएको आरोप उनले लगाए ।

अध्यक्ष ओलीले भने- ‘एमालेले प्रतिगमन गर्‍यो, म एमालेको वरिष्ठ नेता हुँ भन्दै नेता नेपालले कांगे्रस सभापति शेरबहादु्र देउवा र राष्ट्रपतिसमक्ष आवेदन दिन पुगे । नेता नेपालसहितको गठबन्धनका नेताहरु अस्थिरताका नायक, शान्तिविरोधी, विकास हुन नदिनेहरु हुन् ।’

कार्यक्रममा भक्तपुर क्षेत्र नं. २ का सांसद एमाले केन्द्रीय सदस्य महेश बस्नेतले एमाले अध्यक्ष ओलीले नेतृत्व गरेपछि भक्तपुरको विकासले ऐतिहासिक फड्को मारेको बताउँदै भने- ‘इतिहासमा लिच्छविकाललाई स्वर्णिम युग भनिन्छ । भक्तपुरको स्वर्णिम युग ओली प्रधानमन्त्रीको कार्यकाल हो ।’ नेपाललाई साथ दिने एमालेका केही नेता-कार्यकर्ताहरु केही समयपछि एमालेमै रहेर जनताको सेवा गर्न आउने उनले दाबी गरे ।

कार्यक्रममा एमाले भक्तपुरका अध्यक्ष बचन देउजा, सचिव बासुदेव थापालगायतले आ-आफ्ना धारणा राखेका थिए ।

ज्ञानराम श्रेष्ठ
+ posts

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -