सबैभन्दा जनसंख्या वृद्धिदर बढी रहेको जिल्ला भक्तपुर

भक्तपुर । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा बुधबार सार्वजनिक गरेको छ । केन्द्रीय तथ्यांक विभागद्वारा सार्वजनिक गरेको नतिजाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ ।

२०६८ को तुलनामा २६ लाख ९७ हजार ९ सय ७६ जना बढी पुगेको हो । जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत मात्र रहेको नेपालमा कुल ५६ लाख ४३ हजार ९ सय ४५ वटा घर रहेको पाइएको छ । यी घरमा कुल ६७ लाख ६१ हजार ५९ वटा परिवार बसोबास गर्छन् ।

कुल जनसंख्यामा १ करोड ४२ लाख ९१ हजार ३ सय ११ जना (४८.९६ प्रतिशत) पुरुष छन् । महिलाको संख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ (५१.०४ प्रतिशत रहेको छ । नयाँ तथ्यांक अनुसार १ सय महिलाको अनुपातमा ९५.९१ जना पुरुष देखिन्छ ।

तथ्यांक अनुसार बसाइसराई अत्यधिक रहेका जिल्लामा जनसंख्याको वृद्धिदरसमेत बढी देखिएको छ । यो जनगणनाबाट जनसंख्या बढी वृद्धिदर रहेको जिल्ला भक्तपुर देखिएको छ । यहाँ ३.३२ प्रतिशतको जनसंख्या वृद्धिदर छ ।

विभागले गरेको जनगणनाको प्रारम्भिक तथ्यांक अनुसार भक्तपुरको कुल जनसंख्या ४ लाख ३० हजार ४ सय ८ जना पुगेको छ । कुल जनसंख्यामा २ लाख १७ हजार ९ सय ४२ पुरुष र २ लाख १२ हजार ४ सय ६६ महिला रहेका छन् ।

भक्तपुर जिल्लाको ४ वटा नगरपालिकामध्ये मध्यपुर थिमि नगरपालिकामा ५९ हजार १ महिला र ६० हजार ९ सय ५४ गरी जम्मा १ लाख १९ हजार ९ सय ५५ जनसंख्या रहेको छ ।

त्यस्तै भक्तपुर नगरपालिकामा ३९ हजार १ सय ९० महिला र ३९ हजार ६ सय ६४ पुरुष गरी जम्मा ७८ हजार ८ सय ५४ जनसंख्या रहेको छ ।

चाँगुनारायण नगरपालिकामा ४४ हजार ५ सय ३९ महिला र ४४ हजार ७३ पुरुष गरी जम्मा ८८ हजार ६ सय १२ जनसंख्या रहेको छ ।

यसैगरी सूर्यविनायक नगरपालिकामा ६९ हजार महिला र ६८ हजार ९ सय ७१ पुरुष गरी जम्मा १ लाख ३७ हजार ९ सय ७१ जनसंख्या पुगेको छ ।

जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार मध्यपुरथिमि नगरपालिकामा ३१ हजार ७ सय ६८, भक्तपुर नगरपालिमा १८ हजार ८ सय ५४, चाँगुनारायण नगरपालिकामा २१ हजार ९ सय ४६ र सूर्यविनायक नगरपालिकामा ३५ हजार ८ सय ८५ परिवार संख्या रहेका छन् । भक्तपुरमा लैगिक अनुपात १०२.५८ रहेको छ ।

भक्तपुरमा १ लाख ८ हजार ५ सय ५० परिवारसंख्या रहेको छ भने भक्तपुरका ७० हजार ९ सय ४६ घरको गणना गरेको थियो ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -