आजदेखि एसईई परीक्षा सुरू

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट देशभर सुरु भएको छ । बिहान ८ बजेबाट सुरू परीक्षाको पहिलो दिन अंग्रेजी विषयको परीक्षा भएको थियो । एसईई परीक्षा वैशाख २० गते सकिने छ ।
कोरोना महामारीका कारण अघिल्ला दुई वर्षसम्म लगातार हुन नसकेको परीक्षा यस वर्ष राष्ट्रिय परीक्षा बोर्डले भौतिक रुपमै सन्चालन गरेको हो । अघिल्ला वर्ष विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा बोर्डले नतिजा सार्वजनिक गरेको थियो ।
यसपालि बोर्डले तयार पारेको प्रश्नपत्रका आधारमा विद्यार्थीले निश्चित परीक्षा केन्द्रबाट दुई वर्ष पहिलेको जस्तै परीक्षा दिँदै छन् । देशभरका २ हजार ७ परीक्षा केन्द्रमा ५ लाख १४ हजार ७ सय ६० विद्यार्थी सहभागी हुनेछन् ।
नियमिततर्फ ४ लाख ८८ हजार ७ सय ४२ र ग्रेडवृद्धितर्फ ११ हजार ४ सय ५४ ले परीक्षा दिँदै छन् । ग्रेडवृद्धि परीक्षा दिने विद्यार्थी दुई वर्षअघिका हुन् । गत दुई वर्ष आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्दा ग्रेडवृद्धिको अवसर दिइएको थिएन । २९९ प्राविधिक विद्यालयका १४ हजार ५ सय ६४ विद्यार्थी पनि सामेल हुँदै छन् ।
साउन १ देखि कक्षा ११ को शैक्षिक सत्र सुरु हुनुअघि नै एसईईको नतिजा सार्वजनिक गरिसक्ने बोर्डले जनाएको छ ।

ईश्वरलाल श्रेष्ठ
+ posts

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -