प्रथम अन्तरनगर मेयर कप कराँते तथा किक बक्सिङ प्रतियोगिता

भक्तपुर । मध्यपुर–थिमि–४ स्थित शंखधर साख्वाः डोजोले आयोजना गरेको प्रथम अन्तरनगर मेयर कप कराँते तथा किक बक्सिङ प्रतियोगिता सोमबार सम्पन्न भएको छ ।

मध्यपुर थिमि नगरपालिका वडा नं. ८ बोडेको कुमारी मन्दिर परिसरमा भएको प्रतियोगितामा नरहरिपुर डोजोले प्रथम अन्तरनगर मेयर कप कराँते तथा किक बक्सिङ प्रतियोगितामा ३ स्वर्ण, २ रजत र ३ कांस्यसाथ टिम च्याम्पियनको उपाधि जितेको छ । यस्तै वादोकाइ ३ स्वर्ण र २ कांस्यसहित दोस्रो भयो । २ स्वर्ण, १ रजत र १ कांस्य जितेको चन्द्रागिरी बेसिक सितोरियोले तेस्रो स्थान हासिल गरेका थिए । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १० हजार र ५ हजार रुपैयाँ पुरस्कार जितेका थिए ।

कराँतेतर्फ पुरुषमा लगनखेलका विपिनसिंह दर्जी र महिलामा चन्द्रागिरीकी स्वस्तिका केसी उत्कृष्ट खेलाडी भए । उत्कृष्टले माउन्टेन बाइक पुरस्कार पाए । भाद्र २७ गते शुभारम्भ भई २८ गते सम्पन्न भएको उक्त प्रतियोगितामा देशभरिका विभिन्न नगरपालिकाका ४ सय ७५ जना खेलाडीले विभिन्न २० स्पर्धामा प्रतिस्पर्धा गरेको संयोजक मन्डेकाजी श्रेष्ठले बताए ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा राष्ट्रिय खेलकुड परिषदका सदस्य सचिव रमेश सिलवाल, विशिष्ट अतिथिमा मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, विशेष अतिथिमा उपप्रमुख अञ्जनादेवी मधिकर्मी तथा अतिथिहरूमा राष्ट्रिय खेलकुद परिषदका कार्यकारी सदस्यहरु एकेन्द्र कुँवर, नन्द बस्याल, सुवास श्रेष्ठ, सम्पन्न श्रेष्ठ, नेपाली कांग्रेस भक्तपुरका पूर्वसभापति गणेशमान चक्रधर नगरपालिकाका विभिन्न वडाका वडाअध्यक्षहरुलगायत वरिष्ठ रेफ्री संयोजक राजेन्द्र कपाली, राष्ट्रिय रेफ्री सहसंयोजक महेश रन्जीत, राष्ट्रिय खेलाडी दिपक बिष्ट र लोकप्रिय कलाकार राजा राजेन्द्रलगायत अन्य विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -