विश्व रक्तदाता दिवस : जीवन र रगत

रगत जीवनका लागि अतिनै महत्वपूर्ण चिज हो । एक ब्यक्तिले दिए मात्रै अर्को आवश्यक परेको ब्यक्तिले पाउँछ र उसको जीवन बाँच्न सक्छ । रगत त कुनै पनि प्रयोगशालामा बन्दैन, यो त स्वस्थ ब्यक्तिले दिनुभन्दा अन्य कुनै विकल्प नै छैन ।

रगत जीवन रक्षक भएकाले रक्तदान जीवनदान भनिएको हो । आज दान गरेको रगतले कसैको जीवन बाँच्छ । भविष्यमा हिजो रगत दिनेलाई पनि चाहिन सक्छ । सुत्केरी, युद्धका घाइते, दुर्घटनमा परेका ब्यक्ति, ठूला शल्यक्रिया गरेका र क्यान्सरका विरामीलाई रगत अति आवश्यक पर्छ । त्यसैगरी सिकलसेल एमिनिया प्रभावित भएर जन्मेका बच्चालाई जीवनभर रगत चढाइरहनुपर्छ ।

रगतले शरीरका कोष–कोषमा ग्लुकोज, एमिनो एसिडजस्ता पोषण तत्वहरु र अक्सिजन पुर्याउने काम गर्छ । शरीरमा काम नलाग्ने युरिया, ल्याट्रिक एसिड, कार्वनडाइअक्साड बाहिर निकाल्न सहयोग पुर्याउँछ । एक स्वस्थ मानिसको शरीरमा ५.५ लिटर रगत हुन्छ । रगतमा प्जाज्मा ५४.३ प्रतिशत, रातो रक्तकोष ४५ प्रतिशत र सेतो रक्तकोष ०.७ प्रतिशत रहेको हुन्छ ।

विश्व स्वास्थ्य संगठनले सन् २००४ मा भएको दक्षिण अफ्रिकाको कार्यक्रममा जुन १४ लाई विश्व रक्तदाता दिवस मनाउने घोषणा गरेको थियो । यसलाई विश्वका धेरै मुलुकहरुले अनुशरण गर्दै जुन १४ लाई रक्तदान दिनका रुपमा मनाउने गरेका छन् । यो दिन मानव रक्त समूह ‘ब्लड ग्रुप’ पत्ता लगाउने बैज्ञानिक कार्ल ल्याण्डस्टेनरको जन्म दिन हो ।
यस दिवसको उद्देश्य सुरक्षित रगत उत्पादनको आवश्यकताका बारेमा जागरुकता बढाउनु र जीवन बचाउने रगतको दान गर्न प्रोत्साहित गर्नु हो । साथै यस अवसरमा रक्तदातालाई सम्मान स्वरुप धन्यवाद ज्ञापन पनि गरिन्छ । साच्चै भन्ने हो भने, यस दिन नयाँ रक्तदाता वा युवालाई रगत दानका लागि उत्प्रेरित गर्नु नै हो ।

विश्वका विकशित देशहरुमा रगतको त्यती अभाव हुँदैन । त्यहाँका जनसमूदाय रक्तदान गर्न स्वयं उत्प्रेरित हुन्छन् । निम्न आय भएका हाम्रो जस्तो देशमा भने रगतको सधैजसो अभाव हुने गरेको छ । त्यसो हुनु युवायुवतीलाई रक्तदानका बारेमा बुझाउन नसकेरै हो । उनीहरुमा रगत दानका लागि उत्प्रेरणा जागरण भएको पाइन्न । हाम्रो मुलुकमा पनि यही स्थिती रहेको पाइन्छ ।

विश्वमा लगभग वार्षिक १२ करोड पोका रगत दान हुने गर्छ । नेपालमा भने ३ लाख पोका दान हुने तथ्यांक रहेको छ । यसले जनसंख्याको थोरै प्रतिशतले मात्रै रक्तदान गर्छन् भन्ने देखाउँछ । हाम्रो मुलुकमा स्वयम्सेवी रक्तदाता, विरामीका आफन्त, साथीभाइबाट रगत संकलन हुने गर्छ । त्यसैगरी सामाजिक संघसंस्थाले रक्तदानको कार्यक्रम गरेर पनि रगतको संकलन गर्छन् । हामीकोमा रगतको अभाव भई नै रहने हुनाले रगत दान गर्ने कामलाई प्रसय दिन अति नै जरुरी छ ।

जुन १४ मा विश्व रक्तदाता दिवस मनाउन थालेपछि प्रत्येक बर्ष यस अवसरमा समसामायिक नारा तयार पारिन्छ । गत बर्ष सन् २०२१ को नारा ‘रक्तदान गरौं, संसारलाई चलायमान बनाऔं’ भन्ने थियो । यसपाली सन् २०२२ को ‘रगत दान गर्नु एकताको काम हो, जीवन बचाउने प्रयासमा सामेल हौं’ भन्ने भावको छ ।

कार्ल ल्याण्डस्टेनरले सन् १९०१ मा शरीरमा ए, वि, एवि र ओ रगत समूह हुने पत्ता लगाएका थिए । हाल ओ पोजेटिभ, ए पोजेटिभ, वि पोजेटिभ र एवी पोजेटिभ त्यसैगरी ओ नेगेटिभ, ए नेगेटिभ, वि नेगेटिभ र एवी नेगेटिभ गरी ८ प्रकारका ब्लड ग्रुप मानिन्छ । एवि पोजेटिभ रगतलाई यूनिभर्सल प्रापक मानिन्छ । कुनै पनि रक्त समूहको ब्यक्तिबाट उसले रगत लिन सक्छ । ओ नेगेटिभलाई यूनिभर्सल डोनर मानिन्छ । यो रगत भएका ब्यक्तिने कुनै पनि रक्तसमूह भएका ब्यक्तिलाई दिन सक्ने हुन्छ । यो समूहको रगत पाउन निकै कठिन हुन्छ । हाल जुन गु्रपको हो सोही गु्रपको मात्र रगत दिने चलन छ । रगतमा हेमोग्लोविन, प्लेटलेट्स् र रक्त कोसिका रहेका हुन्छन् । रगतमा हुने प्लेटलेट्सलाई ५ दिनसम्म र रेड ब्लड सेललाई ४२ दिनसम्म प्रयोग गर्न सकिन्छ । हेमोग्लोविन भएकै कारण रगत रातो हुन्छ ।

कतिपय समाजमा रक्तदान गरेपछि शरीर कमजोर हुन्छ र त्यसपछि विभिन्न रोगले सताउछ भन्ने भ्रम रहेको छ । यो यर्थात होइन । शरीरमा पानीको मात्रा कम भएमा, भोको पेट भएमा वा कमजोर भएको अवस्थामा रगत दिंदा रिंगटा लाग्ने वा कमजोर भएको महसुस हुन्छ । रगत दिनुभन्दा २/४ घण्टा अघि प्रशस्त पानी वा झोलिलो पदार्थ पिउने गरेमा कुनै फरक नपर्ने रक्तदाताहरु सुनाउँछन् ।

स्वस्थ ब्यक्तिले नै रगत दिने हो । एक स्वस्थ ब्यक्तिले ९० दिनको अन्तरालमा रक्तदान गर्न सक्छ । रगत दिनु पूर्व केही चेकजाँच पनि गरिन्छ । शरीरमा रहेको आइरनको मात्रा, रक्तचाप, नाडीको गति, शारीरिक तापक्रम र वजन नापिन्छ । रिंगटा लागिरहने, पसिना आइरहने, वजन कम भएका ब्यक्तिले दिन मिल्दैन । महिनावारी भएको ७ दिनभित्र, बच्चालाई दुध खुवाउने र गर्भवती महिलाले पनि रगत दिनुहुँदैन । उच्च रक्तचाप, सुगर जस्ता दीर्घ रोगीको पनि रगत झिक्ने गरिन्न ।

रगत सामान्यतया १८ बर्षदेखि ६० बर्षसम्मका कम्तिमा ४५ केजी वजन भएका स्वस्थ्य ब्यक्तिले दिने गर्छन् । कुनै पनि ब्यक्तिको शरीरबाट रगत लिइसकेपछि विरामीलाई चढाउनु पहिले एचआईभी, हेपटाइटिस् वि र हेपटाइटिस सी र सीफिलिस्को टेष्ट गरिन्छ । संक्रमित नभएको स्वस्थ रगत मात्रै विरामीलाई दिइन्छ ।

रगत जीवनका लागि अतिनै महत्वपूर्ण चिज हो । एक ब्यक्तिले दिए मात्रै अर्को आवश्यक परेको ब्यक्तिले पाउँछ र उसको जीवन बाँच्न सक्छ । रगत त कुनै पनि प्रयोगशालामा बन्दैन, यो त स्वस्थ ब्यक्तिले दिनुभन्दा अन्य कुनै विकल्प नै छैन । त्यसैले ‘रक्तदान जीवनदान’ गीतले भनेझैं हामी पनि रगत दान गरेर अरुको जीवन बचाउने पून्य काममा
सरिक हौं ।
परोपकार मानव सेवा,
गरौं मिली, नगरौं अबेला ।
रक्तदान हो जीवनदान,
सबैभन्दा पून्यको हो काम ।।

तुला तिमिल्सिना
+ posts

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -