रक्तदानमा विश्व कीर्तिमानको दाबी

कात्तिक– लायन्स क्लब अफ काठमाण्डु ब्लड सर्कलले सोलुखुम्बुको सल्लेरीस्थित योङ स्टार क्लबसँगको सहकार्यमा २३५० मिटर उच्च ठाउँमा ७१ जनाले रक्तदान गरेर विश्व कीर्तिमान बनाएको छ । सल्लेरी बजार प्रदेश नं. १ अन्तर्गत सगरमाथाको आधार शिविर जाने मुख्य नाका तथा जिल्लाको सदरमुकाम हो ।

आयोजक टिमका अनिल तुलाधरले सोही दाबीलाई गिनिज बुक अफ वर्ड रेकर्डका लागि पहल गर्नेसमेत बताए । ‘यसअघि यति धेरै अग्लो ठाउँमा धेरै जनाले एकैपटक रक्तदान गरेको हामीले भेटाएनौं । त्यसैले पनि विश्वजगतले चिन्ने सगरमाथाको काखमा आएर हामीले विश्व कीर्तिमानका लागि प्रयास गरेका छौैं,’ तुलाधरले बताए ।

हुन पनि चिसो ठाउँ, ब्लड बैंक नभएको र प्राविधिक जनशक्ति अभाव भएको ठाउँमा रक्तदान गर्नु चुनौतीपूर्ण छ । समग्र सोलुखुम्बु जिल्लामै ब्लड बैंक छैन । त्यसैले पनि यस्तो दुर्गम ठाउँमा रक्तदान गर्नु चुनौतीपूर्ण छ । एक त रक्तदान गरेलगत्तै त्यसलाई सुरक्षित तबरले निर्धारित तापक्रममा सम्बन्धित ठाउँमा राख्नुपर्ने हुन्छ भने अर्कोतर्फ रगत संकलन गरेर प्रयोग गर्नु बेस हुन्छ । सोलुखुम्बुमा यी आधारहरू बनिसकेका छैनन् ।

त्यस्तै सोलुस्थित योङ स्टार क्लबका दिपक राजभण्डारीले जटिल स्वास्थ्य समस्यालाई जिल्लामै उपचार गर्न/गराउन असमर्थ रहेकोमा दुःख व्यक्त गरे । स्वास्थ्यसम्बन्धीको थप उपचार गराउन हेलिकप्टरमार्फत काठमाडौं लानुपर्ने बाध्यता रहेकोमा स्थानीयस्तरमै सुविधासम्पन्न अस्पताल हुनुपर्नेमा जोड दिए ।

कार्यक्रमका लागि सञ्चार संयोजनको जिम्मेवारी पाएका लक्ष्मण जोशीले दुर्गम ठाउँको रक्तदान कार्यक्रमले रगतसम्बन्धी महत्त्व र आवश्यकता विषयमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरे ।

काठमाडौंदेखि कात्तिक २५ गते हिँडेको टोलीले सल्लेरीको सुरक्षा संयन्त्र, जनपथ प्रहरी, सशस्त्र प्रहरी, स्थानीय खेलकुद समिति तथा अन्य संस्थाहरूसँग सहकार्य गरेको छ । कार्यक्रममा कान्तिपुर अस्पतालको ब्लड स्टान्सफ्यूजन सेन्टरले प्राविधिक रूपमा सहकार्य गरेको छ भने स्थानीय जनप्रतिनिधि, रोटरी क्लब अफ ठमेल, पीएमजेएफ दीपक खरेल, सेकेन्ड भीडीजी मणिश्री रत्न बज्राचार्य, योगेश जोशी, टीका होलिडेज्, हिमाली ब्रेड, हिलबर्ड सेभिङ एण्ड क्रेडिट लिमिटेड, तारा एअर, तारामण्डल महिला सशक्तीकरण अभियान, रिलायन्स सिमेन्ट, धालासिक्व टोल संरक्षण परिवारले सहयोग गरेका छन् ।

केके मानन्धर
+ posts

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -