म्ह: पूजा : नेवार समुदायको मौलिक पर्व

आत्मतत्व रहेको, परमात्माको बास भएको चेतनादायक आफ्नै शरीरको पूजा गरेर मनाइन्छ ।


तिहारमा लक्ष्मीपूजाको भोलिपल्ट नेवार समुदायमा म्हपूजा गर्ने परम्परा छ । कात्तिक शुक्लपक्ष परेवा तिथिमा पर्ने म्हपूजा नेवार समुदायको मौलिक पहिचानको पर्व हो । यसबेला आत्मतत्व रहेको, परमात्माको बास भएको चेतनादायक आफ्नै शरीरको पूजा गरिन्छ ।

नेवारी भाषाको म्ह शब्दको अर्थ देह वा शरीर भन्ने हुन्छ । त्यसैले म्हपूजाले आफ्नो देहप्रतिको आदरभाव प्रकट गर्दछ । यसले आत्मतत्वलाई बोध गराउने र सजिवताको आभाष गराउँछ । नेवारी समुदायमा चेतना र स्वतत्वलाई उजागर गर्न आफ्नै शरीरलाई पूज्ने चलन चलेको हो । घर, परिवार र समाजमा शान्ति हुन, शरीरमा पनि शान्ति जरुरी भएकाले म्हपूजा यसैसँग जोडिएको छ । अर्कोतिर सकारात्मक काम र जनउपयोगी काम गरेमा देवता झैं पूजनीय बन्न सकिन्छ भन्ने भाव म्हपूजाको रहेको छ ।

हाम्रो शरीर ५ प्राकृतिक तत्वहरु स्थल, जल, बायु, आकाश र तेजबाट बनको मानिन्छ । शरीरको मासुलाई स्थल, रगतलाई जल, श्वास प्रक्रियालाई बायु, शरीरभित्रको खाली भागलाई आकाश र पाचन शक्तिलाई तेज तत्वको प्रतिविम्ब वा रुपमा मानिन्छ । म्हपूजामा दिने विभिन्न सगुनले पनि यही प्रतिनिधित्व गरेको हुन्छ । जस्तो कि– मासुले स्थल, माछाले जल, बाराले बायु, अण्डाले आकाश र रक्सीले तेजतत्व ।

हाम्रो शरीरका पाँच तत्वहरुले पूर्ण रुपमा काम गरिरहेका हुन्छन् । यीमध्ये कुनै एकले पनि काम गरेन भने शरीर परिपूर्ण हुन्न । साथै बाहिरका पञ्चतत्वसँग समेत संयोजन हुनुपर्छ भन्ने दर्शनका आधारमा म्हपूजामा ५ चिजलाई बढी महत्व दिएको पाइन्छ । यस बेलाको मण्डपमा समेत ५ ओटा गोलो बृत्त बनाइएका हुन्छन् ।

म्हपूजाका दिन नेपाल सम्वत परिवर्तन हुने भएकाले नेवार समुदायमा न्हुदँया भिन्तुना (नयाँ बर्षको शुभकामना) आदनप्रदान गरिन्छ । कृषि कार्यमा प्रयोग गरिने कुटो, कोदालो, कोदाली र हलोको पनि पूजा गरिने भएकोले यस दिनलाई हलितिहार पनि भनिन्छ । कृषि प्रधान हाम्रो देशमा खेतबारी जोत्ने गोरुको पनि गोरु तिहारको रुपमा यसै दिन पूजा गरिन्छ । त्यसैगरी द्वापर युगमा श्रीकृष्णले रचनाएको लिलाको स्मरणमा गोवर्धन पूजासमेत गरिन्छ । यस दिन पुरुषबर्गले देउसी खेलेर रमाइलो गर्ने चलन छ । यसले टोल र छरछिमेकमा द्ववस हटाउन र सद्भाव बढाउन महtपूर्ण भूमिका खेल्छ ।

नेपालका आदिबासीहरु मध्ये विशेषगरी नेवार समुदायको बसोबास काठमाडौं उपत्यकामा रहेको छ । इतिहास अनुसार महाचीनबाट आएका मञ्जुश्रीले यहाँ बस्ती बसालेका हुन् । उनले तालको रुपमा रहेको उपत्यकाालाई चोभारबाट पानी बगाएर बसोबासका लागि योग्य बनाएका थिए । त्यसपछि नेवार समुदायको बसोबाससँगै नेवारी सभ्यताको पनि सुरु भएको मानिन्छ । उनीहरुले नैं मठ, मन्दिर, पाटी पौवादेखि कला, जात्रा र चाड पर्वको आरम्भ गरेका हुन् । यससँगसँगै म्हपूजाको पनि थालनी भएको हो । बौद्धविद्वानका अनुसार म्हपूजा भगवती लक्ष्मीकरा (ई.७२९) बाट सुरु भएको मानिन्छ ।

म्हपूजाका दिन विहान घरसफा र नुवाइधुवाई गरेर शुद्ध भई नेवारी खाद्य परिकारहरु तयार पारिन्छन् । मण्डप बनाउने ठाउँमा रातो माटोले पोतेर सफा सुग्घर गरिन्छ । कमलको पात आकृतिको आठ पाते मण्डपमा जल मण्डप, पोताय् (सेतो रङ) मण्डप र तेलको मण्डप बनाइन्छ । चामलको पिठो, कालो भटमास, चामल, लावा, मासको दाल र धानले सजाइन्छ । मण्डपलाई फलफूलहरु केरा स्याउ, मौसम, बिमिरो, भोगटे, सन्तला बयर लगायतले पनि सजाइन्छ । नयाँ कुचो, नाङ्लो, पानीको घडा, सुकुन्डा, लोहोरोलाई देवताको प्रतिकको रुपमा राखिन्छन् । फूलको माला र धुप बत्तीले मण्डप सुन्दर बनेको हुन्छ । सजिसजाऊ मण्डप हेर्दा पनि मन प्रफुल्लित र पुलकित हुन्छ ।

साँझमा हुने म्हपूजामा मण्डलालाई अगाडि पारेर जेष्ठताको क्रमसँगै घरका सदस्यहरु लस्करै बस्छन् । बस्दा पूर्वतिर फर्कनु उपयुक्त मानिन्छ । यसपछि विधिवत म्हपूजा सुरु हुन्छ ।


यो पूजा नकीं (घरकी मूल महिला) ले गर्ने परम्परा छ । चामलको पिठोबाट बनाइएको गणेशको पूजाबाट आरम्भ गरी आफ्नो शरीरलाई विशेष पूजा गरिन्छ । यस क्रममा पुरुषको दाँया र महिलाको बाँया कञ्चटमा टिका लगाउने चलन छ । त्यसपछि सगुन र भोज खाने गरिन्छ । म्हपूजाबाट शारीरिक, मानसिक र बौद्धिक शक्ति भरिपूर्ण भई आफ्नो सफल जीवनको कामना गरिन्छ । यस पर्वले दैनिक कार्य, बोली र चित्तलाई शुद्ध गरी नकरात्मक विचार र भावनालाई हटाई सत्कर्म र कुशल कार्य गर्न सदैन उत्प्रेरित गर्दछ ।

तुला तिमिल्सिना
+ posts

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -