सूर्यविनायक नगर अस्पताल एक महिनाभित्र सञ्चालन हुने

भक्तपुर । सूर्यविनायक नगरपालिकाले नगरवासीका साथै अन्य नागरिकको उपचार गर्न आफ्नै अस्पताल सञ्चालनमा ल्याउने भएको छ । २५ शय्याको नगर अस्पताल सञ्चालनका लागि पाँच वटा भवनलगायत आवश्यक पूर्वाधार निर्माण सम्पन्न भएको छ ।

अक्सिजन प्लान्टसहित अस्पताल सञ्चालनको तयारीमा लागेको सूर्यविनायक नगरपालिकाका नगरप्रमुख वासुदेव थापाले बताए । अरनिको राजमार्गसँगै जोडिएको सूर्यविनायक नगरपालिका–८ जगाती चोकस्थित भक्तपुर इँटा तथा टायल कारखानाले प्रयोग गर्दै आएको नेपाल सरकारको २५ रोपनी क्षेत्रफलमा अस्पताल सञ्चालनका लागि भवन निर्माणलगायतका पूर्वाधार निर्माण सम्पन्न गरेको नगरप्रमुख थापाले जानकारी दिनु भयो ।

प्रशासनिक भवन, आकस्मिक कक्ष, आईसीयू तथा भेन्टिलेटर कक्ष, एचडीयू, ओपीडी, जनरल वार्डलगायतका संरचना निर्माण सम्पन्न भएर अस्पतालको कम्पाउण्डभित्र कालोपत्र गर्ने तयारी भइरहेको अस्पताल निर्माण समितिका संयोजक, नगरपालिकाको सामाजिक विकास समितिका संयोजक एवं वडा नं. ८ का वडाध्यक्ष किरण थापाले जानकारी दिए ।

२४ सै घण्टा सेवा दिने गरी सञ्चालन गर्ने अस्पतालमा नगरवासीका साथै भक्तपुर, काभ्रेपलाञ्चोक र सिन्धुलीलगायत पूर्वबाट आउने बिरामी तथा सडक दुर्घटनामा परेकाहरुको छिटो, सहज एवं सूलभ उपचार गर्ने वडाध्यक्ष थापाले बताए ।

सांसद महेश बस्नेतको सांसद विकास कोष, बस्नेतकै पहलमा केन्द्रीय सरकारबाट आएको ७५ लाख र बाँकी सूर्यविनायक नगरपालिकाको बजेट गरी करिब ८ करोड रुपैयाँको लागतमा अस्पताल सञ्चालनमा आउन लागेको हो । अस्पताललाई आइसीयू र भेन्टिलेटर सञ्चालनका लागि सांसद बस्नेतले १ करोड ५० लाखको बजेट व्यवस्था गरेको थियो ।

हाल नगरपालिकाले दधिकोट–५ स्थित स्वास्थ्य चौकीको स्तरोन्तर गरेर १० शय्याको सूर्यविनायक नगर अस्पताल सञ्चालन गरिरहेको छ । दधिकोटको सोहीको जनशक्ति र नगरपालिकाका विभिन्न स्वास्थ्य चौकीहरुमा अतिरिक्त संख्यामा रहेका स्वास्थ्यकर्मीलाई उक्त अस्पताल दरबन्दी गरी सञ्चालनमा ल्याइने भएको छ ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि नगरपालिकाले आफ्ना नगरवासीलाई उपचार नै नपाएर ज्यान जान नपरोस् भन्ने उद्देश्यका साथ सञ्चालनमा ल्याउन लागेको अस्पतालबाटै स्वास्थ्य बिमा सेवासमेत दिने भएको छ ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -