भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सुरु

भक्तपुर– ऐतिहासिक महत्व बोकेको भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा आज (आइतबार) देखि सुरु भएको छ । आठ दिन नौ रातसम्म चल्ने बिस्केट जात्रा भक्तपुरको टौमढी क्षेत्रस्थित पाँचतले र भैरवनाथ मन्दिर परिसरमा बनाइएको तीनतले प्यागोडा शैलीको भैरवनाथको रथ तानेर सुरु भएको हो ।

बिस्केट जात्राको पहिलो दिन भैरवनाथको रथमा भैरवनाथ मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्रांगणबाट माथिल्लो र तल्लो क्षेत्रमा रथ तानेर लैजाने परम्परा छ । लामा तथा मोटा आठ वटा डोरीले रथलाई अगाडि र पछाडि तानेर टौमढीबाट करिब २०० मिटर दक्षिण गःहिटी पु¥याएपछि पहिलो दिनको जात्रा सम्पन्न हुने प्रचलन छ ।

भैरव मन्दिरमा जात्रा सञ्चालक आकाश भैरव गुठी तथा भद्रकाली गुठीका रकमी तथा भैरव मन्दिरका पुजारीहरुको संलग्नतामा भैरवको नित्यपूजा, गुह्य पूजालगायत सम्पन्न भएपछि रथ तान्न सुरु गरिएको हो ।

पहिलो दिन टौमढीमा रथ तानिने, चैत मसान्तमा ल्यासिङ्खेलमा इन्द्रध्वजासहितको लिङ्गो उठाइने, वैशाख १ गते दिनभर लिङ्गो जात्रा गरी साँझ लिङ्गो ढालिने र वैशाख ५ गते टौमढीमा भैरवको रथ तानिन्छ । उक्त दिन भैरवको रथ तानेर पाँचतले मन्दिरको पश्चिम कुनामा राखी बेताली भैरवको मुख्य देवतालाई मन्दिरमा भित्र्याएपछि तान्त्रिक विधिअनुरुप पूजा गरी यस वर्षको बिस्केट जात्रा सम्पन्न गर्ने परम्परा छ ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -