देउवा दोस्रो पटक सभापति

काठमाडौं । कांग्रेसको १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा पुनः सभापति निर्वाचित भएका छन् । दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई पराजित गर्दै उनी सभापति बनेका हुन् ।

पहिलो चरणको मतदानमा कसैले पनि ५० प्रतिशत मत ल्याउन नसकेपछि मंगलबार पुनः मतदान गराएर कांग्रेसको नेतृत्व चयन गरिएको हो । दोस्रो चरणमा देउवा २ हजार ७ सय ३३ मत ल्याएर निर्वाचित भएका हुन् । ४ हजार ६ सय २३ मत खसेकामा प्रतिस्पर्धी कोइरालाले १ हजार ८ सय ५५ मत पाए । ३५ मत बदर भयो । दिउँसो साढे ३ बजेदेखि राति साढे ९ बजेसम्म मतदान भएको थियो । बुधबार बिहान पौने ३ बजे मतगणनाको अन्तिम परिणाम प्रकाशित गरेका थिए ।

पहिलो चरणको निर्वाचनमा देउवा, कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ सभापतिका उम्मेदवार थिए । ४ हजार ६ सय ७९ मत खसेकोमा देउवाले २ हजार २ सय, कोइरालाले १ हजार ७ सय २, सिंहले ३ सय ७१, निधिले २ सय ५० र गुरुङले २२ मत ल्याएका थिए । ७६ मत बदर भएको थियो । पार्टीको विधानअनुसार सभापति निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी ल्याउनुपर्छ ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -