२०७९ असोज १९ मा विजयादशमी

काठमाडौं । नेपाल पञ्चाङग निर्णायक समितिले आगामी वर्ष २०७९ को पात्रो तयार पारेको छ । समितिले तयार पारेको पात्रोअनुसार विजयादशमी असोज १९ मा परेको छ ।

वैशाख पूर्णिमा, बुद्धजयन्ती तथा उभौली पर्व जेठ २ गते र अक्षय तृतीया वैशाख २० मा परेको छ । हरिशयनी एकादशी असार २६ मा परेको छ भने गुरु पूर्णिमा असार २९ गते परेको छ । नागपञ्चमी साउन १७ मा परेको छ भने जनैपूर्णिमा साउन २७ गते परेको छ । यसपाली तिथिका कारण गाईजात्रा पनि त्यही दिन परेको छ ।

कृष्ण जन्माष्टमी भदौ ३ गते र कुशे औंसी अर्थात् बाबुको मुख हेर्ने दिन भदौ ११ मा परेको छ । तीज भदौ १४ मा परेको छ भने इन्द्रजात्रा भदौ २४ मा र गौरापर्व भदौ १८ मा परेको छ ।

२०७९ साल भदौ २६ गतेदेखि सोह्रश्राद्ध सुरु भई असोज ९ गते सकिने छ । घटस्थापना असोज १० गते र फूलपाती असोज १६ गते परेको छ । महाअष्टमी असोज १७ गते, महानवमी असोज १८ गते परेको छ भने कोजाग्रत पूर्णिमा असोज २३ गते परेको छ ।

भाइटीका कात्तिक १० गते, कागतिहार कात्तिक ६ गते, कुकुरतिहार र लक्ष्मीपूजा कात्तिक ७ गते एकैदिन परेको छ । गाईतिहार कात्तिक ८ गते परेको छ । यसपाली गाईतिहारको दिन सूर्यग्रहण परेको छ । गोबद्र्धनपूजा, म्हपूजा र नेपाल संवत् ११४३ कात्तिक ९ गते परेको छ । छठ पर्व कात्तिकमा परेको छ भने कात्तिक १८ मा हरिबोधनी अर्थात् ठूली एकादशी परेको छ ।

विवाह पञ्चमी मंसिर १२ मा परेको छ । विवाह पञ्चमीमा विवाह गर्न चाहनेले साइत हेराउनुनपर्ने मान्यता रहिआएको छ । २०७९ सालमा अधिकमास अर्थात् मलमास नपरेकोले मुख्य चाडहरु अगाडि सरेका छन् ।

कात्तिक ८ गते सूर्यग्रहण र २२ गते खग्रास चन्द्रग्रहण परेको छ । खग्रास चन्द्रग्रहणको दिन साँझदेखि सुरु हुने ग्रहणमा चन्द्रमा पूरै ढाकिएर कालै चन्द्रमा उडाउने हुँदा देख्न नै मुस्किल हुने छ ।

समितिका अनुसार २०७९ मा ५० भन्दा बढी बिहेका लगन रहेका छन् । समितिले विभिन्न १४ वटा पात्रोलाई तिथिमितिसहितको विवरण उपलब्ध गराएर माघ १५ गते बजारमा ल्याउन स्वीकृतिसमेत दिएको छ ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -