मध्यपुर थिमिमा भारोत्तोलनको राष्ट्रिय प्रतियोगिता हुने

भक्तपुर । मध्यपुर थिमिमा पुस २७ गतेदेखि २९ गतेसम्म २४ औं पुरुष तथा ९ औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता–२०७८ हुने भएको छ ।

नेपाल भारोत्तोलन संघले बिहीबार पत्रकार सम्मेलन गरेर भक्तपुरमा भारोत्तोलन खेलको राष्ट्रिय प्रतिस्पर्धा हुने जानकारी दिएको हो ।

प्रतियोगितामा जुनियर तथा सिनियर पुरुष/महिला, युथ पुरुष/महिलाको विभिन्न वजन समूहमा प्रतिस्पर्धा हुनेछ । पुरुष र महिला प्रतिस्पर्धीहरूको लागि फरक फरक शारीरिक वजन श्रेणी हुन्छ । प्रतिस्पर्धी खेलाडीहरूलाई शारीरिक वजनअनुसार तौल समूहमा विभाजन गरिएको हुन्छ । सन् २०१८ मा अन्तर्राष्ट्रिय भारोत्तोलन संघले खेलाडीहरूलाई शारीरिक वजनअनुसार १० तौल समूहमा विभाजन गरेका थिए । सोही तौल समूहअनुसार प्रतिस्पर्धा हुने आयोजकले बताए ।

प्रतियोगितामा जुनियर तथा सिनियर पुरुषमा ५५, ६१, ६७, ७३, ८१, ९६, १०२, १०९ र १०९ भन्दा माथिको केजी समूहको प्रतिस्पर्धा हुने र युथ पुरुषमा ४९, ५५, ६१, ६७, ७३, ८१, ८९, ९६, १०२ र १०२ भन्दा माथिको तौल समूहमा प्रतिस्पर्धा हुने संघका अध्यक्ष राम श्रेष्ठ बोसले जानकारी दिए ।

त्यसैगरी जुनियर तथा सिनियर महिलामा ४५, ४९, ५५, ५९, ६४, ७१, ७६, ८१, ८७ र ८७ केजीभन्दा माथिको तौल समूहमा प्रतिस्पर्धा हुनेछ भने युथ महिलातर्फ ४०, ४५, ४९, ५५, ५९, ६४, ७१, ७६, ८१ र ८१ केजी माथि तौल समूहका खेलहरु हुनेछ ।

प्रतियोगितामा उपत्यकाका ३ जिल्लासहित झापा, उदयपुर, मोरंग, सप्तरी, महोत्तरी, सिरहा, धनुषा, बारा, पर्सा, चितवन, कास्की, दाङ, सुर्खेत, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, टिम र विभागिय टिमहरु नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना गरी २३ टोलीको सहभागिता रहने पत्रकार सम्मेलनमा बताए । प्रतियोगितामा करिब २ सय जना खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।

महिलातर्फ युथ, जुनियर र सिनियरमा ३० स्वर्ण, ३० रजत र ३० काँस्य गरी ९० पदक तथा पुरुष युथ, जुनियर र सिनियरमा ३० स्वर्ण, ३० रजत र ३० काँस्य गरी ९० सहित कुल १८० पदकको लागि प्रतिस्पर्धा हुने संघका अध्यक्ष बोसले बताए ।

प्रतियोगिता सञ्चालन गर्न करिब ५१ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । खेलाडीहरुको लागि यातायात खर्च र प्रतियोगिता अवधिभर खानेबस्ने व्यवस्था आयोजकले गर्ने बताइएको छ । अध्यक्ष बोसले अन्तर्राष्ट्रिय प्रतियोगितामा सबैभन्दा धेरै पदक जित्न सफल भारोत्तोलन खेललाई सरकारले यथोचित महत्व नदिएको आरोप समेत लगाएका छन् । भारोत्तोलन खेलको विकासका लागि स्थानीय सरकारले पनि चासो दिनुपर्ने बताए ।

पत्रकार सम्मेलनमा मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले खेल क्षेत्रको विकास एवं खेलाडीहरुको वृत्ति विकासका कार्यक्रमलाई नगरपालिकाले सहयोग गर्दै आइरहेको जानकारी दिए । साथै भारोत्तोलन खेलका लागि आवश्यक सहयोग गर्न आफ्नो नगरपालिका तयार रहेको प्रतिबद्धता पनि जनाएका थिए । भारोत्तोलनको राष्ट्रिय प्रतियोगिता मध्यपुर थिमिमा हुनु मध्यपुरकै लागि गौरवको विषय भएको बताउँदै उनले नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने बचनसमेत दिए ।

पत्रकार सम्मेलनमा आयोजक नेपाल भारोत्तोलन संघका पदाधिकारीहरु, खेलाडीहरुलगायत भारोत्तोलन खेलकर्मीहरुको उपस्थिति रहेको थियो ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -