रक्तदान जागरण गीत लोकार्पण

काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा आइतबार ‘अठार वर्ष पैंतालीस किलो, रक्तदान गर्न नगरौं ढिलो’ बोलको रक्तदान जागरण गीत एक विशेष समारोहबीच लोकार्पण गरियो ।

लोकार्पण गरिएको गीतको धुनलाई संगीत संयोजन गरेका मनोहर सुनामद्वारा सेक्सोफोनमार्फत बजाई कार्यक्रमको शुभारम्भ गरिएको उक्त कार्यक्रममा संगीतकार तथा गायक यमन श्रेष्ठ र गायिका निशा देसारले गीत ट्रयाकमा प्रत्यक्ष गाएर लोकार्पण गरिएको थियो ।

शब्द–रचना स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्य, संगीत एवं स्वर यमन श्रेष्ठ र गायिका निशा देसार, संगीत संयोजन मनोहर सुनाम रहेको उक्त गीतको रेकर्डिष्ट एवं मिक्सिङ भोला पौडेल, कोरस गायिका सुष्मा लिम्बु, दीपा तामाङ, सारंगी वादक हेमन्त कान्छा रसाइली, धिमे/खीं/खुस्याः बादक लक्ष्मी डंगोल र बाँसुरी बादक गोपाल देव घतानीले गरेका थिए ।

कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका वडा नं. २० नगर समितिद्वारा तयार पारिएको नेस्वरस स्वयंसेवी ज्याकेटको नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता कर्माचार्यले लोकार्पण गर्दै स्वयंसेवीहरुलाई वितरण गरे ।

विशेष अतिथि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रूणा झा, अतिथिहरू नेपाल रेडक्रस सोसाइटीका पूर्व महामन्त्री देवरत्न धाख्वा, रिलायन्स फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ र स्वास्थ्य सेवा विभाग नेपाल रेडक्रस सोसाइटीकी निर्देशक डा. मनिता राजकर्णिकार रहेको कार्यक्रममा रक्तदानसमेत आयोजना गरिएको थियो ।

रक्तदान गर्नुहुने सम्पूर्ण स्वयंसेवी रक्तदाताहरू, विशेष अतिथि, अतिथिहरू र गीतमा सहयोग गर्ने सर्जकहरुलाई स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष कर्माचार्यले मायाको चिनो, धन्यवाद पत्र तथा प्रशंसा–पत्र वितरण गरेका थिए ।


अठार बर्ष पैंतालीस किलो
रक्तदान गर्न नगरौँ ढिलो
खुशीका साथ शुभारम्भ गरौँ
जीवन रक्षार्थ रक्तदान गरौँ !

भन्न सकिन्न, कुन बेला कसलाई
चाहिन सक्छ रगत हामी जो कसैलाई
हाम्रो रगतले बच्छ कसैको ज्यान
रक्तदानलाई बनाऔँ आफ्नो अभियान
चाहिनेलाई दिंदै जाउँ
सक्ने सबले गर्दै जाउँ
रक्तदान,रक्तदान,रक्तदान गरौँ !

रक्तदान नै जीवनदान हो
जीवन बचाउनु हाम्रो काम हो
शुभकार्यमा ढिला नगरौँ
जाऊँ साथी आजै, अहिलै रक्तदान गरौँ
चाहिनेलाई दिंदै जाउँ
सक्ने सबले गर्दै जाउँ
रक्तदान, रक्तदान, रक्तदान गरौँ !

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -