पुर्ख्याैली व्यवसाय प्रबर्द्धनमा साथ दिन्छु : मेयर श्रेष्ठ


भक्तपुर– मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले पुर्ख्याैली पेसा र व्यवसाय प्रबर्द्धनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । टोलका थकाली ९१ वर्षीय मोहनलाल लाखे मानन्धरको समुपस्थितिमा मध्यपुर थिमि नगरपालिकाका मेयर श्रेष्ठले भवन उद्घाटन गरेका हुन् ।

कार्यक्रममा सांस्कृतिक महत्व बोकेको लाय्कू साः (पुर्ख्याैली प्रविधिमा आधारित तोरीको तेल बनाउने कारखाना) भवन उद्घाटन गर्दै मेयर श्रेष्ठले लोप हुने अवस्थामा पुगेको मौलिक पेसालाई संरक्षण र प्रबर्द्धन गर्ने क्षेत्रमा नगरपालिकाको विशेष सहयोग रहने बताएका हुन् । उहाँले सिवा सायमी खलःको नेतृत्वमा पुनर्निर्माण सम्पन्न भएको भवनलाई खलःकै नाममा स्थायी लालपूर्जा बनाइदिने समेत आश्वासन दिए ।

मानन्धर समुदायको पुर्ख्याैली पेसाको रूपमा रहेको तोरीको तेल उत्पादन गर्ने घरेलु उद्योगलाई पुनर्उत्थान गर्नुपर्ने देखिन्छ । यही सन्दर्भमा पुर्ख्याैली व्यवसायलाई सामूहिक लगानीमा कम्पनीको रूपमा विकास गर्ने अभियानको थालनी भएको छ । भक्तपुर चेम्बर अफ कमर्स र जिल्लाका विभिन्न ठाउँमा सघन रुपमा बस्दै आएका मानन्धरहरुले यस अभियानमा साथ दिइरहेका छन् । सरोकारवाला पक्षले साथ दिने हो भने भक्तपुरको स्थानीय उत्पादनको रुपमा रहेको जुजु धौ, कालो टोपी, ह्याण्डीक्राफ्ट, लोकल रक्सी, चिउरा, चाकुलगायतका वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा विक्री वितरण गर्न सकिन्छ ।

कार्यक्रममा उपमेयर विजयकृष्ण श्रेष्ठले तेल उत्पादनको क्षेत्रमा आत्मनिर्भर हुनुपर्ने बताए । ‘केही दसकअघिसम्म म आफैं तोरीको तेल खरिद गर्न जान्थें । तर आजको दिनमा यस्तो अवस्था छैन । हामी विदेशी तेलको प्रयोग गरिरहेका छौं,’ श्रेष्ठको भनाइ थियो । पुर्ख्याैली पेसा र परम्परागत प्रविधिलाई आत्मसात गरी स्थानीय क्षेत्रमै उत्पादन हुने बस्तुलाई प्राथमिकता दिने हो भने आयात प्रतिस्थापन सम्भव भएको उपमेयर श्रेष्ठको भनाइ छ ।

त्यस्तै, थिमिको मल्लकालीन दरबार अर्थात लायकू परिसरसँगै रहेको भएर पुलां साः वा क्वथु साःलाई लायकू साःको रुपमा सम्बोधन गरिएको खलःका अध्यक्ष अष्टरत्न मानन्धरले बताए । ‘लायकू साः पुनर्निर्माण गरिएको टोलको नाउँ साःननि र सँगै रहेको इनारको नाउँ साः तुंथि रहेको छ । यिनीहरुको नामाकरणसमेत लायकू साःको आधारले हुनपुगेको हो,’ अध्यक्ष मानन्धरको दाबी छ ।

कार्यक्रममा पुर्ख्याैली व्यवसायको रुपमा रहेको तोरीको तेल उत्पादन गर्ने मौलिक प्रविधिमा आधारित साःलाई सांस्कृतिक, धार्मिक, सम्पदाजन्य र सामुदायिक जीवनशैलीसँग जोडेर चर्चा गरिएको थियो ।

कार्यक्रममा पूर्वमेयर मदनकृष्ण श्रेष्ठ, भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुछेरत्न मानन्धर, वडा नं. ४ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठ, वडा सदस्य रामकेशरी श्रेष्ठ, पूर्वजिसस उमेश श्रेष्ठ, राजनीतिज्ञ राजेश (माइला) मानन्धरलगायतको उपस्थिति रहेको थियो । गंगाराम मानन्धरको संयोजन र मनोजलाल मानन्धरको नेतृत्वमा भवन निर्माण सम्पन्न भएको हो । भवन पुनर्निर्माणका लागि स्थानीय टोलबासीहरुले आर्थिक र भौतिक सहयोग गरेका थिए ।

केके मानन्धर
+ posts

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -