बुवाको आशीर्वाद लिने दिन

यस दिन बुवालाई मिठामिठा खानेकुरा खुवाएर, बस्त्र र मनपर्ने चिजविज दिएर खुशी बनाइन्छ । वितिसकेका बुवाको पनि स्मरणमा श्राद्ध र पिण्डदान गरी तृप्त पारिन्छ ।

पिता धर्मः पिता स्वर्गः पिता हि परमं तपः ।
पितरि प्रीतिमापन्ने प्रीयन्ते सर्व देवताः ।।

भाद्र कृष्ण औंसीलाई बुवाको मुख हेर्ने दिनका रुपमा मानिन्छ । आफ्ना सन्तानका लागि समय, अर्थ खर्च गरी हेरचाह र माया दिएर हुर्काउने बुबालाई सम्झने र भेट्ने दिन हो यो । बुबाले जन्म दिने, खाना दिने, डरबाट जोगाउने, ज्ञान दिने र प्रभुपरमात्मा चिनाउने गर्छन् ।

भनिन्छ– बुवा धर्म हुन् । बुवा स्वर्ग जस्तै आनन्द छन् । बुवा परम बलिदानी हुन्छन् । त्यसैले बुवा देवताहरु भन्दा पनि उच्च र पुजनिय मानिन्छन् । यस दिन तीनै बुवाको सुस्वास्थ्य, दिर्घायू, सुख र शान्तिको कामना गर्ने दिन होे । आफ्ना बुवालाई मिठामिठा खानेकुरा खुवाएर, बस्त्र र मनपर्ने चिजविज दिएर खुशी पारिन्छ । विवाहित चेलीहरु माइतीमा आफ्ना बुबालाई भेट्न आउँछन् । सबैले बुवालाई खुशी बनाएर आशीर्वाद लिन्छन् ।

यदी बुवा जीवित हुनुहुन्न भने पनि स्मरण गरिन्छ । वितिसकेका बुवाको नाममा सिदा र खाद्य सामाग्री दान दिइन्छ । काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिरको परिसरमा पितृहरुको सम्झनामा श्राद्ध गर्ने चलन छ । त्यसैले यसलाई गोकर्णे औंशी पनि भनिन्छ । कतिपयले नदि, खोला र पवित्र स्थानमा गएर श्राद्ध गर्छन् । भाद्र कृष्ण औंसीका दिन गोकर्णेश्वरमा गरेको श्राद्धलाई घर र मावलीका २१ पुस्ताले पाउँछन् भन्ने मान्यता रहेको छ । कोरोना भाइरसका कारण यसपाली भौतिक दुरी कायम राखी श्राद्धको ब्यवस्था गरिएको छ । मुलुका विभिन्न स्थालहरु जस्तै रसुवा र नुवाकोटको बेत्रावतीमा लाग्ने मेलाहरु पनि प्रभावित भएका छन् ।

भाद्र कृष्ण औंसीका दिनलाई कुशे औंसी भनिन्छ । हिन्दु धर्ममा कुशको विशेष महत्व छ । पाठ पूजामा, पितृकार्यमा, नुहाउँदा कुशको प्रयोग गरिन्छ । कुश धार्मिक र सांस्कृतिक महत्व बोकेको घाँस हो । बैदिक संस्कारमा देवकर्म र पितृकर्ममा कुश नभै नहुने चिजमा पर्छ । यो धार्मिक आस्थाको वनस्पतीबाट विभिन्न औषधी बनाइन्छ । बेलुका पानीमा कुशका टुक्रा भिजाएर राखी विहान त्यो पानी खाने गरेमा पोष्टेज जस्ता पिसाव सम्बन्धी विमार निको हुँदै जान्छन् । कुशले पानीलाई पवित्र एवं स्वच्छ बनाउँछ ।

कुशे औंसीको दिन घरमा कुश ल्याएर पवित्र ठाउँमा राख्ने गरिन्छ । ब्राम्हाणले पनि त्यस दिन घरघरमा कुश ल्याइदिने चलन छ । यस दिन टिपेर राखेको कुश अर्को कुशे औंसीसम्मलाई पवित्र मानिन्छ । होइन भने, जुन दिन कुश चाहिने हो, सोही दिन टिप्नु पर्छ । घरमा कुश राख्दा सुख र शान्ति बढ्ने विश्वास गरिन्छ ।

परापूर्वकालमा ज्ञान सिक्ने शिष्यको योग्यता जाँच्ने विधिका रुपमा कुशलाई लिइन्थ्यो । कुश निकै नै धारिलो घाँस हो । त्यसबेलामा गुरुहरुले आफ्ना शिष्यलाई नाङ्गो हातले कुश टिप्न लगाउँथे । जसले हातमा चोट नलगाई धेरै कुश टिपेर जम्मा पार्न सक्थ्यो, उसलाई सर्वोत्कृष्ट मानिन्थ्यो ।

कुशे औंसीमा पितृ दोष निवारण गर्ने उपयुक्त दिन मानिन्छ । किंवदन्ती अनुसार यस दिन अग्नी दाता ऋषीले पितृहरुलाई यस धरातलमा घुमाउन ल्याउँछन् । त्यसैले यस दिन श्राद्ध र पिण्डदान गरेमा पितृहरु तृप्त हुन्छन् । उनीहरुले आफ्ना सन्तानलाई आशीर्वाद दिन्छन् । यसबाट घरमा सुख, शान्ति र समृद्धि बढ्नुको साथै थालिएका काममा सफलता मिल्ने विश्वास गरिन्छ ।

तुला तिमिल्सिना
+ posts

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -