मध्यपुर थिमिको बजेट पुस्तिका सार्वजनिक

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० को लागि नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको गत असार २० गते सम्पन्न छैंठौं नगरसभाले पारित नीति तथा कार्यक्रम र बजेटलाई पुस्तकको रुपमा बुधबार सार्वजनिक गरेको हो ।
चालु आ.व.का लागि मध्यपुर थिमि नगरपालिकाको बजेट एक अर्ब ७८ करोड, १० लाख ५० हजार रुपैंया रहेको छ । जसमध्ये चालु खर्चतर्फ ५९ करोड ५९ लाख ४४ हजार रुपैया, वडागत योजना कार्यान्वयनका लागि २७ करोड ९ लाख रुप्रया, नगर स्तरीय योजना र सार्वजनिक निर्माण समेतका लागि ५७ करोड ६९ लाख ५६ हजार रुपैया विनियोजन गरिएको छ ।
पुस्तक सार्वजनिक कार्यक्रममा नगर प्रमुख सुरेन्द्र श्रेष्ठले चालु आर्थिक वर्षको विकास बजेटलाई सदुपयोग गरी समयमा नै विकास निर्माणका कार्य सम्पन्न गर्न र विकास बजेटको खर्च बढाउन भदौ महिनादेखि नै योजनालाई कार्यान्वयनमा लैजाने बताउनु भयो । श्रेष्ठले विगतमा आर्थिक वर्षको अन्त्यमा जथाभावी खर्च गर्ने प्रवृत्तिको अन्त्य गर्दै यसवर्ष जेठ महिनाभित्र सबै योजनाको काम सम्पन्न हुने गरी वडा वडामा समेत योजना कार्यान्वयनमा लैजान वडाअध्यक्षहरुलाई निर्देशन समेत दिइएको सो अवसरमा जानकारी दिनुभयो ।
नगर प्रमुख श्रेष्ठले निर्वाचित भएर आएको दुई महिनामा नै चार वटा ऐन निर्माण गरी नगरसभाबाट पारित गरिएको, मध्यपुर थिमि नगरवासीलाई कुनै पनि रोगको उपचारका लागि आवश्यक रगत नेपाल रेडक्रस सोसाईटी भक्तपुरसँगको सहकार्यमा नि:शुल्क प्रदान गर्ने व्यवस्था गरिएको, नगरका ज्येष्ठ नागरिकहरुको नि:शुल्क स्वास्थ्य बिमा कार्यक्रम शुरु गरिएको, नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा मिर्गौलाको डायलासिस सेवा सञ्चालन अन्तिम चरणमा पुर्याएको, स्वबासी जग्गा दर्ताको लागि आवश्यक पहल गरिएको जस्ता जनमुखी कार्य अघि बढाएको जानकारी दिनुभयो ।
उपप्रमुख विजयकृष्ण श्रेष्ठले चालु आर्थिक वर्ष नगरपालिकाले शिक्षा, स्वास्थ्य, रोजगारीको सिर्जना र सरसफाईलाई विशेष प्राथमिकतामा राखी नीति तथा कार्यक्रम निर्माण गरेको सोही अनुसार बजेटमा प्राथमिकताका साथ कार्यक्रम र योजना समावेश गरिएको बताउनुभयो ।
कार्यक्रममा सहभागि अतिथिहरुले सधै जनताको सुख दु:खको सहयात्री भएर जनप्रतिनिधिले कार्य गर्नु पर्नेमा सुझाएका थिए ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -