पत्रकारद्वय साछेँ र बल्ल पुरस्कृत

भक्तपुर । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा भक्तपुरको २५ औं स्थापना दिवस एवं रजत वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित कार्यक्रममा भक्तपुरलाई कर्मभूमि बनाउँदै पत्रकारिता गर्दै आएका दुईजना पत्रकारहरू पुरस्कृत भएका छन् ।

मध्यपुर थिमिका वरिष्ठ पत्रकार बाबुकाजी साछेँ श्रेष्ठ र भक्तपुरका मोहन बल्ल पुरस्कृत भएको हो । पत्रकार श्रेष्ठ १० हजार नगद राशीको स्व. भगवान महर्जन स्मृति पत्रकारिता पुरस्कार र बल्ल २ हजार ५ सय रुपैयाँ नगद राशीको स्व. मैंयादेवी स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएको हो । नेपाल पत्रकार महासंघ, भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापति, केन्द्रीय अध्यक्ष विपुल पोखरेल, केन्द्रीय सचिव नारायणसुन्दर किलम्बु र पुरस्कारका संस्थापकहरूले संयुक्तरुपमा उहाँहरुलाई सम्मान गरेका हुन् ।

लामो समयदेखि मध्यपुर क्षेत्रमा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय भई मध्यपुर सञ्चार समाजको अध्यक्षसमेत रहेका श्रेष्ठले पुरस्कारबाट निकै हौसला मिलेको बताए । उनले वर्तमान समयमा पत्रकारहरूले सत्य, तथ्यमा आधारित भई निष्पक्ष ढंगले पत्रकारिता गर्नुपर्ने बताए ।

पत्रकार महासंघको भवन निर्माणका लागि २५ हजार रुपैयाँ आर्थिक सहयोेग गर्ने पुरस्कृत श्रेष्ठले उक्त कार्यक्रममा घोषणासमेत गरेका छन् । अर्का पुरस्कृत व्यक्तित्व बल्लले पनि पुरस्कारवापत प्राप्त भएको रकम महासंघको भवन निर्माणका लागि शाखा अध्यक्ष प्रजापतिलाई हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले पत्रकारितामा निरन्तर सक्रियताको जरूरी रहेको बताए । प्रेस रजिस्ट्रार कार्यालय वागमती प्रदेशका रजिस्ट्रार रेवती सापकोटाले वर्तमान अवस्थामा सूचना प्रविधिले व्यक्तिलाई ग्लोबल बनाइसकेको बताउँदै अनलाइन पत्रकारले आफूलाई ग्लोबल पत्रकारको रूपमा लिएर पत्रकारिता गर्नुपर्ने आवश्यकता रहेको विचार राखेका थिए ।

कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले पत्रकारसँग सहकार्य गरी जिल्लालाई समृद्ध बनाउन हातेमालो गर्दै अघिबढ्ने विचार व्यक्त गरेका छन् ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -