रकम उपलब्ध नगराएपछि नेपाल कोरिया अस्पतालमा स्वास्थ्य बीमाको सम्पूर्ण सेवा बन्द

भक्तपुर । सरकारले स्वास्थ्य बीमावापतको रकम उपलब्ध नगराएपछि नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले स्वास्थ्य बीमामार्फत् प्रदान गर्ने सम्पूर्ण सेवा बन्द गरेका छन् ।

मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित उक्त अस्पतालले असोज १ गतेदेखि अर्को सूचना जारी नभएसम्म बीमामार्फत् प्रदान गर्ने सम्पूर्ण सेवा बन्द रहने सूचना टाँस गरिएको छ । अस्पतालले बीमा सेवा बन्द गरेपछि उपचारका लागि आएका बिरामी मारमा परेका छन् ।

स्वास्थ्य बीमाको रकम सरकारले समयमा उपलब्ध नगराउँदा बाध्य भएर स्वास्थ्य बीमामार्फत् प्रदान गर्ने सेवा तत्कालका लागि बन्द गर्नुपरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बताए ।

अस्पतालले पटकपटक राष्ट्रिय बीमा बोर्डलाई रकम निकासाका लागि अनुरोध गर्दा पनि हालसम्म करिब ९ करोड रुपैयाँ प्राप्त हुन बाँकी रहेपछि बाध्य भएर बीमा सेवा बन्द गर्नुपरेको उनले बताए ।

बीमा कार्ड भएका बिरामीले यस अस्पतालबाट बहिरंग तथा अन्तरंग सेवा, शल्यक्रिया, प्रसूति, फार्मेसी, ल्याब, फिजियोथेरापी, एक्सरेलगायत सम्पूर्ण सेवा लिँदै आएका छन् ।

१०२ शय्या सञ्चालनमा रहेको यस अस्पतालमा आईसीयू १६, भेन्टिलेटर १५ थान र बच्चाका लागि दुई भेन्टिलेटर छन् । बक्यौता रकम सरकारले प्रदान गरेपछि पुनः बीमामार्फत्को सम्पूर्ण सेवा सुरु गरिने अस्पतालले जनाएको छ ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -