उपत्यकामा नो हर्न अभियान पुन: सुरु

काठमाडौं- काठमाडौं उपत्यकामा आजदेखि नो हर्न कार्यक्रमलाई पुनः अभियानकै रुपमा अगाडी बढाइएको छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तरगत काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको प्रमुख आतिथ्यमा आइतबार एक कार्यक्रम गरी नो हर्न अभियानलाई पुनः सुरु गरिएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरी र काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले नो हर्न लेखिएको पहेँलो स्टिकर एक अर्काको सवारी साधनमा टाँसेर कार्यक्रमको समुद्घाटन गर्नु भएको थियो ।

नो हर्न अभियान सफल बनाउनका साथै सडक प्रयोगकर्ताहरुमा सचेतना फैलाउनका लागि आइतबारबाट पद्मकन्या बहुमुखी क्याम्पसका एक सय जना विद्यार्थी १५ दिनका लागि ट्राफिक प्रहरीसँगै सडकमा खटिने भएका छन् ।

हर्नले ध्वनी प्रदुषण मात्र नभई व्यक्तिको मानसिक स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पार्ने भएकाले नो हर्न कार्यक्रमलाई निरन्तरता दिनका लागि यो कार्यक्रम पुनः सुरु गरिएको काठमाडौं महानगर प्रमुख शाहले बताउनु भयो । काठमाडौं उपत्यकामा ध्वनी प्रदुषण नियन्त्रणका लागि २०७४ साल वैशाख १ गतेबाट नो हर्न लागु गरिएको थियो । जस अनुसार अत्यावश्यक पर्दाबाहेक अन्य अवस्थामा हर्न बजाउन निषेध गरिएको छ ।

कार्यक्रम रामशाहपथस्थित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्राङ्गणबाट सुरुवात भएको थियो । साथै काठमाडौं महानगरपालिकाका मेयर शाह, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक चौधरी तथा भोलन्टियर र पद्मकन्या क्याम्पसका प्राध्यापक र विद्यार्थीले सिंहदरबार चोकमा गइ सार्वजनिक तथा निजी सवारीसाधनहरुमा नो हर्न लेखिएको स्टिकर टाँस्नु भएको थियो । उक्त कार्यक्रम काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पस र धापसीस्थित कान्तिपुर डेण्टल कलेज तथा हस्पिटलले संयुक्त आयोजना गरेको हो । कार्यक्रममा करिब दुई सय जनाको सहभागिता रहेको थियो ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -