शान्त जीवनका लागि योगाभ्यास

सन्दर्भ : अन्तर्राष्ट्रिय योग दिवस

मोक्ष्यको प्राप्ति नै हो योग सार,
ब्रम्हसँग गराउँछ एकाकार ।

हरेक बर्ष जुन २१ मा अन्तराष्ट्रिय योग दिवस मनाइन्छ । जुन २१ बर्षको सबैभन्दा लामो दिन पनि हो । पूर्विय दर्शनमा आधारित योगको ज्ञान अन्तर्राष्ट्रियकरण भएको धेरै समय भएको छैन । यसपालिको विश्व योग दिवस आठौं हो ।

सन् २०१४ सेप्टेम्वर २७ को संयुक्त राष्ट्रसंघको ६९ औं महासभामा भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले अन्तर्राष्ट्रिय योग दिवसको प्रस्ताव गरेका थिए । योग गुरु रवि शंकरको नेतृत्वले अन्तर्राष्ट्रिय योग दिवसको घोषणामा हस्ताक्षर गरेपछि सन् २०१५ जुन २१ बाट यसको सुरु भएको हो । त्यसबेला योग दिवसको समर्थन गर्नेमा नेपालका प्रधानमन्त्री सुशील कोइराला पनि थिए ।

योग भनेको जोड्नु हो । जीवात्मालाई परमात्मासँग जोड्ने क्रम नै योग हो । यसले चेतनाको तहमा परिवर्तन ल्याउँछ र व्यवहारलाई सुधार्छ । योगले मन र आत्मा सन्तुलित राख्छ, यसैबाट परमात्मा प्राप्ति गर्न सहज हुन्छ । योग युगौंयुगको संस्कृति हो, परम्परा हो । शैव परम्परा अनुसार योगको सुरु आदिदेव शिवजीबाट भएको मान्यता छ । उनलाई आदियोगी वा प्रथमयोगी पनि भनिन्छ । सप्तऋषि (वशिष्ठ, कश्यप, अत्री, जमदग्नी, गौतम, विश्वामित्र र भरद्वाज) ले योगको ज्ञान भगवान् शिवबाट प्राप्त गरे र यस जगतमा फैल्याए ।

भगवान् श्रीरामलाई ऋषि बशिष्ठ र विश्वामित्रले कर्मयोगको ज्ञान दिएका थिए । भगवान श्रीकृष्णले महर्षि सांदीपनी, वेदब्यास जस्ता गुरुहरुबाट पाएको योगको ज्ञान अर्जुनलाई दिए । त्यसैगरी गौतम बुद्धले भने भगवान महावीरबाट सिकेका थिए । महर्षि पतंञ्जलिले योग सूत्रको माध्यमबाट र शंकराचार्यले बेदांगका माध्यमबाट योगको प्रचार प्रसारमा सहजता ल्याएका थिए ।

योगको अभ्यास र प्रयोगले निकै फाइदा दिन्छ । शरीर स्वस्थ हुन्छ, रोग लागेको भए पनि निको बनाउँछ । मन खुशी र चित्त प्रसन्न बनाउँछ । मानसिक रोगीका लागि त अचुक औषधि नै हो । प्रेमको भावना जागृत भई मनमा आनन्द जगाउँछ । मानसिक शक्ति बृद्धि भई सोचेर बोल्ने बानीको विकास हुन्छ । काममा जोस र जाँगर बढ्छ । जीवन सफल बन्छ । योग गर्ने ब्यक्तिको शरीरमा ऊर्जा जागरण र ज्ञान बुद्धिको विकास हुने भएकाले सिद्धी प्राप्ति हुन्छ ।

योगले शरीर स्वस्थ, मन शान्त, चित्त शुद्ध र ध्यान परमात्मामा लगाउन महत्व राख्दछ ।

आज संसारमा युद्ध, अशान्ति, चोरी, असुरक्षा दिनानुदिन बढिरहेको छ । रुसले युक्रेनमाथि हमला गरेको निकै महिना भइसक्यो । यतिबेला मानिस जनावरबाट भन्दा पनि मानिसबाटै बढी डराउनु पर्ने बेला आएको छ । ‘प्रकृतिका कृतिलाई या संसारलाई विगार्ने अधिकार कसैसँग छैन,’ योग र प्राकृतिक उपचारक डा. हरिप्रसाद पोख्रेल भन्नुहुन्छ, ‘मानिस ज्ञान लिन सक्ने बुद्धिजीवी प्राणी हो ।’

आफैंले आफैंबाट आफैंका लागि गरिने यात्रा हो, योग । यसले मानवमा प्रेम, शान्ति र करुणा भरिदिन्छ । ऋषि र योगीहरुले आफैंसँग अन्तरनिहित र बाहिरबाट ज्ञान लिएर समाज रुपान्तरणका लागि लागिपरे । योगमा जात, रंग र धर्मको सीमा रहँदैन । यसले एक ब्यक्तिको जीवन मात्रै होइन संसारलाई पनि रुपान्तरण गर्ने क्षमता राख्छ । योगका साधकलाई भेट्दा सदाचारी, आध्यामिक ब्यक्तिलाई भेटेको अनुभव हुनुपर्छ । मानवता र आध्यामिकताबाट जीवनमा सुख, शान्ति र समृद्धि प्राप्त हुन्छ ।

योगमा नारीवर्गको चासो बढी देखिन्छ । योगमा सामेल हुनेमध्ये करिब ७० प्रतिशत नारी हुन्छन् । नेपाली मन र नेपाली आत्मामा योग बसिसकेको छ । ‘योग गर्ने ब्यक्तिको शरीरमा ओजस्वीता, मनमा तेजस्वीता र आत्मामा वर्जस्वीता हुन्छ,’ योग अन्वेशक डा. राजु अधिकारी सुनाउनुहुन्छ, ‘यसले नै मन, बुद्धि र चित्तलाई शुद्ध बनाउँछ ।’

योगले बाँच्ने शैली, बोल्ने शैलीमा परिवर्तन गराउँछ । शरीर र मनलाई स्वस्थ बनाउँछ । गुरुबाट सुनेर, किताव र शास्त्र पढेर, चिन्तन गरेर, अनुभव गरेर र भावनामय साक्षात्कार गरेर ज्ञानका चार तह पूरा हुन्छन् । योगले मनका तह खोल्ने काम गर्छ । ‘शरीर, मन र भावनामा परिवर्तन, विचारमा शुद्धता आउनुपर्छ,’ मनोक्रान्ति केन्द्रका संस्थापक डा. योगी विकासानन्द यसै भन्नुहुन्छ ।

योगको सुरुवात नेपालबाटै भएको मान्यता छ । अब विश्वब्यापी रुपमा फैल्याउन जरुरी छ । योगले अशान्त मनलाई शान्त बनाउँछ । चेतनाको ढोका खोल्छ । आत्मालाई परमात्मासँग साक्षात्कार गर्न सिकाउँछ । कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानका संस्थापक चैतन्यकृष्ण प्रभुका अनुसार योगले संकट समाधानको बाटो निकाल्न सक्छ । योग सम्पूर्ण समस्याको समाधान हो । जीवन करुणामय र प्रेममय बनाउन, चञ्चल मनलाई परमात्मासँग जोड्न योगले नै सिकाउँछ ।

स्वस्थ शरीर, शान्त जीवन, आनन्दित मन, आध्यामिक चेतनाका लागि योगको महत्व रहेको छ । प्राचिनकालमा मानसिक शान्ति, स्थिरता र आरोग्यता प्राप्त गर्ने माध्यमहरु योग, ध्यान र आयुर्वेद थिए । आयुर्वेदलाई योगसँग जोड्ने प्राचिन परम्परा हो । यसै अनुसार काठमाडौंको नरदेवी आयुर्वेद अस्पतालले २०४८ सालदेखि उपचारमा योगको अभ्याससमेत थालनी गरेको छ । नेपाली पाठ्यक्रममा पनि योग शिक्षा समावेश गरेर अध्यापन गर्ने क्रम थालिएको छ ।

अन्तराष्ट्रिय योग दिवसको अवसरमा नेपालमा पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा काठमाडौंको रत्नपार्कस्थित शान्ति बाटिकाबाट प्रभातफेरी गरियो । भद्रकालीमा योग सम्बन्धी संघसंस्थाहरु, योग अनुरागीदेखि मन्त्रीहरु र प्रधानमन्त्रीको सहभागितामा विशेष कार्यक्रम भयो ।

परापूर्वकालमा ऋषि, महर्षिले योगको ज्ञान जगतभर फैल्याए । आज यसलाई विश्व मानव कल्याणमा लगाउने बेला आएको छ । जीवन विज्ञानका प्रणेता रमेश नेपालले भनेझैं मनलाई शान्ति र आनन्दसँग जोड्नुपर्छ । त्यसलाई आत्मा हुँदै परमात्मासँग पु¥याउनुपर्छ । यसबाट मानवमा प्रेम र करुणा जाग्दछ । योगका माध्यमबाट काम, क्रोध, लोभ, मोह र रिसलाई सदुपयोग गर्न सिक्नु परेको छ । सुख, शान्ति र आनन्द लिदैं आत्मालाई परमात्मासँग साक्षात्कार गर्ने बाटो पहिल्याउनु परेको छ । यसले नै जीवन सरल, सहज र सार्थक बनाउँछ ।

तुला तिमिल्सिना
+ posts

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -