फोटो पत्रकार श्रेष्ठको बिस्केट जात्रासम्बन्धी एकल फोटो प्रदर्शनी

काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस) का फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठको मध्यपुर–थिमिमा बिस्केट (बिस्का) जात्रासम्बन्धी एकल फोटो प्रदर्शनी मंगलबारदेखि सुरु भएको छ । पर्यटन बोर्डको प्राङ्गणमा भएको उक्त प्रदर्शनी तीन दिनसम्म चल्ने छ ।

प्रदर्शनीमा मध्यपुर–थिमिमा हुँदै आएको जात्राको सुरुदेखि अन्त्यसम्मका १०० भन्दा बढी फोटो राखिएका छन् ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र मध्यपुर–थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले संयुक्तरुपमा मंगलबार प्रदर्शनीको शुभारम्भ गरेका थिए ।

काठमाडौं महानगरपालिकाका प्रमुख शाक्यले मूर्त तथा अमूर्त कलाको संरक्षणमा सबैको ध्यान जानुपर्ने र भावी पुस्तालाई हस्तान्तरण गर्नु सबैको दायित्व भएको कार्यक्रममा बताए । ‘काठमाडौं महानगर सम्पदा संरक्षणमा लागि परेको छ, सम्पदा सबैको हो, यसको संरक्षण गर्न सबै नागरिक लाग्नुपर्छ’, उनले भने । मौलिक परम्परा तथा जात्रालाई विश्वमा परिचित गराउँदै पर्यटनसँग जोड्नुपर्ने उनको भनाइ थियो ।

मध्यपुर–थिमि नगरपालिकाका प्रमुख श्रेष्ठले नगर क्षेत्रभित्रका जात्रा, पर्वका अमूर्त कलालाई विश्व सम्पदाका रुपमा पहिचान दिलाउन नगर लागि परेको बताए । बिस्का जात्राको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पक्षमाथि प्रकाश पार्दै उनले जात्राको प्रत्यक्ष अवलोकन गर्न सबैमा अनुरोध गरे ।

मध्यपुर–थिमि–४ का वडाध्यक्ष कुमार श्रेष्ठले हार्दिकता र मित्रता प्रगाढ बनाउने जात्राका रुपमा रहेको बिस्काको प्रचारप्रसार गर्न प्रदर्शनीले सहयोग पुर्याउने बताए । राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठले मध्यपुर–थिमिलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले विविध कार्यक्रम आयोजना गरिएको बताए ।

फोटो पत्रकार श्रेष्ठले मध्यपुर–थिमिमा धुमधामका साथ मनाइने बिस्का जात्राको ऐतिहासिक र सांस्कृतिक पक्षबारे अवगत गराउन प्रदर्शनी आयोजना गरिएको बताए । उनले आफूले खिचेका फोटोको प्रदर्शनी गरेर जात्राको प्रवद्र्धन गर्न खोजेको उल्लेख गरे । ‘नगरको अमूल्य निधिका रुपमा रहेको जात्राको प्रचारप्रसार होस् भनेर प्रदर्शनी आयोजना गरेको हुँ’, उनले भने ।

हरेक वर्षको अन्त्यसँगै नयाँ वर्षको सुरुआतमा ऐतिहासिक महत्वको बिस्का जात्रा मध्यपुर–थिमि क्षेत्रमा मनाइँदै आइएको छ । जात्रा चैत ३०, वैशाख १ र २ गते हर्षोउल्लासका साथ मनाइन्छ ।

चैत ३० गते विष्णुवीर देवताको जात्रा, वैशाख १ गते बालकुमारी कुहाँ बिज्याइग र सिद्धिकाली जात्रा तथा वैशाख २ गते सुंथसिया जात्रा, ३२ खट जात्रा र जिब्रो छेड्ने जात्रा मनाइने गरिन्छ ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -