मध्यपुर–थिमिको वडा–वडामा सहरी स्वास्थ्य सेवा केन्द्र

मध्यपुर–थिमि (भक्तपुर) । मध्यपुर थिमि नगरपालिकाले सोमबार एकैदिन वडा नं. २, वडा नं. ३ र वडा नं. ५ मा गरी तीन वटा सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएको छ । मध्यपुर–थिमिका बासिन्दालाई स्वास्थ्य सुविधामा सजिलै पहुँच पुर्याउन अहिले हेल्थपोष्ट नभएका ती ३ वटा बडामा केन्द्र सञ्चालनमा ल्याएको हो ।

नवनिर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल सय दिन पुगेको अवसरमा वडा नं. २ को सानोथिमिस्थित नाटेश्वरी सामुदायिक भवन, वडा नं. ३ को वडा कार्यालय भवन, कौशलटार र वडा नं. ५ को भुलाँखेल साकोस भवन, हात्तीमहाँकालमा ती केन्द्रहरु सञ्चालन हुनेछ ।

जनताको आधारभूत अधिकार र मौलिक अधिकारभित्र रहेको स्वास्थ्य अधिकारलाई प्रत्याभूति दिने उद्देश्यले नगरपालिकाले हेल्थपोष्ट नभएका वडाहरुमा सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएको उपप्रमुख विजयकृष्ण श्रेष्ठले बताए । ‘जनताको स्वास्थ्यप्रति नगरपालिका सदैव सचेत छ । जनतालाई घरदैलोमा नै निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने चुनावी वाचा पूरा गर्ने उद्देश्यले पनि केन्द्र सञ्चालनमा ल्याएका हौं,’ उपप्रमुख श्रेष्ठले भन्नुभयो ।

केन्द्रबाट सामान्य जाँच, घाटखटिराको चिरफार, ड्रेसिङ, गर्भवती जाँच र परिवार नियोजनका अस्थायी साधनहरुको वितरणलगायतको सेवा उपलब्ध हुनेछ । साथै नेपाल सरकारले तोकिएका औषधीहरुको निःशुल्क वितरणलगायतका सेवा प्रवाह पनि हुनेछ । स्वास्थ्य केन्द्रमा जनस्वास्थ्य निरीक्षकको नेतृत्वमा सी. अहेब र सी. अनमी गरी तीन जना स्वास्थ्यकर्मीबाट सेवा लिन सकिनेछ ।

मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालका दक्ष चिकित्सक, एमबीबीएस डाक्टर र नर्सहरुको व्यवस्थापन गरी केन्द्रको सेवा विस्तार गरिने उपप्रमुख विजयकृष्ण श्रेष्ठले जानकारी दिए ।

नगरप्रमुख सुरेन्द्र श्रेष्ठले स्वास्थ्य केन्द्रहरुको सोमबार उद्घाटन गर्दै जनता समक्ष गरेको वाचा र प्रतिवद्धता पूरा गर्ने एक खुडकिलोको रुपमा सहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याएको बताउनुभयो । उहाँले चार वटा ऐन निर्माण गरी कार्यान्वयनमा ल्याएको र त्यसमा आवश्यक नीति र कार्यविधि निर्माण भइरहेको, आगामी पुसमा नगरसभा बैठक आयोजना गरी थप नीति, नियम र ऐनहरु निर्माण गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो । साथै उहाँले कार्यकालको सय दिन नपुग्दै हालै नगरका ५ र ७ वडाका ५१९ परिवारलाई स्वबासी जग्गाको धनीपुर्जा वितरण गरेको पनि बताउनुभयो ।

तस्बिर: फेसबुकबाट

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -