मानव अंग प्रत्यारोपण केन्द्र मध्यपुर–थिमिमा बनाउन जग्गा माग

मध्यपुर थिमि (भक्तपुर)– मानव अंग प्रत्यारोपण केन्द्र मध्यपुर–थिमिमा बनाउनेबारे मंगलबार मध्यपुर नगरपालिकाको सभाहलमा छलफल भएको छ ।

कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठ, ८ नं वडा अध्यक्ष रमेश थापा श्रेष्ठ, नसस मनीषा परियार, नसस सुरेन्द्र था श्रेष्ठ, पूर्ववडा अध्यक्ष देवकृष्ण म्वयें श्रेष्ठ, पूर्वमहिला सदस्य मन्दिरा नेपाली, पूर्वनसस बिक्रम धेके, सहीद धर्मभक्त राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठलगायत डाक्टरहरुको टिमको उपस्थिति रहेको थियो ।

यस्तै नेमकिपाको तर्फबाट पार्टी प्रतिनिधि रामसुन्दर था श्रेष्ठ, नेकपा एमालेको तर्फबाट पार्टी प्रतिनिधि रामचन्द्र जयना श्रेष्ठ, नेकपा एसबाट प्रतिनिधि कृष्णभक्त पां श्रेष्ठ, पत्रकारहरु तथा नगरपालिकाका सदस्यहरुको उपस्थिति रहेको थियो ।

सहीद धर्मभक्त राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले मध्यपर थिमि नगरपालिकाले खाली ठाउँको मात्र व्यवस्था गर्न सिफारिस दिनुस्, अरु बाँकी काम आपसमा छलफल गरेर समाधान गर्ने बचन व्यक्त गर्नुभयो । डा. श्रेष्ठले खाली ठाउँको सिफारिस दिएको भोलिबाट नै सबै काम थालनी गर्ने र यो अस्पताल कसैको निजी नभई संघीय सरकारबाट सञ्चालित सरकारी अस्पताल हुने भएकोले यसमा नगरपालिकाले केही द्विविधा नगर्दा हुने बताउनु भयो । डा. श्रेष्ठले राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रमा नेपालमा मात्र नभई विदेशी अस्पतालहरुमा पनि उच्च रहेको र त्यहाँ दिनको १ सय जनाभन्दा बढी बिरामीहरुले दैनिक डाइलायसिस गर्दै आइरहेको बताउनु भयो । डा. श्रेष्ठले अस्पतालले नेपालका मात्र नभई छिमेकी मुलुकबाट आएका बिरामीहरुको समेत उपचार गर्दै आइरहेको र ठाउँ अभावले गर्दा बिरामीहरुको उपचार गर्न नसकेर अर्कै अस्पतालमा पठाउन बाध्य भएको पनि बताउनु भयो ।

छलफल कार्यक्रममा डा. श्रेष्ठले यो अस्पताल भक्तपुर जिल्लाबाट अन्त जान नचाहेको र जान पनि परोस भन्दै मध्यपुर थिमि नगरपालिका वडा नं. ८ स्थित महालक्ष्मी मन्दिरको उत्तरपट्टिको पर्ती जग्गा माग गदैै नगरप्रमुखसमक्ष ठाउँको सिफारिस गरेको बताउनु भयो । यो अस्पताल बोडेमा बनेको खण्डमा बोडेको मात्र होइन मध्यपुर नगरपालिकाको गरिमा पनि उच्च रहने डा. श्रेष्ठले बताउनु भयो । अस्पताल बनिसकेपछि डाइलायसिस गरेका बिरामीहरु ३ महिनादेखि ६ महिनासम्म अस्पताल बस्नुपर्ने भएकाले बसुन्जेल खानपिन गर्दा मध्यपुरका जनताको रोजगार बढ्ने डा. श्रेष्ठले बताउनु भयो । अस्पताल बनिसकेपछि मध्यपुरकै बासिन्दाले पहिलो सेवा र सुविधा पाउने भन्दै अस्पतालमा आउन जानलाई नयाँ बाटो बनाउँदा थप सुविधा हुने कुरा पनि डाक्टर श्रेष्ठले राख्दै जतिसक्यो त्यति छिटो निर्णय गरी सरकारी अस्पतालको लागि स्थान उपलब्ध गराइदिनु हुनका लागि मध्यपुर नगरपालिकासँग माग गरेका छन् ।

त्यस्तै छलफलमा मध्यपुर थिमि वडा नं. ८ का वडा अध्यक्ष रमेश थापा श्रेष्ठले बोडेमा सरकारी अस्पताल बनेको खण्डमा बोडेकाले मात्र होइन मध्यपुरवासीले पहिलो प्राथमिकता पाउने, सेवा पाउने, सुबिधा पाउने र बोडेको पहिचान नै फेर्ने बताउनु भयो । वडा अध्यक्ष श्रेष्ठले मध्यपुर थिमिका बिरामी टाढा–टाढाको अस्पताल गई रहनु नपर्ने, अस्पताल लग्दालग्दै बाटैमा मृत्यु हुनबाट बच्ने, छिमेकी जिल्लाका बिरामीको पनि बोडेको सरकारी अस्पतालमा उपचार हुने बताउनु भयो ।
त्यस्तै कार्यक्रममा मध्यपुर थिमि नगरपालिका वडा नं. ८ का पूर्ववडा अध्यक्ष देवकृष्ण म्वयें श्रेष्ठले २०५४ सालमा काठमाडौं मेडिकल कलेज बनाउन प्रस्ताव आएको तर नगरवासीहरुको कुरा नमिलेर अन्तै बनाउन गएको स्मरण गराउँदै अब यो अस्पताल बनाउने कुरामा कुनै विलम्ब नगरी तुरुन्त सिफारिस दिनुपर्ने धारणा राख्नुभएको थियो । साथै सर्बदलीय कार्यदल बनाएर अगाडि बढौं, शुभकार्यमा ढिलो नगरौ भन्दै प्रमुख र उपप्रमुखसमक्ष सिफारिस गर्नुभएको छ ।

नगरप्रमुख सुरेन्द्र श्रेष्ठले अस्पताल बनाइसकेपछि नगरपालिकाले पाउने सुविधाबारे बोल्नुभएको थियो । प्रमुख श्रेष्ठले अहिले नगरपालिकाको आफ्नै अस्पताल नेपाल कोरिया मैत्री अस्पताल रहेको र नगरपालिकाभित्र पर्ती जग्गा कति रहेको, सार्वजनिक ठाउँ कति छ हेर्न र बुझ्न बाँकी रहेको बताउनु भयो ।

छलफलकै क्रममा उपप्रमुख विजयकृष्ण श्रेष्ठले अस्पताल बनाइसकेपछि मध्यपुरका डाक्टर, नर्सलगायत अरु पेसाकर्मीहरुले कर्मचारीको स्थानमा काम गर्न पाउनुपर्ने बताउनु भयो । उपप्रमुख श्रेष्ठले २०७२ सालमा महाभूकम्प आउँदा मध्यपुरवासीहरु बस्ने ठाउँ नपाएर क्षयरोग अस्पतालको खाली ठाउँमा बस्न जाँदा भित्र छिर्न नदिएको र पछि ताला फोडेर जानुपरेको स्मरण गर्दै अब बन्ने अस्पतालमा त्यस्तो नहोस् भनी सचेत गराउनु भयो ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -