नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा ५० प्रतिशतसम्म छुट

भक्तपुर । नेपाल कोरियामैत्री नगरपालिका अस्पतालले उपचारमा ५० प्रतिशतसम्मको विशेष छुट प्याकेज सार्वजनिक गरेको छ । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित अस्पतालमा २०७८ असोजदेखि स्वास्थ्य बीमा सेवा बन्द भएपछि सेवाग्राहीका लागि पुस १ गतेदेखि लागू हुने गरी नयाँ राहत प्याकेज सार्वजनिक गरेको हो ।

अस्पतालले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मदनसुन्दर श्रेष्ठले अस्पतालमा बीमा सेवा बन्द भएकाले नगरवासीका लागि उपचारमा ५० प्रतिशतसम्म छुटको प्याकेज ल्याएको बताए ।

‘स्वास्थ्य बीमा रकम सरकारबाट उपलब्ध नभएपछि बन्द भएको बीमा सेवाका कारण नगरवासीलाई परेको समस्या हामीले महसुस गरेका छौं, त्यसैले नगरवासीलाई टिकटदेखि उपचारसम्म विशेष छुटको प्याकेज ल्याएका हौं’, प्रमुख श्रेष्ठले भने, ‘८० वर्ष नाघेकालाई ५० प्रतिशत, ७० वर्ष नाघेकालाई २५ प्रतिशत र त्यसभन्दा तलका उमेरलाई १० प्रतिशत स्वास्थ्य सेवामा छुट दिने निर्णय गरेका छौं ।’

विगतमा बिरामीले नयाँ टिकट लिन ४०० लाग्नेमा त्यसलाई घटाएर पुस १ गतेदेखि १२५ रुपैयाँ कायम गरिएको र पुरानो कार्ड भएकालाई ७५ रुपैयाँ मात्रै शुल्क निर्धारण गरिएको अध्यक्ष श्रेष्ठले बताए । राष्ट्रिय स्वास्थ्य बीमा बोर्डबाट ९ करोडको भुक्तानी लिन बाँकी भएपछि अस्पतालले गत असोज २९ गतेदेखि बीमा सेवा बन्द गरेको थियो । स्वास्थ्य बीमा बोर्डमा पटकपटक ताकेता गर्दा ३ करोड मात्र निकासा भए तापनि अझै ६ करोड पाउनुपर्ने रकम नपाउँदा बीमा सेवा पुनः सुरु गर्न नसकेको अध्यक्ष श्रेष्ठले बताए ।

त्यसैगरी अस्पातालले बिहान र अपराह्न सुविधायुक्त सेवा लिनको लागि प्राइभेट सेवासमेत सञ्चालनमा ल्याउने भएको छ । अस्पतालले बिहान ८ बजेदेखि १० बजेसम्म र दिउँसो ३ बजेदेखि ५ बजेसम्म प्राइभेट सेवाका लागि नयाँ बिरामीको नाम दर्ताका लागि रु. ४५० र पुरानो बिरामीको नाम दर्ताका लागि रु. ४०० शुल्कमा टिकट लिएर ओपीडी सेवा लिन सक्ने व्यवस्था गरेको अस्पतालका निर्देशक डा. ज्ञानकृष्ण श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिए ।

अस्पतालका उपनिर्देशक डा. सम्पूर्णमान तुलाधरले अस्पतालले दिने सेवासुविधामा अझै गुणस्तर वृद्धि गरेको जानकारी दिँदै निजी अस्पतालभन्दा धेरै सस्तो र सुलभ तथा गुणस्तरीय सेवा अस्पतालले सञ्चालन गरेको बताए । हाल अस्पतालले सम्पूर्ण विशेषज्ञ सेवा प्रदान गरिनुका साथै २४ सै घन्टा इमर्जेन्सी, आईसीयू सेवा र अत्याधुनिक प्रयोगशालामार्फत् सेवा प्रवाह गरिरहेको डा. तुलाधरले जानकारी दिए ।

बाबुकाजी साछें श्रेष्ठ
+ posts

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -