नीलबाराही नाच सम्पन्न

भक्तपुर । प्रत्येकवर्ष गाईजात्राको भोलीपल्ट मध्यरातीबाट अर्थात भाद्र द्वितीयादेखि पञ्चमीसम्म मध्यपुर थिमिको बोडेमा चल्ने नीलबाराही नाच मंगलबार रातिबाट सुरु भई शुक्रबार सम्पन्न भएको छ ।

चार दिनसम्म लगातार नगरका विभिन्न स्थनमा प्रर्दशन हुने नाच बोडेको नारायणथान लाछीबाट सुरु भई लायकु छेँ, विष्णुघाट, महालक्ष्मीथान, भाँगुटोल, खाँसी टोल, नीलबाराही स्थान हुँदै पुनःनारायणथानमा समापन गरिन्छ । यो वर्ष कोरोनाका कारण राति–राति मात्र देवता निकालिएको थियो ।

किम्वदंतीअनुसार बोडेमा राक्षसहरुले दुःख दिएपछि नीलबाराही देवीले एक स्थानीयलाई नाच सिकाएर पठाएपछि वर्षौंअघिदेखि सुरु भएको यो नाच नाच्दा दैवीशक्ति प्राप्त हुने जनविश्वास रहेको छ ।

विभिन्न देवीदेवताको आकृति रहेको मुकुण्डो लगाएर घण्टौसम्म टोलटोल घुमेर दैनिक १० देखि १४ घण्टासम्म नाच्नुपर्ने यो नाच चलिरहँदा देवगणले खान नहुने, बस्न नहुने, बोल्न नहुने, घामपानीमा छाता ओड्न नहुने, दिशापिसाब गर्न नहुने र जुत्तासमेत लगाउन नहुने नियम रहेको छ ।

देवगणमा भैरव एक, बाराही चार, कुमारी चार, सिंह चार, द्वारपाल दुई र गणेश चार गरी १९ जना देवगण रहेको यो नाचमा ६ गुरु, १९ देवताका सहयोगी, धाँ, भुस्याहा, का, बौचाबाजा बजाउने ९ लगायतका विभिन्न सहयोगीहरु गरी १ सय १५ जनाको संलग्नता रहेको हुन्छ । नीलबाराही गुठी नै सञ्चालन गरी स्थानीयले नाचलाई जोगाउँदै हरेक वर्ष यो नाच सञ्चालन गर्दै आएका छन् ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -