हनुमन्ते करिडोरवरिपरि २ आना जग्गा पनि छैन : सांसद बस्नेत

मध्यपुर थिमि (भक्तपुर)– भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित संघीय सांसद तथा पूर्वमन्त्री महेश बस्नेतले भक्तपुरमा सञ्चालित कुनै पनि साना–ठूला व्यवसायमा आफू र आफ्नो परिवारको नाममा कुनै पनि लगानी नरहेको स्पष्ट पारेका छन् ।

मध्यपुर सञ्चार समाजद्वारा मंगलबार आयोजित साक्षात्कार कार्यक्रममा भक्तपुरमा भएका जग्गा प्लानिङ, शैक्षिक क्षेत्र र हनुमन्ते करिडोर वरिपरि आफ्नो लगानी रहेको भ्रम फैलाइएको भन्दै आफू र आफ्नो परिवारको नाममा २ आना जग्गा मात्र भए पनि सप्रमाण आएमा उसैलाई दिने सांसद बस्नेतले बताए ।

सांसद् बस्नेतले आफू पैसा कमाउन राजनीतिमा नआएको स्पष्ट पार्दै आफूले अहिलेसम्म भ्रष्टाचार नगरेको र कसैले पैसा खाएको वा मागेको प्रमाणित गरिदिए सार्वजनिक पदधारण नगर्ने मात्र नभई राजनीति नै नगर्नेसमेत उद्घोष गरे ।

५ वर्षको अभियानमा जनप्रतिनिधिको हैसियतले काम गर्न सकेको स्मरण गर्दै सांसद बस्नेतले भक्तपुर जिल्ला पहिला बत्तिमुनिको अँध्यारो जिल्लाजस्तो भएको र २०७४ मंसिर २१ पछि संघीय संसदमा भक्तपुरका बारे आवाज उठाएको बताए । भक्तपुरको विकासका लागि उपत्यका विकास प्राधिकरण र सहरी विकास प्राधिकरणबाट केबुल र तारलाई व्यवस्थित गर्न अण्डरग्राउण्डका लागि ४ अर्ब बजेट राख्न लगाएको बताए । हनुमन्ते करिडोरका लागि २ अर्ब बजेट छुट्याएकोमा स्थानीयबीच तालमेल हुन नसकेर त्यो बजेट खेर जान अवस्थामा पुगेको पनि सांसद बस्नेतले बताए ।

भक्तपुरवासीका लागि सदैव सहयोगको हात अघिबढाएको बताउँदै आफू संघीय संसदमा एमाले पार्टीको सांसद भए पनि भक्तपुरवासीका लागि पार्टीगत पूर्वाग्रह नराखी काम गर्दै आएको सांसद् बस्नेतले बताए । २०७० को निर्वाचनमा पराजित भएर पनि जनताको सेवालाई मूलमन्त्र बनाएर अघिबढिरहेका कारण २०७४ को निर्वाचनमा आफूलाई जिताएको सांसद बस्नेतले स्मरण गर्नुभयो । आफ्नो कार्यकालमा भक्तपुरमा हालसम्मै धेरै विकास निर्माणका कार्य भएको र भक्तपुरका लागि आफ्नै पहलमा अरबौंको बजेट ल्याएको सांसद बस्नेतले बताए ।

नेकपा एमालेका पोलिटब्यूरो सदस्यसमेत रहेका सांसद बस्नेतले राजनीतिमा प्रतिस्पर्धा तर विकासमा ऐक्यबद्धता भन्ने अभियान भए तापनि दलहरुले आफ्नो खुट्टा तान्ने प्रयास मात्र गरेको आरोप लगाए । नेमकिपाले कुरा नबुझ्दा अन्तर्राष्ट्रियर स्तरको खेल मैदान बनाउन नदिएको गुनासो पनि सांसद बस्नेतले गरे । त्यस्तै मध्यपुर थिमि नगरपालिका जनप्रतिनिधिसँगको तालमेल नमिलेका कारण मध्यपुर थिमि नगरपालिकामा जति विकास हुनुपर्ने हो, त्यति हुन नसकेको पनि कार्यक्रममा खुलासा गरेका थिए । सांसद बस्नेतले सयौं रोपनी सार्वजनिक जग्गा आफ्नो पहलमा फिर्ता ल्याइएको, हनुमन्ते र मनोहरा करिडोरको काममा निस्वार्थ ढंगले लागेको, भक्तपुरलाई आर्थिक, सांस्कृतिक र पर्यटकीय गन्तव्यस्थल बनाउन पहल गरिएको र बिनाभेदभाव आवश्यकतामा आधारित बजेट विनियोजन गरिएको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका कार्यवाहक अध्यक्ष सुन्दर सिल्पकारले सांसद बस्नेतले आफूलाई मिडिया नचाहिने भनेर दिएको सार्वजनिक अभिव्यक्तिप्रति गुनासो व्यक्त गरेका थिए । उनले पत्रकार महासंघको भवन बनाउन सांसद बस्नेतको सहयोगको समेत अपेक्षा गरेका थिए ।

मध्यपुर सञ्चार समाजका अध्यक्ष बाबुकाजी साँछे श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सागर गुरागाईंले स्वागत मन्तब्य राखेका थिए भने सञ्चालन सचिव सुमन श्रेष्ठले गरेका थिए । २ दर्जन बढी पत्रकारको सहभागिता रहेको कार्यक्रमको व्यवस्थापन मानव अधिकार एलाइन्स, भक्तपुरले गरेका थिए ।

बाबुकाजी साछें श्रेष्ठ
+ posts

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -